काठमाडौँ । केही समय अघि मात्रको कुरा हो, ज्योति विकास बैंकका कर्मचारीलाई ऋणीले फकाई फकाई ऋण बारे कुरा गर्न बोलाए । कुरा गर्न भनेर बोलाउन त बोलाए, तर बोलाएका कर्मचारीलाई ऋणीहरुले कुरा गरेनन्, बरु जुत्ताको माला लगाईदिए, कुटपिट गरे, गाली गलौज गरे, कालो मोसो दले र त्यसको भिडियो बनाएर सामाजिक संजालमा हालिदिए । आँखै अगाडि खुलेआम मनपरी ढंगले ऋणीले बैंकरमाथि दुर्व्यवहार भयो । बैंकरहरुले विरोध गरे, बैंकर्स संघले विज्ञप्ति जारी गरेर औपचारिकता निभायो, तर देशको गृह प्रशासनले यो विषय सिरियसली लिएन । काँग्रेस नेता भएकै कारण सो केसमा मुछिएकी रिता कुमारी चौधरी देख्दा फरार तर नेताको संरक्षणमा छिन् । गृह मन्त्रालयले बैङ्किङ क्षेत्रजस्तो संवेदनशील क्षेत्रमा भएको यस्तो हर्कतबारे खास चासो दिएन । परिणाम, बैंकका कर्मचारीहरु कुटिने क्रम रोकिएन । ज्योतिको जस्तै केस, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा समेत भयो । सो बैंकका कर्मचारी नवीन थापालाई झन्डै आँखा फुट्नेगरी ऋणीले पिटे ।
कुरा पुस २० गते आइतबारको हो । बक्यौता ब्याज तिर्न ताकेता गर्न बैंकको घोराही शाखाका कर्मचारी नवीन थापा ऋणी भण्डारी सप्लायर्सका संचालक भेट्न पुगेका थिए । सो फर्मले लिएको करिव ५० लाख रुपैयाँको किस्ता आउन छोडिसकेको थियो । किस्ता आउन छोडेपछि बैंकका कर्मचारी आइतबार सो फर्मका संचालकलाई भेट्न घरमै पुगेका थिए । तर ऋणीले बैंकका कर्मचारीलाई घरमा किन आएको भनेर धकेलेछन्, कुटपिट गरेछन् ।
आफ्ना कर्मचारीमाथि कुटपिट भएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कर्मचारी युनियनले विज्ञप्ति जारी गरेर सो घटनाको भर्त्सना गरेको छ । युनियनले गभर्नर डा. विश्वनाथ पौडेलालाई ध्यानकर्षण पत्र बुझाउँदै कर्मचारीमाथिको आक्रमण र दुर्व्यवहार बन्द नभए तालाचाबी बन्द गर्ने चेतावनी दिएको छ । कुटपिटमा उत्रनेलाई कानुनी प्रक्रिया त अघि बढेको छ, तर नेपालको प्रचलित कानुनले यस्तो गलत काम गर्नेलाई दिने सजाय निकै कम भएकाले ऋणीहरु अटेरी बनिरहेका छन् ।
कर्मचरीमाथि निरन्तर आक्रमण बढेपछि बैंक तथा वित्तीय संस्थाका कर्मचारी युनियन र नेपाल बैंकर्स संघबीच बुधबार छलफल हुँदैछ । तर बैंकरहरु जति सिरियस भए पनि गृह प्रशासन सिरियस नहुँदासम्म यो समस्याले समाधानको बाटो खोज्न देखिँदैन ।
बैंकका कर्मचारी कुटिएका छन् । तर बैंकरहरुसँग निरीह बन्नुको विकल्प छैन । ऋणीको घरमा नजाउँ, भएको जागिर जाला भन्ने पीर, ऋणीको घर गएर ब्याज मागौं, ऋणीले ज्यानै लेलान् भन्ने पीर । फिल्डमा खटिने बैंकका कर्मचारीहरु आजकल युद्धमा हिँडेका सिपाहीजस्तै बनेका छन्, जोसँग काँधमा जागिरको जिम्मेवारीसहित, मनमा ज्यानको पीरबाहेक केहि छैन । र पनि काम गर्नुको विकल्प छैन । यहि बेला बैंकका कर्मचारी कुट्ने कामलाई ठिक हो भनेर गफ चुट्नेहरु सरकारसँग ऋण मिनाहाको सर्त राखेर वार्ता गरिरहेका छन् । अनि, कुन मनोबलले काम गरुन् बैंकका कर्मचारीहरु ? हिजो ज्योति, आज नेपाल इन्भेष्टमेन्ट मेगा, भोलि को भन्ने प्रश्नका बीच बैंकरहरुसँग भोलिको पात्र सायद म हो भनेर सोच्नुको विकल्प छैन । अनि यसरी कसरी उठाउनु ऋण ? अनि मान्छे किन बस्छ देशमा ? सरकार यो विषयमा गम्भीर हुनुपर्दैन र ?
फेरी यस्तो भन्दै गर्दा बैंकरले गरेको सबै ठिक भन्नेचाहिं पक्कै होइन । हो, कसैलाई कुट्नु पिट्नु पूरापूर गलत हो, यस्तो गलत काम गर्नेहरु कानुनी कठघरामा उभिनुपर्छ, सजायको भागिदार हुनुपर्छ । तर सहज हुँदा सहयोग गर्ने अनि समय बिग्रिएपछि झन् पेल्ने बैंकको नियत हो भने, त्यसलाई पनि सहि मान्न सकिंदैन । ऋण दिंदा टार्गेटका नाममा हात पसारेर बिजनेश माग्ने, अनि केही किस्ता तिर्न ढिलो भयो भन्दैमा घरमै पुगेर, कसैको आन्तरिक पारिवारिक जीवनमा पेश गरिएको हो भने, त्यसलाई पनि ठिक मान्न सकिन्न ।
नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारी कुटिए, त्यो गलत भयो, अक्षम्य अपराध भयो, अपराधीलाई सजाय हुनुपर्छ । तर, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक पनि गतिलो थिति बसेको बैंकचाहिं पक्कै होइन । केही समय अघि मात्र बैंकको टर्चर साहना नसकेर ऋणीलाई हर्ट अट्याक भयो । त्यसको केही समय पछि नै बैंकले दिएको टर्चर सहन नसकेर बैंकका अर्का एक कर्मचारीले नदीमा हाम फाले । बैंकका डेपुटी सीइओ महेश ढकालले ऋणी महिला माथि दुर्व्यवहार गरेको प्रकरण अझै सेलाएको छैन । ऋणका नाममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा देखिएको बग्रेल्ती बेथिति बेहिसाब छन् । एभरग्रिनिङ्ग र ओभरसप्लाईले डाँडा काट्ने बेला भईसक्यो । राष्ट्र बैंक प्रोभिजन थपेको थप्यै छ । अनि यस्तो अवस्थामा ऋणीको घरमै पुगेर मानसिक टर्चर दिन खोजिएको हो भने बैङ्कका कर्मचारीहरु पनि सुध्रनुको विकल्प छैन ।
बैंकका कर्मचारीले ऋणीलाई सम्मान गर्नुपर्छ, किनकि उनीहरु बिजनेशदाता हुन् । ऋणीले पनि बैंकका कर्मचारीहरुलाई सम्मान गर्नुपर्छ । कारण उनीहरु तपाईंको बिजनेशका फरक भूमिकाका साझेदार हुन् । जसले पायो, उसले कुटीहाल्ने, जो माथि पर्यो, उसले चुटिहाल्ने, आज कुटीहाल्ने, भोलि छुटीहाल्ने भएपछि त्यसले कसैलाई पनि भलो गर्दैन । ऋणी र बैंकका कर्मचारी दुवै पक्षलाई चेतना भया । (भिडियो)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्