Skip to content
LAXMI SUNRISE BANK

गुणस्तरहीन प्रमाणित करेन्ट चाउचाउ खाँदा क्यान्सरसमेत हुने खतरा ! महिलाका लागि थप हानिकारक ! (भिडियो ब्रिफिङ)

अर्थ सरोकार

काठमाडौँ । चाउचाउ किन्दा किरैकिरा फ्री !, जनताको स्वास्थ्य हामीलाई छु मतलव भने जसरी करेण्ट चाउचाउमा किरै किरा भेटिंदा पनि करेण्ट चाउचाउलाई उतिबेला कारवाही भएन । कुरा केही समय अघिको मात्र हो, देख्दै घीन लाग्ने, अनि छ्या ! यस्तो पनि खानु, भन्ने खालको किरै किरा करेन्टको चाउचाउमा भेटिए पनि, यो करेन्ट चाउचाउलाई कुनै पनि कारवाही नभएपछि करेन्टले अखाद्य करेण्ट चाउचाउका प्याकेटहरु बजारमा पठाईरह्यो । पुक्लुक्क पानी बसाल्यो, भुक्लुक्क उमाल्यो, अनि पीरो चाउचाउ कुप्लुक्क खायो गर्नेहरुले पनि अखाद्य कसले भनेको छ र भनेर सो गुणस्तरहीन करेण्ट चाउचाउ खाइरहे । कहिले चाउचाउमा किरा भेटियो, कहिले ढुसी भेटियो । बजारमा अखाद्य ठहर हुने सम्भावना भएका थुप्रै गुणस्तरहीनहरु प्याकेटहरु पक्कै थिए । तर बेच्नेले बेचिरह्यो, खानेले खाइरह्यो । पेटमा असर गर्दा पनि, पिरो खाए पछि यस्तै त होला भनिरहे उपभोक्ता पनि । अहिले बल्ल सरकारले आफैँ परीक्षण गरेर करेण्ट चाउचाउ अखाद्य छ भन्ने देखाइदिएपछि उपभोक्ताहरु केही सजग बनेका छन् ।

करेन्ट चाउचाउको जुन ब्याच परीक्षण गरियो, त्यो खान लायकको देखिएन । खान लायक नरहेका अरु थुप्रै ब्याचहरु बजारमा छन्, जसको परीक्षण गरिएकै छैन । यो ‘लुपहोल’मा खेलेर अहिले करेण्ट चाउचाउ उपभोक्तामाथि भ्रम छरिरहेको छ । एउटा ब्याचमा मात्र हो समस्या अरु ठिक छ भनेर गुणस्तरहीन हुन सक्ने तर परीक्षण नभएका चाउचाउका प्याकेटहरु बेच्ने दुस्साहस गरिरहेको छ । यो काममा कमेन्ट नै अफ गरेर केही टिकटकरहरु लागिरहेका छन् । करेन्टका कर्मचारीहरुले त नुनको सोझो गर्ने नै भए । तर पिरो चाउचाउ भित्रको तितो यथार्थचाहिँ के हो भने यो करेण्ट चाउचाउ खान लायक छैन, ती अखाद्य प्याकेटहरु बजारबाट फिर्ता ल्याउ भनेर सरकारले भनिरहेको छ । तर नेपाली उपभोक्ता भेडा छन्, जे भने पनि पत्याईहाल्छन्, बानी परिसक्यो हाम्रो चाउचाउ खाइहाल्छन् भनेर करेन्टले उपभोक्ताको सोझोपनको फाइदा उठाएर करेण्ट बेचिरहेका छन् । र आज हामी करेण्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्सले गुणस्तरहीन चाउचाउको कालो पाटो लुकाउन गरिरहेको बदमासी र यो करेण्ट चाउचाउ खाँदा के सम्म हानी हुन्छ भन्ने तथ्यको फलोअप लिएर उपस्थित भएका छौँ ।

१. जुनसुकै ब्याच परीक्षण भएको होस्, करेण्ट चाउचाउ गुणस्तरहीन छ भन्ने तथ्य छर्लङ्ग छ । एकछिनलाई मानौँ, सरकारले ती गुणस्तरहीन प्रमाणित भएका ब्याचका नमुना परीक्षण गरेको थिएन भने, के ती खान लायक हुन्थे त ? हो, सरकारले परीक्षण नगरेको भए ती ब्याचका चाउचाउ पनि बिक्री हुन्थे, र ती गुणस्तरहीन चाउचाउ उपभोक्ताले खान्थे । अहिले बजारमा रहेका थुप्रै ब्याचका करेन्ट चाउचाउ पनि खान लायक छैनन् । फरक यति हो, सरकारले गुणस्तर सबै नमुनाहरुको चेक गरेको छैन । स्याम्पल चेक गर्दा गुणस्तरहीन भेटिनु भनेको सो चाउचाउ उत्पादन गर्ने फ्याक्ट्रीमा नै कैफियत हुनु हो । कम्पनीले ब्याच राखेर यसमा चाहिं गुणस्तर बिगारौं, अरुमा सपारौँ भन्दै भन्दैन । त्यसैले प्रष्ट छ, बजारमा भएका अधिकांश करेण्ट चाउचाउहरु गुणस्तरहीन छन् । सरकारी निकायले खान हुँदैन भनेको चाउचाउ, नबेच भनेको चाउचाउ कम्पनीले खुलेआम बेचिरहेको छ, उपभोक्ताको ज्यानमाथि खेलबाड गरिरहेको छ ।

२. करेण्ट चाउचाउमा पटक पटक किरा भेटिएका छन् । उपभोक्ताले किनेर ल्याएको प्याकेटमा किरा भेटिनु भनेको बेच्न लायक नै नभएको वा म्याद गुज्रिसकेको चाउचाउ खुलेआम बिक्री वितरण भईरहेको छ भन्ने हो । ढुसी परुन्जेल, किरा परुन्जेल पनि चाउचाउ बेचिन्छ भन्ने तथ्यको प्रमाण हो यो । कम्पनीको प्याकेजिङ्गमा कैफियत छ र चाउचाउको गुणस्तर हदैसम्म गिरेको छ भन्ने तथ्यको प्रमाण हो यो । तर, नेता मिलाइएकै छ, गुणस्तरका हाकिम मिलाइएकै छ भन्ने शैलीमा कम्पनीका मालिकले शक्तिको दुरुपयोग गर्दा यसअघि करेन्ट चाउचाउमाथि कारवाही भएको थिएन । यहि मनपरी व्यापारमा छेकबार हुन्छ भनेर उनले नयाँ पार्टीलाई पनि प्रभावमा पार्न खोजेका तथ्यहरु बाहिरिएका थिए । तर, यसपटक बल्ल पर्यो माकुरी जालैमा भनेजस्तै करेण्ट चाउचाउ गुणस्तरहीन प्रमाणित भएको तथ्य बाहिर आएको छ । अव हेर्नुपर्नेछ, यो अनुगमनको सृंखला निरन्तर हुन्छ वा एक पटक गरेर करेन्टलाई गुणस्तरहीन चाउचाउ बेच्न सरकारले छुट दिईरहन्छ ।

३. पिरो चाउचाउभित्रको कालो कर्तुत सार्वजनिक भएपछि करेन्ट चाउचाउवाला कम्पनीले अहिले गुणस्तरका हाकिमलाई थप अघि नबढ्न दबाब र प्रभाव दिन थालेका चर्चा सुरु भएका छन् । अझ कम्पनी त सरकारले गुणस्तरहीन भनेका चाउचाउ पनि फिर्ता ल्याउनुको साटो अलि सस्तोमा बेचेर बजारमै सल्टाउने दाउमा छ र यहि अनुसारको निर्देशनअनुसार काम भईरहेको स्वयम् व्यापारीहरु बताउँछन् । गुणस्तरहीन ठहर भएका ब्याचका चाउचाउ बिक्री भईसक्यो, खानेले खाईसके भनेर ती चाउचाउ रातारात पहाडतिर पठाइएको छ । जसरी हुन्छ पैसा कमाऊ, बाँकी सबैलाई हामी मिलाउँला भन्ने सन्देश कम्पनीबाट आएपछि अहिले सस्तोमा दिएर हुन्छ कि पहाड तिर पठाएर हुन्छ, गुणस्तरहीन चाउचाउ बेचेरै छाड्ने लाइनमा कम्पनी छ । अव पहाड तिर कसले ब्याच हेर्ने, कसले गुणस्तरका कुरा सुन्ने भन्ने छ कम्पनीलाई । कम्पनीको यो बदमासीतिर सरकारको ध्यान गएकै छैन ।

बेच्नेले त गुणस्तरहीन करेन्ट चाउचाउ बेच्यो, पैसा कमायो । सो चाउचाउ खानेले पनि एक लट मिठो मानेर खायो, पेट गडबढ भईहाल्यो भने पनि पिरो खाँदा यस्तै हो भनेर चित्त बुझायो बस्यो । तर गुणस्तरहीन चाउचाउ मन्द विष हो, र त्यो चाउचाउले कतिसम्म असर गर्छ भन्ने तथ्य धेरैले बुझेकै हुँदैनन् ।

१. करेन्ट चाउचाउ खाएर स्किन केयर गर्नु भनेको डाइटिङ्गमा बसेका बेला ३ प्लेट मम खाए जस्तै हो, जसको कुनै तुक छैन । करेन्ट चाउचाउ खाने पनि विशेषगरी जेनजी समूहका युवतीहरु छन् । अनि स्किन केयरका नाममा दिनमा एक घण्टा ऐना अगाडि क्रिम दल्नेहरु पनि त्यहि समूहका छन् । डाक्टरहरुका अनुसार करेन्टजस्ता गुणस्तरहीन चाउचाउको सेबनले तुरून्तै रक्त ग्लुकोज र रक्त इन्सुलिन बढाइदिने गर्छ । जसका कारण एन्ड्रोजेन स्राव र तेल उत्पादन भई चाया, पोतो र डण्डीफोरको समस्या जन्माउँछ । त्यति मात्र होइन, चाउचाउ धेरै खानेमा एक्जिमा अर्थात छालाको एक किसिमको एलर्जीको समस्या पनि देखा पर्छ । अलि धेरै करेन्ट चाउचाउ खानेले अवदेखि करेन्ट खाएको केहि समय छालामा ख्याल गर्नु । दिनमा पिरो चाउचाउ खाएर राती स्किन केयरका नाममा पैसा र समय बर्बाद गर्नुको कुनै तुक छैन । समस्या तपाईंले प्रयोग गर्ने स्किन केयरमा होइन, तपाईंले खाएको चाउचाउमा छ ।

२. श्रीमती रिसाइन् भनेर करेन्ट चाउचाउ खुवाउनु त आगो निभाउन घ्यु हालेजस्तै हो । धेरैलाई थाहा नभएको कुरा के हो भने करेन्ट चाउचाउजस्ता गुणस्तरहीन प्रमाणित भएको चाउचाउ खाँदा महिलाहरुमा बढी मुड स्विङ्ग हुन्छ । यस्ता खानेकुरा खाँदा मस्तिष्क लगातार उत्तेजित भइरहने, तनाव, चिन्ता, नैराश्यता बढ्ने हुनाले पनि गुणस्तरहीन प्रमाणित भईसकेको करेन्ट चाउचाउ खाँदा ख्याल गर्नुपर्छ । यो विज्ञानले प्रमाणित गरेको तथ्य हो । नपत्याए डाक्टरका आर्टिकलहरु हेर्नुहोला, गुगल गर्नुहोला । च्याट जिपिटीलाई सोध्धा पनि भयो ।

३. उमेरमै बुडी देखियो भनेर ब्युटी पार्लर जाने अनि करेण्ट चाउचाउचाहिं दिनमा दुई प्याकेट खानेहरु मुर्ख हुन् । गुणस्तरहीन प्रमाणित भएका करेन्ट चाउचाउजस्ता जंक फुडले छिट्टै बुड्यौली देखाउँछ भन्ने तथ्य डाक्टरहरुले सार्वजनिक गरिसकेका छन् । यस्ता खाने कुरामा उच्च मात्रामा प्रयोग गरिएका नुन, र चिल्लोले विशेषतः क्रोमोजोमहरूको टेलोमेयर भनिने सीमावर्ती ढक्कनलाई छोट्याउने गर्छ । टेलोमेयरको मुख्य काम भनेको क्रोमोजोमलाई विकृत हुन र अन्य क्रोमोजोमसँग प्रतिक्रिया गर्न नदिएर जिनहरूको रक्षा गर्नु हो । यदि टेलोमेयर छोट्टिंदै गयो भने हाम्रो कोषहरू बुढो हुँदै जाने र छिट्टै बुढ्यौली सुरू हुने समस्या देखिन्छ भनेर डाक्टरहरुले नै भनेका छन् । गुणस्तरहीन करेन्ट चाउचाउ धेरै खानेहरुलाई पनि यो समस्या देखिने सम्भावना बढी देखियो ।

४. तपाईंले क्यान्सर भएको मान्छेको हरिबिजोग देख्नुभएको छ ? ओहो, देख्नु पनि नपरोस् । यो घातक रोगले मान्छे सिधयाउँछ । र दुखका साथ भन्नुपर्छ तपाईंले पिरो, मिठो मानेर खाईरहेको त्यो गुणस्तरहीन प्रमाणित भएको करेन्ट चाउचाउले क्यान्सरको सम्भावना पनि बढाउने तथ्य डाक्टरहरु बताईरहेका छन् । गुणस्तरहीन प्रमाणित भएको करेन्ट चाउचाउजस्ता जंक फुड खाँदा शरीरमा इन्फ्लामेसनलाई बढाइदिने हुँदा क्यान्सरको जोखिम बढ्छ । यसले ठूलो आन्द्रा र मलाशयको क्यान्सर, श्वासमार्गको क्यान्सर, फोक्सोको क्यान्सर, मुख, नाक, जिब्रो, घाँटी, स्वरयन्त्र, आमाशयको क्यान्सर हुने डर हुन्छ । आफूले त खाने नखाने आफ्नो इक्षा हो, तर तपाईंको लापरवाहीले बच्चा केटाकेटीले दुख पाउनु हुँदैन । त्यसैले गुणस्तरहीन करेन्ट चाउचाउदेखि बच्चा केटाकेटीलाई टाढै राखेको राम्रो ।

५. झट्ट सुन्दा सामान्यजस्तो तर गम्भीर । करेन्ट चाउचाउले देशले बनाएको नीति नियम मान्दैन, जवर्जस्ती गुणस्तरहीन खुवाउन खोज्छ, किरै किरा परेको चाउचाउ बेच्छ, बदमासी गर्छ भने यो चाउचाउ आफू नखाने मात्र होइन, सबैलाई यसबारे सचेतना फैलाउन पनि आवश्यक छ । यो तपाईं हाम्रो कर्तव्य पनि हो । गुणस्तरहीन करेन्ट चाउचाउ खाँदा जसलाई क्यान्सर भए पनि, जसलाई छालाको रोग लागे पनि, जसलाई जे जस्तो असर गरे पनि ती हाम्रै दाजुभाई, दिदिबहिनी हुन्, अव यसरी पनि सोच्ने कि ।

हाम्रो ज्यान, हाम्रो इक्षा, गुणस्तरहीन देखिए पनि हामी त खाने हो त्यहि करेन्ट चाउचाउ भन्नुहुन्छ भने हामी तपाईंहरुलाई राम राम बाहेक केही भन्न सक्दैनौँ । बाँकी त छाला बिगारेर नराम्री देखिने गरी, क्यान्सरको जोखिम नै हुनेगरी, शरीर नै बिग्रिने गरी त्यहि गुणस्तरहीन करेन्ट चाउचाउ खानुहुन्छ भने कसैले केही भन्न सक्ने अवस्था पनि भएन । शरीर तपाईंको बिग्रने हो, करेन्ट चाउचाउवाला मालापानी कम्पनी, भनिरहनेछ, पिरो खाउ, थ्याङ्क यु भेरी मच । कि कसो ? (भिडियो)

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK