Skip to content
LAXMI SUNRISE BANK

‘कन्टेन्ट’ बनाउने चक्करमा आफैँ ‘कन्टेन्ट’ बने रोशन… (भिडियो ब्रिफिङ)

अर्थ सरोकार

काठमाडौँ । आइतबार एउटा खबरले सामाजिक सञ्जाल ततायो । ‘कन्टेन्ट’का नाममा प्रधानमन्त्रीलाई गाली गर्ने युट्युबर पक्राउ !

पक्राउ पर्ने व्यक्ति थिए पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ का रोशन पोखरेल । ‘हेड्स’ नामक युट्युब च्यानल सञ्चालन गर्दै आएका उनले सोही च्यानलमार्फत आफ्ना सामग्री प्रशारण गर्दै आएका थिए । तर, पछिल्लो समय उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लगायत शीर्ष राजनीतिक नेतृत्वलाई गाली गर्दै अपमानजनक र उत्तेजक अभिव्यक्तिहरू प्रसारण गरेपछि अन्ततः उनी प्रहरी खोरमा पुगेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा पाँचथर प्रहरीले उनलाई पक्राउ गरेको हो ।

युट्युबर पक्राउको खबर सार्वजनिक हुनासाथ सामाजिक सञ्जाल तातेको छ । एकथरी ‘ठीक भयो’ भन्दै यस्ता अराजकहरुलाई ठेगान लगाएकै राम्रो भनिरहेका छन् भने अर्काथरी ‘बोल्न दे सरकार’ भन्दै यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै प्रतिकारमा उत्रिएका छन् ।

बोल्न पाउनु लोकतन्त्रले सुनिश्चित गरेको अधिकार हो । तर, के बोल्न पाउनुपर्छ भन्दैमा जे मन लाग्यो त्यही बोल्न मिल्छ ? कन्टेन्ट बनाउने र कन्टेन्ट बिकाउने नाममा जे पनि देखाउन पाइन्छ ? बोल्न पाउनुपर्छ भन्दैमा सामाजिक सद्भाव बिगार्ने, सामाज भड्काउने, उत्तेजित बनाउने अभिव्यक्ति दिन पाइन्छ ? अहँ पाइँदैन ।

पोखरेलले सार्वजनिक गरेको भिडियोमा केही यस्ता शब्दहरु पनि छन्, जसलाई सुन्न त के ? सुन्ने सोच्न पनि सकिँदैन । यतिसम्म कि उनको उक्त भिडियो परिवारसँग सँगै बसेर हेर्न समेत नसकिने खालको छ । अनि यस्ता गतिछाडा कन्टेन्टलाई स्थान दिएर ‘बोल्न पाइएन’ भन्दै रोइलो गर्नुको औचित्य छ ? कन्टेन्टका नाममा यस्ता अन्टसन्ट बोल्ने प्रवृत्तिलाई नियमन नगरे समाजले के सिक्छ ? उक्त भिडियो हेर्ने तपाई हाम्रा सन्ततीले के सिक्छन् ? ख्याल गर्नुपर्दैन ?

स्वतन्त्रता कहिल्यै पनि निरपेक्ष हुँदैन, छाडा हुँदैन, असभ्य हुँदैन र अमर्यादित पनि हुँदैन । स्वतन्त्रतासँग जिम्मेवारी जोडिएको हुन्छ । तपाईंको अभिव्यक्ति त्यतिबेलासम्म सुरक्षित हुन्छ, जबसम्म त्यसले अरूको प्रतिष्ठा, मर्यादा र सामाजिक सद्भावमा प्रत्यक्ष चोट पुर्याउँदैन । अझ भनौँ, भ्युज, लाइक र सेयरको लोभमा उत्तेजक, सनसनीपूर्ण र कहिलेकाहीँ घृणायुक्त सामग्री उत्पादन गर्नु त लोकतन्त्र वा लोकतन्त्रले दिएको बोल्न पाउने अधिकार हुँदै होइन ।

अर्कोतर्फ, राज्यको भूमिका पनि उत्तिकै संवेदनशील छ । कानुनको प्रयोग आवश्यक छ, तर त्यसको दुरुपयोग हुनु हुँदैन । यदि हरेक आलोचनालाई अपराधको रूपमा व्याख्या गर्न थालियो भने त्यसले लोकतन्त्रको मूल आत्मामाथि नै प्रहार गर्छ । कहिलेकाहीँ बिनासित्तैमा पत्रकार पक्राउ पर्छन् । पक्राउ गर्नै नपर्ने विषयमा पनि पक्राउ गरेर पत्रकारलाई दुःख दिइएका घटना थुप्रै छन् । यस्ता विषयमा भने संवेदनशील हुनैपर्छ ।

अनि, यसरी समाज नै उत्तेजित पार्नेगरी, सामाजिक सद्भाव भड्काउनेगरी, कसैको चरित्र हत्या गर्नेगरी र समाजमा भ्रम फैलाउने केही थान क्यामरावाला पक्राउ पर्दैमा धेरै रोइलो गर्नुपर्दैन । यो नागरिकलाई जिम्मेवार बनाउने अभ्यास हो । हिजो केपी ओली, प्रचण्ड र शेर बहादुर देउवा प्रधानमन्त्री हुँदा पनि घृणात्मक अभिव्यक्ति दिनेहरु पक्राउ परेकै थिए, आज पनि परे । यसलाई सरकारको काम, सफलता वा असफलतासँग जोड्नुको कुनै तुक छैन । (भिडियो)

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK