Skip to content
LAXMI SUNRISE BANK

‘इन्साइडर ट्रेडिङ’मा मुछिए व्यवसायी भट्ट, झण्डै ४ अर्बको उधारो कारोबार ! (भिडियो ब्रिफिङ)

अर्थ सरोकार

काठमाडौँ । नेपालीमा एउटा उखान छ, ‘पाप धुरीबाट कराउँछ’ । नभन्दै यसपाली आफूलाई सत्ता सञ्चालनदेखि व्यवसायीक साम्राज्यको ‘मास्टर माइन्ड’ सोच्ने दीपक भट्टको पाप धितोपत्र बोर्डको अनुसन्धान प्रतिवेदनबाट कराएको छ । एउटा यस्तो पात्र, जसले चाहे सत्ता चलाउन र ढाल्न सक्छ भन्ने चर्चा बजारमा थियो । धेरैका लागि पत्याउन गाह्रो होला । तर, सरकारीदेखि राजनीतिक नियुक्तिका लागि पैसाको बिटो बोकेर भट्टको घर नपुगेका सायदै होलान् । र त्यही शक्ति र घमण्डले भित्रभित्रै अपराधको साम्राज्य खडा गरेका भट्ट आज ‘एक्सपोज’ भएका छन् ।

जोगाउँदा–जोगाउँदै, लुकाउँदा–लुकाउँदै, भट्टले बुनेका आपराधिक गतिविधिका जालोहरु एक–एक गरी छताछुल्ल हुँदैछन् । यसो त भट्टको छवि विगतमै पनि त्यति राम्रो भने होइन । उनी हिजो पनि विवादित नै थिए । तर, ‘सरकार नै मैले बनाएको हो’ भन्ने दम्भ पाल्ने भट्टलाई कसले छुने ? यतिसम्म कि तत्कालीन सरकारका पालामा विभिन्न नियुक्तिमा धारे हात गर्नेहरु भट्टकै आशिर्वाद पाएर नियुक्ति पाउने गर्थे । एमाले, काँग्रेस, माओवादीका शीर्ष नेताहरुसँग यीनको राम्रै उठबस थियो । र त नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से), नेपाल बीमा प्राधिकरण लगायतका नियामकीय निकायमा हुने नियुक्तिमा सबैभन्दा पहिला नाम दीपक भट्टकै आउँथ्यो । बिचौलियाका रुपमा कहलिएका भट्टकै कारण नियुक्ति पाउनेहरुले उनै भट्टमाथि कारवाहीको डण्डा चलाउन सक्दैनथे । र त उनी अहिलेसम्म जोगिँदै आएका थिए । तर, बिचौलिया र भट्टजस्ता भाइरस मन नपराउने बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बनेपछि भट्टका उल्टो दिन सुरु भएका छन् ।

बाहिर व्यवसायीको आवरण, भित्रभित्रै ‘माफियागिरी’ गरिरहेका भट्ट ‘इन्साइडर ट्रेडिङ’ जस्तो गम्भीर अपराधमा संलग्न रहेको खुलासा भएको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा भट्ट पक्राउ परेसँगै सम्पत्ति शुद्धीकरण विभागको पत्रअनुसार नेपाल धितोपत्र बोर्डले गरेको अनुसन्धानबाट व्यवसायी भट्टले ‘इन्साइडर ट्रेडिङ’ गरेको खुलासा भएको हो । उक्त अनुसन्धानले भृकुटी स्टक ब्रोकर (ब्रोकर नम्बर ५५) सँगको मिलेमतोमा इन्फिनिटी होल्डिङ्सका सञ्चालक भट्टले सेयर बजारमा ‘इन्साइडर ट्रेडिङ’ गरेको निष्कर्ष निकालेको छ । उक्त कार्यमा व्यवसायीहरु सुलभ अग्रवाल, राजबहादुर शाह, ऋषिराज मोर र शेखर गोल्छासमेतको संलग्नता देखिएको अनुसन्धानले देखाएको छ ।

‘इन्साइडर ट्रेडिङ’ सेयर बजारको क्यान्सर हो । बाहिर ठिकठाकजस्तो देखिने, भित्रभित्रै हाड–मासु–मन–मस्तिष्क सबै खोक्रो पार्ने । र त्यही क्यान्सर पालेर अरुलाई ग्रसित बनाउँछु भनेर बसेका भट्ट आज आफैँ ग्रसित छन् । हुन त योबीचमा भट्टले कतिलाई रोडमा पुर्याए, कतिको घर उजाडे, कतिलाई डिप्रेसनमा पुर्याए वा कतिलाई मर्नसम्म बाध्य बनाए होलान् भन्ने कुरा अहिलेका लागि अनुमान मात्र गरौँ । तर, यति चाहिँ दाबी गर्छौ, भट्टजस्ता भाइरसकै कारण सयौँ नागरिक सेयर बजार मात्र होइन, देश छोड्न बाध्य भएका छन् ।

भट्टको बदमासी यति मात्र होइन, उनले ब्रोकर नम्बर ५५ सँगको मिलेमतोमा नियम विपरीत ३ अर्ब ८० करोड रुपैयाँ बराबरको उधारोमा सेयर खरिद गरेको पनि खुलासा भएको छ । २०८२ साउन ५ देखि चैत १ गतेसम्म भट्टलगायतले करिब ३ अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर खरिद गरेको देखिन्छ । जसमध्ये उनले ९३ करोड रुपैयाँको सेयर बिक्री गरेका छन् । तर, उक्त समयमा भट्टले ब्रोकरलाई भने कुनै पनि रकम नतिरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । जसमध्ये सबैभन्दा धेरै उधारो व्यवसायी दीपक भट्टको नाममा २ अर्ब ७३ करोड ३३ लाख १५ हजार रुपैयाँ रहेको बोर्डको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, भट्टका साझेदार राजबहादुर शाहले पनि ८९ करोड ७० लाख रुपैयाँ तिर्न बाँकी देखिएको छ ।

यता सुबी अग्रवालले पनि ६२ करोड ८९ लाख रुपैयाँ र ऋषिराज मोरले २३ करोड १ लाख रुपैयाँ ब्रोकर नं. ५५ लाई तिर्न बाँकी छ । अर्कोतर्फ हिमालय इन्भेष्टमेन्ट बैंकर लिमिटेडका नाममा पनि २२ लाख रुपैयाँ उधारो कारोबार भएको बोर्डको प्रतिवेदनमा उल्लेख छ । अर्कोतर्फ भट्ट र ब्रोकरको मिलेमतोमा बजारमा कृत्रिम माग सिर्जना गरिएको पनि अनुसन्धानबाट खुलेको छ । भट्टले इन्फिनिटी होल्डिङ्स, हिमालयन रि–इन्स्योरेन्स, हिमालयन क्यापसर्भ र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको समन्वयमा उक्त योजना अघि बढाएको पनि बोर्डको प्रतिवेदनमा उल्लेख छ । उक्त कार्यमा भट्टले अन्य केही वित्तीय संस्था, फण्ड र व्यक्तिको पैसासमेत प्रयोग गरेको देखिएको छ ।

यहाँ अर्बौं अर्ब रुपैयाँ उधारो कारोबार गर्ने भट्ट मात्र दोषी छैनन्, उनलाई उधारो कारोबार गर्न दिने ब्रोकर नं. ५५ अर्थात भृकुटी स्टक ब्रोकर पनि उत्तिकै दोषी छ । आम लगानीकर्तालाई २४ छोडेर २५ घण्टा हुँदादेखि नै र्याखर्याख्ती पार्ने ब्रोकरले यी बिचौलियालाई भने अर्बौंको उधारो कारोबार गर्न दिनु अपराध नभए के हो ? सेयर बजार र ब्रोकर बिचौलियाका लागि मात्र हो ? कि सेयर बजारमा बिचौलिया र आम लगानीकर्ताका लागि छुट्टाछुट्टै नियम छन् ? होइन, भने आम लगानीकर्ता मारेर बिचौलिया पोस्नेलाई पनि कारवाहीको दायरामा ल्याउन जरुरी छ । नभए भट्टजस्ता भाइरसले फैलिनका लागि प्रशस्तै ठाउँ पाउँछन् ।

अर्कोतर्फ बोर्डको अनुसन्धान प्रतिवेदनले भट्ट लगायतले नेपाल रि–इन्स्योरेन्सको मूल्य सेयर खरिद–बिक्री नै नगरी १ हजार ४ सय ६१ बाट १ हजार ८ सय ८६ सम्म पुर्याएको निष्कर्ष निकालेको छ । यता हिमालयन रि–इन्स्योरेन्सबाट १ हजार ८० रुपैयाँमा खरिद गरेको ऋणपत्र भट्टले आफ्नै स्वामित्व रहेका गार्डियन माइक्रो लाइफ र क्रेस्ट माइक्रो लाइफलाई १ हजार १ सय ८५ रुपैयाँमा भिडाएकोसमेत अनुसन्धानबाट खुलेको छ । बोर्डले गरेको अनुसन्धानमा भट्ट लगायतले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९६ र ९८ अनुसार (बजारमा भ्रम सिर्जना गर्ने, कृत्रिम मूल्य बढाउने, लगानीकर्ता झुक्याउने) को कसुर गरेको दाबी गरिएको छ ।

दिउँसै रात पार्न खोज्ने यस्ता भाइरस बजारमा भएपछि बजार कसरी उँभो लाग्छ ? अनि कठै ! केही लगानीकर्ताका मसिहा बन्ने संगठनहरु बजार घट्नेबितिकै सरकारलाई दोष दिँदै सिंहदरबार घेर्न पुग्छन् । तर, यसरी बजारलाई भित्रभित्रै खोक्रो पार्ने धमिराका बारेमा उनीहरुको मुखबाट चुइक्क शब्द निस्किँदैन । यति भनेपछि, ‘तिमी नै जान्ने रहेछौ’ भन्दै कमेन्टमा रोइलो गर्न फेरि उनीहरु नै आइपुग्छन् होला । गर्नुस्, हामीलाई केही फरक पर्दैन । यतिचाहिँ जरुर भन्छौँ, बजार सबैको हो, बजारमा यस्ता धमिरा र भाइरस रहुन्जेल जस्ता नीति आए पनि, गए पनि आम लगानीकर्ताले भोग्नुपर्ने पीडा नै हो । त्यसैले यो विषयमा अझै गम्भीर रुपमा छानबिन होस्, दोषीमाथि हदैसम्मको कारवाही होस् । (भिडियो)

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK