Skip to content
LAXMI SUNRISE BANK

ओहो ! कति धनी हाम्रा मन्त्री दाजुहरु… (भिडियो ब्रिफिङ)

अर्थ सरोकार

काठमाडौँ । धनी हुनु मुख्य कुरा होइन, कसरी धनी भयो ? त्यो मुख्य कुरा हो । हिजो चप्पल पड्काउँदै आएकाहरु आज आलिशान बङ्गलामा, राजशी ठाँटका साथ बिलासी जीवन बिताइरहेका छन् । जो हिजो ‘मेरो केही छैन, सम्पत्तिका नाममा दुई आनामा बनेको घर र बैंकमा सवा दुई लाख पैसा मात्रै छ’ भन्नेहरुका घरमा पैसाका बिटा जलेका छन् । सम्पत्तिका नाममा घडेरी देखाउनेहरु नै सहकारी र बैंकमा अर्बौंका जग्गा धितो राखेर ऋण खाँदै बसेका छन् । अझ ‘सम्पत्ति त छैन, पैतृक सम्पत्तिका नाममा बाउ बाजेले छोडेर गएको त्यही १८–१९ तोला सुन छ’ भन्नेहरु खोकी लागे उपचारका लागि थाइल्याण्ड र सिंगापुर पुग्छन् । अझ केहीको अवस्था त ‘नेपालमा नेता, सिंगापुरमा घर, लण्डनमा डिनर, ड्यालसमा लन्च’ भन्नेजस्तै छ । आज फेरि रास्वपाका धनाढ्य मन्त्रीहरु देखेर तिनैको रोइलो खपिनसक्नु छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मन्त्री बनेकाहरुको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जाल पँहेलै देखिन थालेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको १९० तोला सुन, अर्थमन्त्रीको ४९ तोला सुन, गृहमन्त्रीको ८९ तोला सुन, उद्योगमन्त्री गौरीकुुमारी यादवको १८० तोला सुन । प्रायः सबै मन्त्रीसँग २०–२५ तोला सुन भएको सम्पत्ति विवरण सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जाल सुनमय भएको छ ।

अब हेरौँ कुन मन्त्रीको सम्पत्ति कति छ भन्ने तथ्य ?
मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)की पत्नी सविना काफ्लेको नाममा १९० तोला सुन छ । जुन पैत्रिक रुपमा प्राप्त भएको भनिएको छ । काठमाडौँ, धनुषा र महोत्तरीमा बुबाआमाको नाममा घरजग्गा रहेको जनाइएको छ भने शाहले सामाजिक सञ्जाल (फेसबुक, युट्युब र एक्स) बाट एक करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको विवरण उल्लेख गरेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति विवरणमा चारवटा घर र अपार्टमेन्ट रहेको उल्लेख गरेका छन् । उनले सम्पत्ति विवरणमा विदेशको जागिर सम्पत्तिको मुख्य स्रोत रहेको देखाएका छन् । बैंकमा एक करोड ९० लाख रुपैयाँ र ४५ तोला सुन उनको विवरणमा समावेश छ । विभिन्न जलविद्युत् आयोजना, एक विकास बैंकमा सेयर रहेको जनाएका छन् ।

गृहमन्त्री सुधन गुरुङको धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । सो जग्गा लगानीबाट जोडेको उल्लेख गरिएको छ । उनका पिता दिलबहादुरको नाममा चितवनको भरतपुर १८ गुञ्जनगरमा ३० कठ्ठा र बाजे रामसलको नाममा गोरखाको चुननुब्रीमा २ सय २१ रोपनी जग्गा रहेको छ । गृहमन्त्री गुरुङको सेयर मार्केटमा चार करोड ३१ लाख रुपैयाँ बढी लगानी रहेको छ । ८९ तोला सुन र विभिन्न कम्पनीमा सेयर लगानी रहेको उल्लेख गरेका छन् । परराष्ट्रमन्त्री शिशिर खनालका बुबा सूर्यभक्त खनालको नाममा काठमाडौँमा पाँच आनाको घर छ । बुबाकै नाममा तनहुँ, नवपुर र नेपालगन्जमा २८ रोपनी दुई कट्ठा जग्गा छ । त्यसैगरी १३ लाख रुपैयाँ नगद र २२ तोला सुन रहेको विवरणमा उल्लेख गरिएको छ । उनको र श्रीमतीको नाममा विभिन्न कम्पनीमा सेयर रहेको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले १५ तोला सुन र ५० तोलामा चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । वीरेन्द्रभक्त श्रेष्ठ र विकास श्रेष्ठका नाममा घर, विभिन्न बैंकमा ६४ लाख ६३६ रुपैयाँ नगद रहेको छ । उनीसँग विभिन्न कम्पनीको सेयर र सवारीसाधन पनि रहेको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमको काठमाडौँ र चितवनमा घर रहेको विवरण सार्वजनिक गरेकी छिन् । श्रीमानका नाममा काठमाडौँमा र सासूका नाममा चितवनमा घर रहेको उल्लेख गरेकी कानुनमन्त्री गौतमसँग १० लाख ५० हजार रुपैयाँ नगद विभिन्न बैंकमा मौज्दात छ । राष्ट्रिय वाणिज्य बैंकबाट २० लाख रुपैयाँ ऋण लिएकोमा सात लाख रुपैयाँ चुक्ता गरेको उनले सम्पत्ति विवरणमा समावेश गरेकी छिन् । यस्तै, एभरेष्ट बैंकबाट उनले ऋण लिएको देखिन्छ भने उनको १५ तोला सुन, एक तोला हीरा र नौ तोला चाँदी रहेको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीको २० वटा कुखुरा र एउटा कुकुर रहेको छ । उनीसँग एउटा स्कुटर, तीनवटा ल्यापटप र दुईवटा मोबाइल छ । यस्तै, श्रीमान्का नाममा एउटा पल्सर मोटरसाइकल छ । उनको नाममा नगद ५० हजार रुपैयाँ, बैंकमा श्रीमान् र उनका नाममा १५ लाख रुपैयाँ बराबरको नगद रहेको विवरणमा समावेश छ । मन्त्री बादीको १८ तोला सुन, १५ तोला चाँदी छ । सुन र चाँदी विवाहमा प्राप्त भएको सम्पत्ति विवरणमा समावेश छ । त्यस्तै, सुर्खेतमा ८९.६५ वर्गमिटर जग्गा रहेको उल्लेख छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालको ९० लाख रुपैयाँ बराबरको नगद बैंकमा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उनीसँग ३० तोला सुन, ५० तोला चाँदी र परिवारको नाममा रुपन्देहीमा एक कट्ठा १० धुर जग्गामा रहेको घर, नवलपरासीमा १० कट्ठा १५ धुर जग्गा, स्याङ्जामा सात रोपनी खेत र २२ रोपनी बारी रहेको मन्त्री लम्सालले आफ्नो सम्पत्ति विवरणमा समावेश गरेका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले काठमाडौँमा रहेको घर श्रीमान्को आयका रूपमा उल्लेख गरेकी छिन् । यस्तै, काठमाडौँ र बारामा जग्गा रहेको उल्लेख गरेकी छिन् भने उनीसँग २५ तोला सुन, विभिन्न बैंकमा रु २४ लाखबराबरको बचत रहेको विवरणमा समावेश छ । उनको २० लाख रुपैयाँ बराबरको ऋण र ४४ लाख रुपैयाँबराबरको गाडी रहेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीको पाँच तोला सुन र एक सय तोला चाँदी रहेको छ । विभिन्न बैंकमा एक लाख २६ हजार रुपैयाँ मौज्दात रहेको उल्लेख गरेकी उनले माइतीले दिएको दुईवटा बाख्रा र १० वटा कुखुरा रहेको विवरणमा समावेश छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको काठमाडौँ र महोत्तरीमा जग्गा रहेको छ । उनीसँग १८० तोला सुन, दुई किलो चाँदी, दुई सेट हिराको गहना रहेको सम्पत्ति विवरणमा समावेश गरेकी छिन् । यस्तै, विभिन्न बैंकमा बचत र विभिन्न कम्पनीमा तीन करोड ३८ लाख रुपैयाँबराबरको लगानी रहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताको सासूसुसुराको नाममा घर जग्गा रहेको उल्लेख गरिएको छ । यस्तै, ३० तोला सुन र ५० तोला चाँदी रहेको छ । विभिन्न बैंकका बचत, विभिन्न कम्पनीको सेयर तथा एउटा सवारीसाधन रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री खड्कराज पौडेलको भाउजु सन्तोषी शर्माको नाममा पोखरा महानगरपालिका–१४ मा दुई करोड ६० रुपैयाँमा खरिद गरेको घर रहेको उल्लेख गरेका छन् । पोखरामा पैत्रिक रूपमा प्राप्त भएको जग्गा, ११ तोला सुन र पाँच तोला चाँदी रहेको उनको सम्पत्ति विवरणमा समावेश छ । विभिन्न बैंक र सहकारीमा नगद तथा ऋण लिएको समेत उल्लेख गरेका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले श्रीमतीको नाममा काठमाडौँमा घर रहेको उल्लेख गरेका छन् । स्वदेश तथा विदेशमा गरेको कार्यबापतको तलबभत्ता र आम्दानीबाट घर जग्गा खरिद गरेको सञ्चारमन्त्रीले जनाएका छन् । उनको विवाहमा पुख्र्यौली सम्पत्तिबाट किनेको तथा उपहार प्राप्त गरेको सुन र चाँदी, १० लाख ३४ हजार ३८६ रुपैयाँ बराबरको बचत रहेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवको सप्तरीमा पैत्रिक रूपमा प्राप्त घर तथा जग्गा रहेको छ । उनको ८० तोला सुन र १५० तोला चाँदी, विभिन्न बैंकमा नगद रहेको जनाइएको छ ।

यसरी हेर्दा यसपालीको मन्त्रीमण्डलमा सबै धनाढ्य देखिन्छन् । कसैको आयस्रोत सामाजिक सञ्जाल, कसैको जागिर र कसैको आयस्रोत पैत्रिक सम्पत्ति छ । सम्वभतः अहिलेसम्म बनेका सरकारमध्ये सबैभन्दा धनाढ्य र सम्पन्न मन्त्रीमण्डल नै यसपालीको हो भन्दा फरक नपर्ला । यसो भन्दैमा फेरि करोडौँको बैंक ब्यालेन्स लिएर बसेकाहरुको आयस्रोत पुष्टि गर्नुपर्दैन त ? भन्ने तपाईंको प्रश्न होला । हो, पर्छ । पूर्व प्रधानमन्त्रीहरुले ५ तोला, १० तोला सुन देखाएर गरिब छु भन्ने पारिरहेका बेला अहिलेका प्रधानमन्त्रीले १९० तोला सुन देखाउँदा कहाँबाट आयो ? भन्ने लाग्नु स्वभाविक हो । अर्कोतर्फ सम्पत्ति कमाउनु अपराध होइन, अनि राजनीति गर्नेहरु गरिब नै हुनुपर्छ भन्ने पनि होइन । कुरा यति हो, कमाएको सम्पत्ति वैध हुनुपर्छ । अनि सम्पत्तिको स्रोत प्रमाणित गर्नु राज्य चलाउने जिम्मा लिएका व्यक्तिहरुको दायित्व पनि हो ।

त्यसैमाथि अरुको सम्पत्ति छानविन गर्नुपर्छ भन्नेले आफ्नो सम्पत्तिको आयस्रोत प्रमाणित गर्नुपर्छ भन्ने कुरामा कुनै शंका छैन । आयस्रोत प्रमाणित भए कुरै सकियो, नभए कानून अनुसार होला । तर, यति चाहिँ सत्य जरुर हो, हिजो चप्पल पड्काउँदै राजनीतिमा छिरेकाहरुले भ्रष्टाचार गरेर अकुत कमाएजसरी आजकाले कमाउनुपर्ने छैन । कमाउनकै लागि कमिसन माग्नुपर्ने देखिँदैन, भ्रष्टाचार गर्नुपर्ने देखिँदैन । त्यसैले हाम्राले जसरी भ्रष्टाचार नगर्ने भए, कमिसन नमाग्ने भए भनेर डाहा गर्ने हो भने ठिकै छ । होइन भने बेफ्वाँकको रोइलो गर्नु भनेको हात्ती आयो हात्ती आयो, फुस्स भनेझैँ हो । (भिडियो)

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK