Skip to content
LAXMI SUNRISE BANK

ज्योति बिकास बैंकका कर्मचारी कुट्नेहरुमाथि कारवाही अहिले नगरे कहिले ? राज्यले नगरे कसले ? (सम्पादकीय)

अर्थ सरोकार

काठमाडौँ । ऋण असुल्ने प्रक्रियाबारे छलफल गर्न गएका ज्योति बिकास बैंकका कर्मचारीहरुलाई ऋणी र केहि स्थानीयहरु मिलेर कालोमोसो दले, जुत्ताको माला लगाए, गाली गरे, र दुर्व्यवहार गरे । उनीहरुले ‘हामी छलफल गर्न मात्र आएका हौँ’ भनिरहँदा पनि उनीहरुमाथि दुर्व्यवहार रोकिएन । दुर्व्यवहारमा काँग्रेसकी नेता एवं स्थानीय पालिकामा उपमेयर रहेकी व्यक्ति पनि संलग्न भएको देखियो ।

बैंकले जारी गरेको विज्ञप्तिमा आफ्ना कर्मचारीहरुलाई ज्यान मार्ने धम्की आएपछि लिलामी प्रक्रियाको स्थगन गर्ने पत्र लेख्न लगाइएको बताइएको छ । अर्थात, बैंकको भनाई अनुसार बैंकले लेखेको लिलामी स्थगनको पत्र दबाबमा लेखिएको थियो । सोहि पत्रकाबारेमा छलफल गर्न जाँदा बैंक कर्मचारीमाथि दुर्व्यवहार भएको थियो ।

घटनापछि सबैजसो बैंकका कर्मचारीको मनोबल गिरेको छ । यहि अवस्था रहे बैंकिङ क्षेत्र नै ध्वस्त हुने उनीहरुको चिन्ताको आगोमा राज्यको मौनताले घ्यु थपेको छ ।

कारवाही कसलाई गर्ने ?
प्रष्ट छ, जो दुर्व्यवहारमा संलग्न छन् ।

अनि कारवाही कसले गर्ने ?
निसन्देह, राज्यले ।

कारवाही पनि भोलि होइन, आजै गर्नुपर्छ । आज होइन, अहिल्यै गर्नुपर्छ । नत्र त जनताको विश्वासका भरमा टिकेको बैंकलाई टिकाएका बैंकरहरुको राज्यबाटै मानमर्दन भएको मानिनेछ । यसले समग्र बैंक र बैंकिङको इज्जतलाई धुमिल पार्नेछ ।

ऋण खाएपछि तिर्नुपर्छ । नतिरे त्यसका कानुनी पाटा छन् । कसैलाई पनि दुर्व्यवहार गर्न पाइन्न । अनि त प्रश्न उठेको छ, ज्योति बिकास बैंकका कर्मचारी कुट्नेहरुमाथि कारवाही अहिले नगरे कहिले ? राज्यले नगरे कसले ?

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK