Skip to content
LAXMI SUNRISE BANK

सुदाम प्रसाद गौतमद्वारा लिखित ‘ज्योतिर्गमय’ नामक पुस्तक सार्वजनिक ! (तस्विरहरू)

मंजिला पाण्डे

काठमाडौँ। सुदाम प्रसाद गौतमद्वारा लिखित ‘ज्योतिर्गमय’ नामक पुस्तक सार्वजनिक भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौँमा जेठ ४ गते सुदाम प्रसाद गौतमद्वारा लिखित ‘ज्योतिर्गमय’ नामक पुस्तक औपचारिक रूपमा सार्वजनिक भएको हो।

लेखक सुदाम प्रसाद गौतम लामो समयदेखि शिक्षा क्षेत्रसँग आबद्ध रहँदै आएका व्यक्तित्व हुन् । गौतमले शिक्षालाई केवल पाठ्यपुस्तकमा सीमित नभई समाज रूपान्तरणको आधारका रूपमा व्याख्या गर्दै आएका छन् ।

यता उनले आफ्नो सामाजिक संजाल फेसबुकमा पनि मेरो एक वर्षको अथक मेहनतले मूर्त रूप लिएको पुस्तक ‘ज्योतिर्गमय (सपना, जागरण र परिवर्तन)’ तपाईंहरूसामु प्रस्तुत गर्न पाउँदा अत्यन्त हर्षित भएको जनाएका थिए। उनले भने, मेरो एक वर्षको अथक मेहनतले मूर्त रूप लिएको पुस्तक ‘ज्योतिर्गमय (सपना, जागरण र परिवर्तन)’ तपाईंहरूसामु प्रस्तुत गर्न पाउँदा अत्यन्त हर्षित छु।
४५० पृष्ठको यो कृति केवल शब्दहरूको सङ्ग्रह होइन, यो देशका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरूको भ्रमण, पाँच विकसित राष्ट्रहरूको शैक्षिक प्रणालीको अवलोकन, सरोकारवालासँगको गहिरो संवाद, र शिक्षाप्रतिको निरन्तर चिन्तन तथा खोजको जीवित यात्रा हो। हजारौँ प्रश्नको उत्तर खोज्ने क्रममा मैले यस पुस्तकमा शिक्षाको मर्मान्तक चिरफार गर्ने प्रयास गरेको छु । समाजको ऐना हेर्ने प्रयत्न गरेको छु र आफ्नै अज्ञानतालाई पनि निडरतापूर्वक प्रश्न गरेको छु । म चाहन्छु, मेरो प्रस्तावनामा पाठकले ‘सहमत छु वा छैन’ भन्नुभन्दा पहिले ‘म सोच्दै छु कि छैन’ भन्ने प्रश्न सोध्न सकून् । असहजता नै परिवर्तनको प्रारम्भिक अवस्था हो । यदि यो पुस्तकले शिक्षकलाई आफ्नो भूमिकाबारे, नीति निर्मातालाई निर्णय गर्दा दीर्घकालीन प्रभावबारे र विद्यार्थीलाई आफ्नो उद्देश्यबारे सोच्न बाध्य बनायो भने मेरो प्रयास सफल भएको ठान्नेछु । यो पुस्तक नेपालका लाखौँ शिक्षक, विद्यार्थी, कर्मचारी र सचेत नागरिकको मनको धड्कन हो । उनीहरूको अनुभव र योगदानको प्रतिफल हो ।’

उनले थप भने, ‘कैयौँ चुनौतीका बाबजुत पनि सामुदायिक विद्यालयलाई उत्कृष्ट बनाउन दिलोज्यानले दिनरात खटिरहेका सम्पूर्ण शिक्षक साथीहरूका लागि मेरो यो पुस्तक समर्पित छ । निकै कम स्रोत, साधन, सेवा सुविधाका बाबजुत पनि आफ्नो सेवामा निरन्तर लाग्ने तिनै शिक्षक साथीहरूको अनुभव र लगाव नै यो पुस्तकको प्रेरणा हो । साथै स्वयंसेवीभावमा सामुदायिक विद्यालयको व्यवस्थापनमा लागिपरेका देशभरका विद्यालय व्यवस्थापन समिति, विद्यालयको स्तर सुधार्न विविध नमूना कार्ययोजना ल्याइरहेका स्थानीय तह र विद्यालयको नेतृत्व गरिरहेका मेरा प्रिय प्रधानाध्यापक साथीहरू सबैलाई हार्दिक धन्यवाद दिन्छु । यो पुस्तक लेखन तथा सम्पादनमा मेरा अनन्य मित्र प्रभात चलाउनेले ठूलो गुण लगाउनुभएको छ । उहाँको अथक मेहनत विना पुस्तक सम्भव थिएन । उहाँको आत्मीयता र मेहनतलाई हार्दिक धन्यवाद दिन्छु । मलाई सधैं केही गर्न प्रेरणा दिइरहने मेरो जीवनसाथी प्रभा चौलागाईं र मेरो परिवारका सबैलाई हार्दिक धन्यवाद नदिइरहन सक्दिन । अब पुस्तक तपाईंहरूको हातमा छ । यसमा रहेका त्रुटीहरूलाई औंल्याएर रचनात्मक सुझाव दिई आगामी संस्करणमा सुधारका लागि सहयोग पुऱ्याउन आदरणीय पाठकहरूलाई विनम्र आग्रह गर्दछु ।’

‘ज्योतिर्गमय’ पुस्तकमा पनि समाजमा विद्यमान विकृति, अन्याय, अन्धविश्वास, चेतनाको अभाव तथा परिवर्तनको आवश्यकता जस्ता विषयलाई गहिरो ढंगले प्रस्तुत गरिएको बताइएको छ ।

पुस्तकको शीर्षक ‘ज्योतिर्गमय’ स्वयंले अन्धकारबाट उज्यालोतर्फको यात्रालाई संकेत गरेको छ। लेखकका अनुसार पुस्तकले मानिसलाई आत्मचिन्तन, सामाजिक उत्तरदायित्व र सकारात्मक परिवर्तनतर्फ प्रेरित गर्ने उद्देश्य राखेको छ । पुस्तकमा शिक्षा, नैतिकता, मानव चेतना, सामाजिक उत्तरदायित्व तथा राष्ट्र निर्माणसँग सम्बन्धित विविध विचार र अनुभूतिहरू समेटिएका छन् ।

लेखक गौतमले पुस्तकले पाठकमाझ नयाँ सोच र चेतनाको बहस सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन् । उनले समाज परिवर्तनका लागि शिक्षा नै सबैभन्दा शक्तिशाली माध्यम भएको उल्लेख गर्दै पुस्तकमार्फत युवापुस्तालाई सकारात्मक सोच, अनुशासन र सामाजिक उत्तरदायित्वतर्फ प्रेरित गर्ने प्रयास गरिएको बताएका छन्  ।

कार्यक्रमका आयोजकले सम्पूर्ण शिक्षक, विद्यार्थी, साहित्यप्रेमी तथा सरोकारवालाहरूलाई कार्यक्रममा उपस्थित भएर कार्यक्रमको गरिमा बढाइदिएको आभार व्यक्त समेत गरेका थिए।

कार्यक्रममा पुस्तक खरिद तथा लेखकसँग प्रत्यक्ष संवादको व्यवस्था पनि रहेको थियो। तस्विरमा हेर्नुहोस् कार्यक्रमका खास झलक:

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK