Skip to content
LAXMI SUNRISE BANK

रमपम चाउचाउ खानेहरु होसियार !, अखाद्य प्रमाणित, बजारबाट फिर्ता गर्न सरकारको निर्देशन ! (भिडियो ब्रिफिङ)

अर्थ सरोकार

काठमाडौँ । रमपम । यो चाउचाउको कुनै बेला यस्तो चलेको ब्राण्ड थियो, कि मानौँ चाउचाउ भनेकै रमपम थियो । यही नाममा ठाउँ ठाउँमा चटपटे दुकानहरु चले । अझ, गाउँतिर त सुप खाने भन्ने बित्तिकै रमपम बनाइदिनुहोस् भन्ने चलन थियो । विशेषगरी पकाएर सुप खान होस् वा फुक्का, रमपम कुनै बेला धेरैको रोजाइ थियो । रमपम यतिसम्म प्रिय बनेको थियो कि कुनै बेला ठाउँ ठाउँमा खुलेका रमपम चटपटे चर्चित बने । तर अफसोस, यही रमपम चाउचाउ खानै नहुने चाउचाउ रहेको प्रमाणित भएको छ । रमपमको ए/२३ सीटु ब्याचका चाउचाउ अखाद्य मात्र प्रमाणित भएको छैन, बरु ती चाउचाउ अव बजारबाट फिर्ता ल्याउन खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले निर्देशनसमेत दिएको छ । अहिलेलाई ब्याच नम्बर ए/२३ सीटु को चाउचाउ बजारमा बिक्री नगर्नु, र तत्काल फिर्ता पठाउनु भनिएको छ । तर प्रश्न र तथ्य यहाँ पनि छ कि, एउटा स्याम्पल परीक्षण गर्दा सो चाउचाउ गुणस्तरहीन भेटियो भने अव अरु चाउचाउ परीक्षण नै नगरी ठिक छ भन्न सकिने ठाउँ छ र ? के स्वस्थमा यो खालको रिस्क लिनु ठिक होला र ?

भुक्लुक्क उमाल्यो, पुक्लुक्क खायो, यही कारण पनि रमपम खाजाको सरल विकल्प थियो । भोक लाग्यो, पसल गयो, रमपम र पानी किन्यो, खायो, हिँड्यो । यो धेरैको सहज दैनिकी थियो । तर, अव यो बानी भोलि होइन, आजै । आज होइन, अहिल्यै नसुधार्ने हो भने शरीरमा जुनसुकै बेला जस्तो रोग पनि लाग्न सक्छ । सरकारी निकायले नै खान हुँदैन भनिसकेपछि खानै अरु केही नभएजस्तो वा चाउचाउ बाहेक अरु केही खानै नपाएजस्तो गरियो भने त्यसले गम्भीर मात्र होइन, धेरै गम्भीर स्वास्थ्य संकट निम्त्याउन सक्छ ।

संसारमा सबैभन्दा ठुलो धन बनेकै स्वस्थ शरीर हो । शरीर नै बिग्रिएपछि बाँकी के नै रह्यो र ? त्यसैले, सरकारी निकायले नै गुणस्तरहीन प्रमाणित गरिदिएपछि अव एक पोको चाउचाउका नाममा कसैले पनि आफ्नो शरीर बन्धक राख्नु हुँदैन । नहुँदासम्म पो केही भएन, बिरामी परेपछि त सकिइहाल्यो नि । त्यसैले गुणस्तरहीन प्रमाणित भएको रमपम नखाएकै राम्रो । यसो त चाउचाउ नै नखाएको झनै राम्रो । खानै परे पनि अव गुणस्तरहीन प्रमाणित भएका यी चाउचाउ नखाएकै राम्रो । 

अझ चाउचाउको लत बढी बच्चा केटाकेटीमा हुन्छ । बच्चालाई त झन् गुणस्तरहीन प्रमाणित भइसकेका चाउचाउ खुवाउने कुरै भएन । त्यसैले गुणस्तरहीन प्रमाणित भइसकेको रमपम बच्चाले किनिमाग्यो भने ब्याच हेरेर, रमपम होइन, नो नो भन्नुहोला । अझ बच्चाको स्वास्थ्य त यस्तो गुणस्तरहीन प्रमाणित भएको चाउचाउले झन् छिटो बिगार्छ । एकछिनको भोके खुसीले जीवनभर पछुताउनुपर्ने दिन आउन सक्छ, ख्याल गर्नुहोला ।

अव बुझौँ, के गुणस्तरहीन चाउचाउहरु गुण नियन्त्रण कार्यालयले निर्देशन दिएजस्तै फिर्ता हुन्छन् त ? यसको सहज जवाफ हो, यसअघि धेरै हदसम्म हुँदैनथिए । यसपाली नयाँ र कडा सरकार छ, नियमन पनि कडा नै भयो भने फरक कुरा, नत्र यसअघि, जव चाउचाउहरु गुणस्तरहीन प्रमाणित हुन्थे, चाउचाउ कम्पनी लाज छोप्न भन्थे- ‘यो ब्याच गुणस्तरहीन देखिएको सत्य हो, तर अरु खाए हुन्छ ।’ अनि रातारात ती गुणस्तरहीन प्रमाणित भएका ब्याचका चाउचाउ कि सस्तोमा चटपट वालालाई भिडाईइन्थ्यो, कि गाउँघरतिर पुर्याइन्थ्यो । अझ गाउँघरमा पनि होटलमा पुर्याइन्थ्यो । चाउचाउ पाकिसकेपछि वा पकाउनुअघि होटलवालाले ब्याच नम्बर हेर्दैनन्, ग्राहकले हेर्ने त कुरै भएन ।अनि त, आज चट्पट, भोलि बिहानै छट्पट हुन्थ्यो । होटलको खानामा के बिग्रियो, बिग्रियो भन्ने हुन्थ्यो, तर खाइएको चाउचाउ गुणस्तरहीन प्रमाणित भइसकेको हुन्थ्यो । अझ कतिपय अवस्थामा यस्ता चाउचाउ फोरेर, विना ब्राण्डको प्याकेटमा प्याक गरेर बेचिने गरेको पनि हुन्थ्यो । रमपमको हकमा पनि गुणस्तरहीन प्रमाणित भएका चाउचाउका प्याकेटहरु फिर्ता ल्याउनुको परको कुरा, छिटो छिटो बेचेर सक्ने काम भएको छ । अर्थात् रमपमले सरकारी निर्णय अटेर गर्दै जनस्वास्थमाथि गम्भीर खेलबाड गरेको छ ।

नेपालमा यति धेरै चटपटे लभर छन्, कि मानौं उनीहरुका लागि सबैभन्दा खुसीको कुरा नै चटपटे हो । यस्ता मान्छे त झन् कति छन् कति जो हप्तामा एक दिन चटपटे खान पाएनन् भने, ३ महिनासम्म तलव नपाएको कर्मचारीजसरी झोक्रिन्छ । चटपटे खान आइजो भनेपछि काम धन्दा सबै छोडेर कुदिहाल्छ । रिसाएको मान्छे पनि चटपटे खान पाएपछि मुसुक्क मुस्कुराउँछ । चटपटे भनेपछि चटपटे बनाउने अङ्कल पनि आफ्नै गाउँको दाईजस्तो प्यारो हुन्छ । भुजामा एक पोको चाउचाउ हाल्यो, मसला र पिरो हाल्यो, चना बदम थप्यो, अनि पीरो बनाएर कपाकप खायो । अनि यति चटपटे खाएपछि अफिसमा हाकिमको गाली पनि पच्छ, घरमा बाआमाको अर्ती पनि बिर्सिन्छ । तर अव ती चटपटे लभरहरुले ख्याल गर्नुपर्ने बेला भएको छ – कतै त्यो चटपटेमा गुणस्तरहीन प्रमाणित भएको यही रमपम चाउचाउ त प्रयोग भएका छैनन् ? धेरैको तर्क हुन्छ, अव चटपटे खान थालिसकेपछि बाटोमा आफ्नै ब्याचको साथी आयो भने त कसैले बाल दिंदैन भने, चाउचाउको ब्याच कसले हेर्छ यार ? हो, तपाईंको यही मनोविज्ञानमा खेलेर बिक्री हुन सक्छ गुणस्तरहीन प्रमाणित भएका चाउचाउ । अनि आज चट्पट, भोलि छट्पट, पर्सी अस्पताल झटपट, त्यसपछि अस्पतालको बिल तिर्न हजारहजारका नोट खटखट, पैसा तिर्ने बेलामा पसिना चटचट, बिरामी भएर ज्यान भटभट भयो भने त बिजोग रमाइलो भएन र ? त्यसैले नाखानुस होइन, खानुस, तर गुणस्तरहीन प्रमाणित नै भईसकेपछि ती चाउचाउहरु चाहिं नखानुस् ।       

अव हिजो के भयो भन्ने तिर नलागौँ, तर आज गुणस्तरहीन प्रमाणित भएको रमपम चाउचाउहरु कतै बिक्री त भईरहेका छैनन् भन्ने कुरामा खबरदारी गरौँ । स्वास्थलाई मन्द बिष बराबर हुने ती गुणस्तरहीन प्रमाणित भइसकेका चाउचाउलाई फिर्ता गरेर नष्ट गर्ने कुरामा जनाताकै तहबाट सहयोग गरौँ । एउटा ब्याच भनेको केही प्याकेट होइन, ट्रकका ट्रक चाउचाउ हो । सम्झनुस त, यति धेरै गुणस्तरहीन चाउचाउ हाम्रो र हाम्रा आफन्तीको शरीरमा पर्यो भने के हुन्छ ? यसले अस्पताललाई धनी बनाउने काम बाहेक अरु केही हुन्छ ? अझ अस्पतालमा पनि साउन १ गतेदेखि त कर लागेको छ । अस्पताल जानुपर्यो भने २-३ कार्टुन चाउचाउ किन्ने पैसा त कर नै जान्छ, खर्चबर्चको हिसाब नै नगरौं । सचेत बनौँ, स्वस्थ बनौँ । स्वास्थ्य नै धन हो भन्ने ३ क्लासमा पढेको अर्तीलाई ख्याल गरौँ, पाएको एकपटकको जिन्दगी हो, एक पोका गुणस्तरहीन चाउचाउको झोल वा खोलमा नबिगारौँ ।

रमपम चाउचाउ त गुणस्तरहीन प्रमाणित भइसकेको छ । यही कम्पनीले उत्पादन गर्ने अर्को चाउचाउको टुपीएम । टुपीएम चाउचाउ पनि त आखिर उही ठाउँमा बनेको भनेपछि त्यसको गुणस्तरमा प्रश्न उठाउन मिल्ने भयो । गुण नियन्त्रण कार्यालयले टुपीएमका चाउचाउका प्याकेटहरुमाथि पनि अनुसन्धान गरोस् । गुणस्तरहीन प्रमाणित भइसकेका रमपम चाउचाउ धेरै बेचिसकिएको छ, अझै कति ठाउँमा बेचिराखिएको छ, यो गम्भीर विषयमा ख्याल गरौँ । (भिडियो)

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK