Skip to content
LAXMI SUNRISE BANK

नयाँ वर्ष २०८३ सालको आर्थिक राशिफल ! (भिडियोसहित)

मंजिला पाण्डे

मेष राशि

मेष राशिलाई नयाँ वर्ष २०८३ साल कर्म, धैर्य र आत्मविश्वासको परीक्षा लिने वर्ष जस्तो देखिन्छ। बैंकिङ वा जागिर क्षेत्रमा वर्षको सुरुवातमा केही दबाब र जिम्मेवारी बढ्ने देखिन्छ। तर मेहनतले वर्षको मध्यतिरदेखि नयाँ अवसर, मान-सम्मान र प्रगतिको ढोका खोलिने योग छ।  व्यापार गर्नेहरूका लागि यो वर्ष धैर्य र सही निर्णयको वर्ष हो।  केही आर्थिक दबाब महसुस भए पनि अन्तत: तपाईंको निरन्तर प्रयासले स्थिरता र विस्तार ल्याउनेछ।

मेष राशि भएका व्यक्तिहरूको आर्थिक यात्रामा उतारचढाव आउनेछन्, तर प्रत्येक चुनौतीले तपाईंलाई अझ परिपक्व र सबल बनाउनेछ। यता सेयर बजारतर्फ हेर्दा यो वर्ष असार, साउन, मंसिर र माघ महिनामा लगानी गर्दा राम्रो प्रतिफलको सम्भावना देखिन्छ, तर भदौ असोजतिर भने बजारको अस्थिरताले तपाईंको धैर्यको परीक्षा लिन सक्छ। त्यसैले अन्तर्मनको शान्त आवाज सुनेर, दीर्घकालीन दृष्टिकोण राखी लगानी गर्नु नै लाभदायक हुनेछ। यो वर्ष तपाईंले केवल धन आर्जन मात्र होइन, धनको सही उपयोग, बचत र आध्यात्मिक सन्तुलनको महत्व पनि सिक्ने अवसर मिल्ने देखिन्छ। जहाँ मेहनतसँगै विश्वास र सकारात्मक ऊर्जा मिल्दा तपाईंको आर्थिक जीवन उज्यालो हुनेछ।

वृष राशि

वृष राशिलाई नयाँ वर्ष २०८३ साल धैर्यको परीक्षा र फलदायी परिणाम’ को वर्ष जस्तो देखिन्छ। सुरुका महिनाहरूमा केही अलमल, निर्णयमा ढिलाइ वा अवसरहरू स्पष्ट नदेखिने अवस्था हुन सक्छ, तर वर्षको बीचतिरदेखि तपाईंको मेहनतले आकार लिन थाल्नेछ । आर्थिक पक्षमा बिस्तारै सुधार आउनेछन् । एकैचोटि ठूलो लाभभन्दा सानोसानो तर स्थिर आम्दानीले तपाईंलाई सुरक्षित महसुस गराउनेछ।

बैंकिङ क्षेत्रमा जागिर गर्नेहरूका लागि उन्नति, जिम्मेवारी बढ्ने र विश्वास जित्ने समय रहेको छ। व्यापारतर्फ भने  विस्तारको सोच आउन सक्छ तर आध्यात्मिक दृष्टिले हेर्दा ‘सही समयको प्रतीक्षा’ नै तपाईंको सबैभन्दा ठूलो शक्ति हुने देखिन्छ। यता सेयर बजारमा लगानी गर्दा यो वर्ष विशेषगरी वैशाखदेखि साउनबीचको समय शुभ देखिन्छ, जहाँ ग्रहहरूको चालले तपाईंलाई सही निर्णय लिन प्रेरित गर्ने देखिन्छ । धन कमाउनु मात्र लक्ष्य नभई, त्यसमा शान्ति र सन्तुलन कायम गर्नु नै साँचो समृद्धि हो भन्ने भावना तपाईंमा आउने देखिन्छ।

मिथुन राशि

मिथुन राशिलाई नयाँ वर्ष २०८३ साल परिवर्तन, नयाँ अवसर र सिकाइले भरिएको वर्ष जस्तो देखिन्छ। बैंकिङ र सेयर बजारजस्ता क्षेत्रबाट फाइदा उठाउन सकिने योग छ। तर कहिलेकाहीँ हतारमा लिइएको निर्णयले जोखिम पनि बढाउन सक्ने देखिन्छ। बैंकिङ क्षेत्रमा जागिर गर्नेहरूका लागि यो वर्ष नयाँ जिम्मेवारी, ट्रान्सफर वा नयाँ सीप सिक्ने अवसर आउन सक्छ। सुरुमा अलि दबाब जस्तो लागे पनि पछि यही अनुभवले करियरमा राम्रो उन्नति ल्याउने योग छ । सहकर्मीहरूसँगको सम्बन्ध राम्रो राख्दा अझ फाइदा हुने देखिन्छ।

सेयर बजारतर्फ हेर्दा यो वर्ष उतारचढाव बढी देखिन्छ। विशेषगरी जेठदेखि असोजकोबीचमा चाल चलायमान रहने संकेत छ। जहाँ छिटो नाफा हुने सम्भावना भए पनि जोखिम पनि उत्तिकै रहन्छ। त्यसैले आध्यात्मिक रूपमा ‘संयम र सचेत’ अपनाएर लगानी गर्नु पर्ने देखिन्छ । कुनै पनि लगानी गर्दा मन शान्त राखेर, रिस वा लोभबाट टाढा भएर निर्णय लिनुहोस् यो वर्ष तपाईंहरूलाई शुभ नै रहने छ।

कर्कट राशि

कर्कट राशि भएका व्यक्तिहरूका लागि नयाँ वर्ष २०८३ साल समग्रमा आर्थिक रूपमा सावधानी र योजनाबद्ध निर्णय लिनुपर्ने देखिन्छ। विशेषगरी सेयर बजार र बैंकिङ क्षेत्रमा लगानी गर्दा हतारमा निर्णय गर्नु उपयुक्त नहुने देखिन्छ । सेयर बजारमा यो राशीहुनेहरूले छोटो अवधिको नाफाभन्दा दीर्घकालीन सोच राखेर लगानी गर्नु राम्रो हुने देखिन्छ । बीचतिर भने केही सकारात्मक अवसरहरू आउन सक्छन् । यदि सुरुबाटै सही योजना र अनुशासन कायम राखियो भने वर्षको अन्त्यतिर आर्थिक स्थिति क्रमश: सुधार हुँदै जाने सम्भावना देखिन्छ।

व्यवसाय र लगानीको हिसाबले यो वर्षभरि मिश्रित अवस्था देखिन्छ। वैशाखदेखि जेठसम्मको समय नयाँ काम सुरु गर्न र लगानी बढाउन अनुकूल हुने। यस अवधिमा आत्मविश्वास पनि बढ्ने देखिन्छ । त्यसैगरी भदौदेखि असोजबीच व्यापार विस्तार, साझेदारी र नाफा हुने राम्रो सम्भावना रहनेछ। माघ र फागुनमा भने पुराना लगानीबाट लाभ आउने तथा आर्थिक स्थिरता देखिन सक्छ। तर असार-साउनमा खर्च बढ्ने र घाटाको जोखिम रहने भएकाले लगानी गर्दा विशेष सावधानी अपनाउनु पर्ने देखिन्छ।

सिंह राशि

सिंह राशि भएका व्यक्तिहरूका लागि नयाँ वर्ष २०८३ साल समग्रमा मिश्रित तर सम्भावनाले भरिएको वर्ष देखिन्छ। वर्षको सुरुवातमा केही आर्थिक उतारचढाव देखिन सक्छ, विशेष गरी लगानी र खर्चको सन्तुलन मिलाउन चुनौती हुन सक्छ, तर बीचतिरबाट स्थिति क्रमश: सुधार हुँदै जाने संकेत छन्। सेयर बजारको हिसाबले हेर्दा, यो वर्ष सावधानीका साथ अवसर पनि ल्याउने खालको देखिन्छ। छोटो अवधिमा अस्थिरता हुन सक्छ तर दीर्घकालीन दृष्टिले राम्रो प्रतिफल दिने सम्भावना छ, विशेष गरी यदि तपाईंले धैर्य राखेर सही समयमा निर्णय लिनुभयो भने राम्रो हुने योग छ।

बैंकिङ सेक्टरको कुरा गर्दा २०८३ सालमा यो क्षेत्र स्थिरतासँगै क्रमिक सुधारतर्फ जाने संकेत देखिन्छ, जसले गर्दा बैंकिङ कम्पनीका सेयरहरूमा मध्यम तर सुरक्षित किसिमको वृद्धि देखिन सक्छ। यद्यपि,  हतारमा लगानी गर्नु भन्दा बजारको ट्रेन्ड राम्रोसँग अध्ययन गरेर मात्र निर्णय लिनु उपयुक्त हुनेछ। व्यक्तिगत रूपमा पनि यो वर्ष आत्मविश्वास बढ्ने, नयाँ अवसरहरू प्राप्त हुने र सामाजिक प्रतिष्ठा विस्तार हुने समय छ।  तर अहंकार र अनावश्यक जोखिमबाट टाढा रहनु नै सफलताको मुख्य खुड्किला हुने देखिन्छ।

कन्या राशि

कन्या राशि भएका व्यक्तिहरूका लागि नयाँ वर्ष २०८३ साल राम्रै देखिन्छ। सुरुमा केही अलमल, ढिलाइ वा योजना अनुसार काम नहुने जस्तो अनुभव हुन सक्छ, तर वर्ष स्थिति भने बिस्तारै सुधार हुँदै जानेछ । मेहनत गरेको कामको फल ढिलो भए पनि पाइने योग छ। आर्थिक रूपमा धेरै जोखिम लिनुभन्दा सोचेर, योजना बनाएर अघि बढ्नु राम्रो हुनेछ । सेयर बजारमा पनि वर्षको बीचतिर राम्रो अवसर आउन सक्छ । तर छिटो नाफा खोज्नेभन्दा धैर्य राख्नेहरूका लागि यो वर्ष बढी फाइदाजनक हुने देखिन्छ ।

दीर्घकालीन लगानी गर्नेका लागि यो वर्ष राम्रो अवसर बन्न सक्छ, तर छोटो अवधिको ट्रेडिङ गर्दा जोखिम व्यवस्थापन गर्नुपर्छ। कन्या राशिका व्यक्तिहरूले अनुसन्धान गरेर, धैर्यका साथ लगानी गरेमा बैंकिङ सेक्टरबाट लाभ लिन सक्ने सम्भावना बलियो देखिन्छ। यदि तपाईं व्यापार वा लगानीसँग सम्बन्धित हुनुहुन्छ भने विशेष गरी बैंकिङ, वित्त, कन्सल्टेन्सीसँग जोडिएको क्षेत्रमा राम्रै फाईदा हुने सम्भावना छ । नयाँ व्यवसाय सुरु गर्न चाहनुहुन्छ भने असार देखि मंसिरबीचको समय राम्रो हुनेछ।

तुला राशि

तुला राशि भएका व्यक्तिहरूका लागि नयाँ वर्ष २०८३ साल समग्रमा सन्तुलित र प्रगतिशील देखिन्छ। वर्षको सुरुवाततिर केही उतारचढाव देखिए पनि विस्तारै सुधार हुँदै जानेछ। व्यवसायतर्फ पनि नयाँ अवसरहरू आउने सम्भावना छ, विशेषगरी साझेदारी वा नयाँ आइडियामा काम गर्दा फाइदा हुन सक्छ, तर हतारमा निर्णय नगर्नुहोला । बैंकिङ वा जागिरतर्फ भने मध्यम सफलता देखिएको छ। मिहिनेत अनुसार नतिजा पाइनेछ, तर धैर्य राख्नुपर्ने हुन्छ।

यता लगानीको कुरा गर्दा, बैंकिङ बचत, सहकारी, वा सुरक्षित क्षेत्रमा पैसा राख्दा स्थिर आम्दानी आउनेछ । सेयर बजारमा पनि लगानी गर्न सकिन्छ। तर छोटो समयको नाफाभन्दा लामो समयको योजना बनाएर लगानी गर्नु राम्रो हुने योग छ । साझेदारीमा लगानी गर्दा पार्टनर राम्रो छान्नुपर्छ, नत्र विवाद आउन सक्छ। लोकसेवा तयारी गर्नेहरूका लागि यो वर्ष मेहनतको परीक्षा जस्तो हुनेछ, नियमित पढाइ र अनुशासन राखे सफल हुने सम्भावना छ। पढाइ समग्रमा ठीक रहनेछ, तर ध्यान विचलित हुने सम्भावना भएकाले फोकस कायम राख्न जरुरी छ। सम्बन्ध र व्यक्तिगत जीवनमा सन्तुलन राखे यो वर्ष अझ राम्रो बन्न सक्छ।

वृश्चिक राशि

वृश्चिक राशि भएका व्यक्तिहरूका लागि नयाँ वर्ष २०८३ साल समग्रमा परिवर्तन, अवसर र आत्मविकासको वर्ष जस्तो देखिन्छ। यो वर्ष तपाईँले पहिले गरेको मेहनतको नतिजा देख्न थाल्नुहुनेछ, तर निर्णय गर्दा धैर्य र सोच-विचार गर्नुहोला । व्यवसायतर्फ हेर्दा नयाँ लगानी गर्ने राम्रो सम्भावना देखिन्छ, विशेषगरी सानो-मझौला व्यापार, अनलाइन व्यापार, कृषि आधारित व्यवसाय वा सेवा क्षेत्रमा लगानी गर्दा फाइदा हुन सक्छ। साझेदारीमा काम गर्दा स्पष्ट सम्झौता गर्नु राम्रो हुन्छ।

जागिरको हिसाबले नयाँ अवसरहरू आउन सक्छन्, विशेषगरी वर्षकोबीचपछि राम्रो प्रगति वा पदोन्नतिका सम्भावना देखिएका छन् । यता लगानीका हिसाबले, घरजग्गा, सुन, वा दीर्घकालीन योजनामा लगानी गर्दा राम्रो प्रतिफल आउन सक्छ। छिटो नाफा कमाउने सोचमा जोखिमपूर्ण क्षेत्रमा पैसा हाल्दा भने नोक्सान हुन सक्छ। कृषि, डिजिटल सेवा, शिक्षा सम्बन्धी काम, र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित व्यवसायहरू तपाईँका लागि यो वर्ष लाभदायक देखिन्छन्। समग्रमा, यो वर्ष तपाईँले धैर्य, योजना र निरन्तर प्रयास राख्नुभयो भने आर्थिक र पेशागत रूपमा राम्रो उन्नति गर्ने सम्भावना देखिएको छ।

धनु राशि

धनु राशि भएका व्यक्तिहरूका लागि नयाँ वर्ष २०८३ साल समग्रमा अवसर र चुनौती दुबैले भरिएको वर्ष देखिन्छ। यो वर्ष विशेष गरी करियर, व्यापार, र अध्ययनतर्फ ध्यान दिनुपर्ने समय छ । वर्षको सुरुवातमा अलि मानसिक तनाव, काममा ढिलाइ, र कहिलेकाहीँ निराशा आउने सम्भावना छ। तपाईंले सोचेजस्तो कुरा तुरुन्तै नहुन सक्छ, जसले गर्दा मन अलि अशान्त हुन सक्छ। तर यसलाई धैर्यका साथ सम्हाल्नुभयो भने बिस्तारै अवस्था सुधार हुँदै जानेछ । परिवारमा कहिलेकाहीँ सानो विवाद वा गलत बुझाइ हुन सक्छ, त्यसैले बोल्ने तरिका र व्यवहारमा ध्यान दिनु राम्रो हुन्छ।

यो वर्ष बैंकिङ र सेयर बजार दुबै क्षेत्रमा अवसर त छन्, तर सावधानी अपनाउनुपर्ने संकेत देखिन्छ। छिटो नाफा कमाउने सोचले हतारमा लगानी गर्नुभयो भने घाटा हुन सक्छ। तर दीर्घकालीन सोचेर, राम्रो कम्पनी छानेर, सानो-सानो लगानी गर्दै जानुभयो भने फाइदा हुने सम्भावनाको योग छ। व्यापारको हिसाबले हेर्दा यो वर्ष नयाँ काम सुरु गर्नुअघि राम्रो योजना बनाउनु आवश्यक छ। पार्टनरशिपमा काम गर्दा सावधानी अपनाउनु पर्ने देखिन्छ। किनकि विश्वासको समस्या आउन सक्छ। लगानीका लागि कृषि फुड-रेस्टुरेन्ट, डिजिटल सेवा, शिक्षा सम्बन्धी काम, वा सानो-मझौला व्यापार फाप्ने देखिन्छ । धेरै ठूलो जोखिम लिने वा हतारमा पैसा हाल्ने कामबाट जोगिनु होला।

मकर राशि

मकर राशि भएका व्यक्तिहरूका लागि नयाँ वर्ष २०८३ साल समग्रमा मिश्रित तर क्रमश: सुधार हुँदै जाने वर्ष देखिन्छ। यो वर्ष आर्थिक रूपमा सुरुमा केही उतारचढाव र दबाब महसुस हुन सक्छ, तर बिस्तारै स्थिति मजबुत हुँदै जानेछ। बैंकिङ क्षेत्रमा काम गर्नेहरूका लागि जिम्मेवारी बढ्ने, कामको दबाब पनि बढ्ने तर त्योसँगै प्रगति र पदोन्नतिको सम्भावनाका पनि योग छन्। सेयर बजारतर्फ हेर्दा सुरुवाती महिनामा जोखिम र अस्थिरता देखिए पनि वर्षको मध्यदेखि अन्त्यतिर नाफा लिन सकिने अवसर आउन सक्छ, त्यसैले दीर्घकालीन लगानी बढी लाभदायक हुने देखिन्छ ।

यो वर्ष करियरमा मेहनत अनुसार फल पाइने समय छ, नयाँ अवसरहरू आउने तर त्यसका लागि निरन्तर प्रयास आवश्यक हुनेछ। पारिवारिक र व्यक्तिगत जीवनमा सामान्य सहयोग र समर्थन मिल्नेछ, तर कहिलेकाहीँ मानसिक तनाव, खर्चको दबाब र सहकर्मी वा साथीहरूसँग सानो असमझदारी हुन सक्छ। समग्रमा यो वर्ष धैर्य, योजना र सावधानी अपनाएमा बिस्तारै राम्रो प्रगति र स्थिरता हासिल गर्न सकिनेछ । यो वर्ष विदेशको यात्रा पनि छ।

कुम्भ राशि

कुम्भ राशि भएका व्यक्तिहरूका लागि नयाँ वर्ष २०८३ साल राम्रै देखिन्छ। यो वर्ष सुधार हुँदै जाने वर्ष जस्तो देखिन्छ। वर्षको सुरुमा कामकाजमा केही दबाब, निर्णयमा अलमल र आर्थिक पक्षमा खर्च बढ्ने अवस्था आउन सक्छ, जसले गर्दा मनमा तनाव महसुस हुन सक्छ। तर समय बित्दै जाँदा विशेषगरी असोजपछि अवसरहरू बढ्ने, काममा प्रगति हुने र नयाँ स्रोतबाट आम्दानीको सम्भावना देखिन्छ। यो वर्ष नयाँ जिम्मेवारी वा राम्रो अवसर प्राप्त हुने योग पनि देखिन्छ, विशेषगरी टेक्नोलोजी, अनलाइन काम वा विदेशसम्बन्धी क्षेत्रमा यो वर्ष राम्रो हुने योग छ।

सुरुका महिनाहरूमा व्यवसायमा केही ढिलासुस्ती, दबाब महसुस हुन सक्छ, तर वर्षको मध्यतिरदेखि नयाँ अवसरहरू खुल्ने र काम विस्तार हुने सम्भावना राम्रो देखिन्छ। पार्टनरशिप वा संयुक्त लगानीमा भने सावधानी अपनाउनु उपयुक्त हुन्छ, विशेष गरी विश्वास र कागजी प्रक्रियामा ध्यान दिनु जरुरी देखिन्छ । सेयर बजारको कुरा गर्दा यो वर्ष उतारचढावपूर्ण रहने संकेत छ, जसले गर्दा छिटो नाफा खोज्नु भन्दा दीर्घकालीन लगानी गर्नु बढी सुरक्षित र लाभदायक हुन सक्छ। हल्ला वा अनुमानका आधारमा निर्णय गर्दा हजुरहरूलाई घाटा हुन सक्छ, त्यसैले अध्ययन गरेर मात्र लगानी गर्नु राम्रो हुनेछ । यो वर्ष खर्च पनि बढ्न सक्ने भएकाले बचत र योजना बनाएर अघि बढ्नु लाभदायक हुनेछ।

मीन राशि

मीन राशि भएका व्यक्तिहरूका लागि नयाँ वर्ष २०८३ साल समग्रमा मिश्रित वर्षको रूपमा देखिन्छ। सेयर बजारमा दीर्घकालीन सोच राख्ने मीन राशिका लागि यो वर्ष तुलनात्मक रूपमा राम्रो मान्न सकिन्छ, विशेषगरी बैंकिङ, हाइड्रो वा स्थिर क्षेत्रतर्फ गरिएको धैर्यपूर्ण लगानीले वर्षको अन्त्यतिर राम्रो रिटर्न दिन सक्ने सम्भावना छ, तर छोटो समयमा नाफा खोज्ने प्रवृत्तिले जोखिम बढाउन सक्छ। समग्रमा आर्थिक अवस्था पूर्ण रूपमा कमजोर वा बलियो भन्दा पनि ‘सिकाइ र सुधारको वर्ष’ जस्तो रहनेछ । मीन राशिलाई बैंकिङ क्षेत्रमा काम गर्ने अवसर आउन सक्नेछ।

यता वर्षको सुरुवाततिर केही मानसिक दबाब, निर्णयमा अलमल र आर्थिक उतारचढावको अवस्था देखिन सक्छ, जसले गर्दा विशेषगरी सेयर बजार वा लगानीसम्बन्धी क्षेत्रमा हतारमा निर्णय गर्दा घाटा हुने सम्भावना रहन्छ, त्यसैले सुरुका महिनामा सावधानी अपलाउनुहोला।  व्यवसाय गर्नेहरूका लागि पनि सुरुमा अपेक्षाअनुसारको गति नआउन सक्छ, ग्राहक घटबढ हुने, खर्च बढ्ने वा योजना ढिलो कार्यान्वयन हुने जस्ता चुनौतीहरू देखिने योग छन्।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK