Skip to content
LAXMI SUNRISE BANK

सम्पत्ति छानबिन समितिमा सदस्य नै ‘भ्रष्टाचार आरोपित’, ‘ओलीका मान्छे’ कसरी घुसे ? (भिडियो ब्रिफिङ)

अर्थ सरोकार

काठमाडौँ । अहिले सरकार रास्वपाको छ । प्रधानमन्त्री भ्रष्टाचार, लुट, चाकरीबवाद, नातावाद, कृपावाद फिटिक्कै मन नपराउने बालेन्द्र शाह छन् । अर्थमन्त्री धेरैले आश गरेका विज्ञ डा. स्वर्णिम वाग्ले छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा गज्जबको अनुभव बटुलेका अर्थमन्त्री वाग्लेसँग व्यवसायी, निजी क्षेत्र र जनताको आशा ठूलो छ । अर्थमन्त्री नियुक्त हुनेबित्तिकै अर्थमन्त्रीले लिएका एक्सनलाई जनताले खुलेर स्वागत गरेका छन् । आफ्नो विज्ञता अनुसार नै अर्थमन्त्री बनेका वाग्लेले आर्थिक सुशासनमा उल्लेखनीय भूमिका खेल्नेछन् भने अपेक्षा धेरैको छ । तर, संस्कृतमा एउटा श्लोक छ, चोरेण रक्ष्यते कोशः हसितं खलु तादृशम् ।। अर्थात, चोरले नै खजाना जोगाउने भनेको हाँसोको कुरा हो । यसपाली यस्तै केही भएको छ ।

सरकारले २०६२/६३ सालदेखि हालसम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठन गरिएको ५ सदस्यीय आयोगमा पूर्वन्यायाधीशहरू चण्डीराज ढकाल, पुरुषोत्तम पराजुली, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य छन् । तर, हाँस्यास्पद कुरा, यो आयोगमा सदस्य रहेका प्रकाश लम्साल आफैँ भ्रष्टाचार आरोपमा मुछिएका व्यक्ति हुन् ।

उनीमाथि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) को अध्यक्ष हुँदा भ्रष्टाचार गरेको आरोप लागेको थियो । आईक्यानको अध्यक्ष हुँदा आईक्यानको पैसामा श्रीमतीसँग विदेश गएर रकम हिनामिना गरेको आरोपसमेत खेपेका लम्सालमाथि अन्य भ्रष्टाचारका आरोप पनि त्यही बेला लागेको थियो । उक्त केसको स्थिति अहिले के छ ? कतै पनि सार्वजनिक गरिएको छैन ।

यतिसम्म कि, लम्सालले नियम विपरीत लेखापरीक्षण गरेको समेत खुलासा भएको थियो । आइक्यानका पूर्व अध्यक्ष लम्सालले लेखा परिक्षण ऐन २०४८ को दफा ७ (२) को व्यवस्था अनुसार नेपाल सरकारको अधिकांश स्वामित्व भएको सङ्गठित संस्थाहरुको लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्दा महालेखा परीक्षकको परामर्श लिनुपर्ने व्यवस्था भएपनि उक्त प्रक्रिया पूरा नगरी लेखापरीक्षण गरेको खुलासा भएको थियो । सरकारको अधिकांश सेयर स्वामित्वको नेपाल स्टक एक्सचेन्जको पूर्ण स्वामित्व भएको सीडीएस एण्ड क्लियरिङ लिमिटेड र नेपाल सरकारको अधिकांश स्वामित्व रहेको बुटवल धागो कारखाना लिमिटेडको आर्थिक बर्ष २०६७/६८ देखि ७२/७३ सम्मको लेखा परिक्षण गर्दा कानुनी व्यवस्था विपरित हुने गरी लेखा परिक्षण हुने भन्दै आइक्यानलाई कारवाहीको सिफारिस गरिएको थियो ।

अर्कोतर्फ सरकारी स्वामित्वको बैंक, राष्ट्रिय वाणिज्य बैंकमा नियामकीय ‘कोड अफ इथिक्स’ विपरित लम्सालले लेखापरीक्षण गरेको भेटिएको थियो । बैंकका सिइओ देवेन्द्र रमण खनाल र बैंकका लेखापरीक्षक प्रकाश लम्साल साढुदाइ, साढुभाइ भएकाले प्रष्ट स्वार्थको द्वन्द देखिँदा पनि बैंकको आर्थिक बर्ष २०७९-८०, २०८०-८१, र २०८१-८२ को लेखापरीक्षणमा प्रकाश लम्साल संलग्न छन् । उनीसँगै पहिलो दुई वर्षमा अनुप कुमार श्रेष्ठ र प्रकाश जंग थापाले संयुक्त रुपमा काम गरेका छन् भने तेश्रो वर्षमा लम्साल र श्रेष्ठसँगै रमेश धिताल अडिटर छन् । यी मध्ये प्रकाश लम्साल सिइओ देवेन्द्र रमण खनालकी श्रीमती र लेखापरिक्षक प्रकाश लम्सालकी श्रीमती आफ्नै दिदीबहिनी हुन् । उच्च तहका कार्यकारी भूमिकामा रहेका कर्मचारीहरुका आफन्तलाई लेखापरीक्षक नियुक्त गर्न नपाइने, कम्पनीको सञ्चालक, नियमित पारिश्रमिक वा नगद सुविधा पाउने गरी नियुक्त सल्लाहकार, कम्पनीमा व्यवस्थापन समूहमा रहेका व्यक्ति वा कर्मचारी वा कामदार वा निजहरु कसैको साझेदार वा त्यस्तो साझेदार मध्ये कुनैको कर्मचारी वा निजहरुमध्ये सञ्चालक वा साझेदारको नजिकको नातेदार वा नीजको कर्मचारी लेखापरीक्षक नियुक्त हुन नसक्ने स्पष्ट प्रावधान छ ।

तर, आफ्नै साढुभाइ सिइओ भएको बैंकको अडिट गरेपछि महालेखा परीक्षकको कार्यालयले उनीमाथि कारवाहीको सिफारिस गर्ने तयारी गरेको थियो । तर अब उनैलाई नै महालेखाका पूर्व हाकिमहरुको सम्पत्ति छानबिन गर्ने जिम्मा दिइएको छ । यो त दुधको साक्षी बिरालो भएन र ? उनले ‘कोड अफ इथिक्स’ विपरीत काम गरेको पुष्टि भएपछि महालेखाले उनलाई अघोषित कालोसूचीमा राखेर थप अडिटका फाइल नदिने आन्तरिक रुपमा अघोषित निर्णय समेत गरेको थियो । तर, यतिसम्म हुँदा पनि शक्तिको सिंघौरी खेल्न जानेका लम्साल शक्तिशाली सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगमा सदस्य भएर घुसेका छन् ।

यसो त सरकारले अहिले उच्च पदस्थ कर्मचारीहरुको सम्पत्ति छानबिन गर्ने भनेको छ । लम्साल आईक्यानका भ्रष्टाचार आरोपी पूर्व अध्यक्ष हुन् । अब भन्नुस्, उनी आफैँले आफ्नो सम्पत्ति छानबिन गर्न मिल्छ ? अर्कोतर्फ राष्ट्रिय वाणिज्य बैंकका सिइओ पनि उच्च पदस्थ सरकारी मान्छे हुन् । अनि साढुदाईले आफ्नै साढुभाइको सही तरिकाले सम्पत्ति छानबिन गर्न सक्छ ? यहाँ ‘कन्फ्लिक्ट अफ इन्ट्रेष्ट’ हुँदैन ? हिजो आफ्नो साढुभाई जेल जाने डरले अडिटर भएर पनि उनी राष्ट्रिय वाणिज्य बैंकका अनेकौँ घोटाला काण्डबारेमा मौन बसे । सेयरधनीहरुलाई धोका दिए । अनि यस्ता व्यक्तिबाट सम्पत्ति छानबिन हुन सक्छ ? उनले पहिले नै काँग्रेस-एमालेको नुन खाएका छन् । काँग्रेस-एमालेकै पहलमा विभिन्न नियुक्ति खाएका छन् । अनि आफूलाई नुन खुवाउनेमाथि कारवाहीको डण्डा चलाउन सक्छन् ? अहँ, सक्दैनन् ।

लम्साल अघिल्लो सरकारबाट पटक-पटक विभिन्न लाभ लिएका व्यक्ति हुन् । आफूलाई केपी आलीको नजिकको मान्छे बताउने उनले यही पावर देखाएर रासस लगायतमा नियुक्ति पनि पाएका थिए । अर्कोतर्फ एमाले निकट अडिटर्स एशोसिएसन अफ नेपाल (अडान) ले भने बमोजिम गर्ने सर्तमा आईक्यानको अध्यक्ष बनेको र सोही अनुसार काम गरेका व्यक्ति हुन् । अब यिनै विवादित छविका लम्सालले सुशासन कायम गर्न आफ्ना ‘हेड मास्टर’हरुको सम्पत्ति निष्पक्ष छानबिन गर्लान् भनेर हामीले पत्याइदिनुपर्ने ? केही हजारको लोभमा नैतिक रुपमा गर्नै नमिल्ने अडिट गर्न चाकडी गर्नेबाट हामीले भ्रष्टाचार उन्मुलनको संकेतको कल्पना गर्न सक्दैनौँ ।

उनका हर्कतहरु खोतल्दै जाने हो भने नेताका नाममा दलालसँग रहेको सम्पत्ति विवरण भन्दा लामो लिष्ट निस्किन्छ । अहिलेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विज्ञ अर्थमन्त्री हुन् । सम्भवतः अहिलेसम्म बनेका अर्थमन्त्रीमध्ये तुलनात्मक रुपमा वाग्लेसँग ज्ञान र अनुभव दुवै बढी छ । अन्तराष्ट्रिय स्तरमा समेत नीति निर्माणमा भूमिका खेलेका वाग्लेले अर्थतन्त्र र अर्थ सुशासनलाई ट्रयाकमा ल्याउँछन् भन्ने धेरैको अपेक्षा छ । तर, यस्ता विवादित छविका व्यक्तिलाई साथमा लिएर हिँडियो भने लडिन्छ भन्ने अर्थमन्त्रीले बुझ्नुपर्छ ।

अनि साच्चै, लम्सालले चाहीँ लाजै पचाएर यो जिम्मेवारी लिन कसरी सकेका होलान् ? यो जिज्ञासा राख्न हामीले उनलाई फोन गर्यौं, तर उनले हाम्रो फोन नै उठाएनन् ।

चर्चा यस्तोसम्म सुनिएको छ कि आफन्त भएकै नाताले लम्साललाई जिम्मेवारीका नाममा सो अवसर दिइएको हो । तर, आफ्नै मामा, भान्जा, काका, काकी, अंकल, आन्टीहरुलाई पोसेर राज्यको शक्तिशाली आयोगलाई निष्क्रिय बनाउने हो भने के फरक भयो र ? पुरानो राज्य र अहिले जनताले खोजेको रास्वपाको राम राज्यमा ? अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ज्यु, तपाईंले प्रकाश लम्सालको हर्कत थाहा पाएर जानीजानी यस्तो सिफारिस गर्नुभएको होइन भन्ने हामीलाई विश्वास छ । तर, हामीलाई शंका छ, लम्सालबाट सम्पत्ति छानबिन हुँदैन । किनकी तथ्यहरुले यही भन्छन् की केही हजार अडिट फिका लागि ‘कोड अफ इथिक्स’ लाई कुल्चिएर नाङ्गो नाच देखाएर सिए क्षेत्रकै इज्जत धुमिल पार्ने मान्छे हुन् लम्साल । अनुसन्धानमा सिएकै उपस्थिति हुनु राम्रो हो । तर, हाकाहाकी यस्तो विवादित पात्रलाई छानबिन समितिको जिम्मेवारी दिनु सहीदकी आमाप्रतिको धोका हो ।

रवि लामिछानेले समेत भनेका छन्, ‘न्याय पाउने पहिलो हक सहीदकी आमाको हो’ । तर, आफ्ना साढुभाई सिइओ भएकै कारण राष्ट्रिय वाणिज्य बैंकमा थुप्रै घोटालाका फाइलहरुमा मौन बसेका प्रकाश लम्सालबाट यो राज्य वर्षौंसम्म लुट्नेहरुको सम्पत्ति निस्फिक्री छानबिन हुन्छ भन्ने कुरा कल्पना समेत गर्न सकिँदैन । अर्थमन्त्री स्वर्णिम वाग्लेले यसतर्फ ध्यान नदिए ती सहीदकी आमाको आँशुप्रति पनि अन्याय हुनेछ । भ्रष्टाचारविरुद्ध लडेका ती जेन-जी युवाहरु रगतले पनि सराप्नेछ । त्यसैले अर्थमन्त्री ज्यु, सचेत हुनुस्, सजग हुनुस्, आसेपासेबाट जोगिनुस् । खोज्नुस् प्रकाश लम्सालका हर्कतहरु, सोध्नुस् अरु केही सिएहरुलाई, खोज्नुस् तथ्य र मात्र जिम्मेवारी दिनुुस् । हामीलाई प्रकाश लम्सालसँग समस्या होइन, हुनुपर्ने कारण पनि छैन । तर, प्रकाश लम्साल प्रवृत्तिलाई यसैगरी शक्तिशाली सरकारले हौसला दिने हो भने हार्नेछ हाम्रो पुस्ताले, सक्किनेछ रास्वपाप्रतिको विश्वास । किनकी वर्षौंवर्षपछि पनि पाप धुरीबाट कराउँछ भन्ने तथ्य हामीले जेन-जी विद्रोहबाट देखेका छौँ ।

हामीलाई त शंका छ, केही थान अडिट आफ्नो मान्छेलाई मिलाइदिने र गैरकानूनी रुपमा सरकारी नियुक्ति खाएकाहरुलाई जोगाएर उनले फेरि अर्को भ्रष्टाचार गर्ने स्थिति हुनसक्छ । हामीलाई शंका छ, हिजो एमाले-काँग्रेसको नियुुक्ति खाएर एमाले-काँग्रेसलाई नै जोगाउँदै हिँडेका लम्साल शक्तिशाली सरकारले गठन गरेको सम्पत्ति छानबिन समितिमा कसरी घुसे ? किन घुसे ? कतै पुराना दलले उनलाई समितिमा घुसाएर षड्यन्त्र गर्न त खोजिरहेका छैनन् ? फुर्सद भए, अर्थमन्त्रीज्युले थोरै यता पनि ध्यान दिने कि ? लम्साल जीलाई त शक्तिको पूजा गर्ने अनि जथाभावी गर्ने बानी परिसकेको छ । तर, तपाईं विज्ञमन्त्रीबाट हामीले खोजेको सुशासन अर्कै तहको छ । होइन, ‘जस्तो विवादित भए पनि मेरै खलकको चाहिन्छ भन्नुहुन्छ’ भने त मन्त्रीज्युकै मर्जी, तर साच्चै भ्रष्टहरुको सम्पत्ति छानबिन गर्ने उद्धेश्य हो भने प्रकाश लम्साल सो कमिटीमा रहनु भनेको दुधको साक्षी बिरालो भनेजस्तै हुनसक्छ । आगे तपाईंकै मर्जी… (भिडियो)

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK