Skip to content
LAXMI SUNRISE BANK

संसदमा १४ इन्जिनियर, छैनन् सिए, दुवै पूर्व बैंकरको शर्मनाक हार !

अर्थ सरोकार

काठमाडौँ । यसपाली प्रतिनिधि सभा सदस्यमा १४ जना इन्जिनियर छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका अधिकांश इन्जिनियरले सानदार जित निकालेपछि संसदमा इन्जिनियरहरुको उपस्थिति पनि बलियो बनेको हो । 

फागुन २१ गतेको निर्वाचनबाट बाट निर्वाचित रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) इन्जिनियर हुन् । उनले झापा-५ मा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झण्डै ५० हजार मतले हराएका हुन् ।

त्यस्तै, सुनसरी-४ बाट निर्वाचित दिपक कुमार शाह पनि इन्जिनियर हुन् । तनहुँ-२ बाट निर्वाचित श्रीराम न्यौपाने, रसुवा-१ बाट निर्वाचित मोहन आचार्य, रुपन्देही-१ बाट निर्वाचित सुनिल लम्साल, गुल्मी-१ बाट निर्वाचित सागर ढकाल, बारा-३ बाट निर्वाचित अरबिन्द साह र सिन्धुली-२ बाट निर्वाचित आशिष गजुरेल पनि इन्जिनियर हुन् ।

त्यस्तै, सिराहा-४ बाट निर्वाचित भएका तपेश्वर यादव, दोलखा- बाट जगदीश खरेल, महोत्तरी-३ बाट उज्जवल कुमार झा, सप्तरी-२ बाट रामजी यादव, मोरङ-२ बाट कृष्णकुमार कार्की र बाग्लुङ-१ बाट निर्वाचित भएका सुशील खड्का पनि इन्जिनियर नै हुन् ।

संसदमा इन्जिनियरको उपस्थिति बलियो हुँदा राज्यसँगै प्रत्यक्ष रुपमा जोडिएको सिए क्षेत्रको उपस्थिति भने शून्य छ । त्यसैमाथि निर्वाचनमा होमिएका दुई पूर्व बैंकरको शर्मनाक हार भएपछि संसद्मा बैंकिङ क्षेत्रको प्रतिनिधित्व पनि शून्य बनेको छ । यसो त यसपालीको निर्वाचनमा पूर्व बैंकर भरतराज ढकाल र मिनप्रसाद गुरुङले स्याङ्जा-१ बाट उम्मेदवारी दिएका थिए । मुक्तिनाथ विकास बैंकको पूर्व प्रमुख कार्यकारी अधिकृत तथा मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ कृषि कम्पनीका पूर्व अध्यक्षसमेत रहेका ढकालले नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका थिए ।

ढकाल २०६३ सालदेखि करिब १२ वर्षसम्म बैंकको सिइओ थिए । त्यसपछि उनले २०७६ सालदेखि २०८० सम्म बैंकको अध्यक्षको जिम्मेवारी निभाएका थिए ।

यता स्याङ्जा-१ मा नेकपा एमालेबाटै उम्मेदवारी दिएका गुरुङ पनि मुक्तिनाथ विकास बैंककै संस्थापक सदस्यमध्ये एक हुन् । २०७२ सालदेखि २०७४ सालसम्म अध्यक्षको जिम्मेवारी सम्हालेका गुरुङले २०७४ को प्रदेश सभा सदस्यको उम्मेदवार बनेपछि बैंक छोडेका थिए ।

एउटै निर्वाचन क्षेत्रमा फरक-फरक राजनीतिक दलबाट उम्मेदवारी दिएका दुवैले शर्मनाक हार व्यहोरेका छन् । स्याङ्जा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का धनन्जय रेग्मी २९ हजार ७१ मतसहित विजयी हुँदा ढकालले १८ हजार ८ सय ५७ र गुरुङले १६ हजार ८ सय ४ मत ल्याएका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK