Skip to content
LAXMI SUNRISE BANK

कुखुराको मासुको खपत घट्यो, मटनको भाउ ह्वात्तै बढ्यो !

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँसहित विभिन्न जिल्लाहरुमा कुखुराको मासुको खपत घटेको छ । कुखुरामा बर्डफ्लु संक्रमण भेटिएपछि कुखुराको मासुको खपत ह्वात्तै घटेको हो । 

पशुसेवा विभागका अनुसार हाल काठमाडौँसहित ११ जिल्लामा बर्डफ्लुको संक्रमण देखिएको छ । विभागका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासी लगायतका जिल्लामा बर्डफ्लुको संक्रमण देखिएको हो । 

कुखुरा, हाँस, बट्टाईलगायतका पन्छीमा बर्डफ्लुको संक्रमण भेटिएपछि विभागले संक्रमण भएका पन्छीको बिक्रीवितरणमा रोक लगाएको छ । 

साथै, संक्रमण भेटिएका पन्छी बिक्री वितरण गरे कारवाही गर्ने चेतावनी समेत विभागले दिएको छ । त्यस्तै, विभागले बर्डफ्लुको संक्रमण थप फैलिन नदिन र संक्रमणबाट जोगिन उच्च सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

यसरी कुखुरामा बर्डफ्लु संक्रमण भेटिएपछि कुखुराको मासु खानेहरु घटेका छन् । ‘केही दिनदेखि मासुको बिक्री घटेको छ ।’, कोटेश्वरमा मासु पसल सञ्चालन गरिरहेका एक व्यवसायीले भने, ‘बर्डफ्लुको संक्रमणले मासुको खपत र व्यापार दुवै घटाएको छ । तर खसीको मासु बिक्री भने बढेको छ ।’

कुखुराका मासु सेवन गर्नेहरु पनि मटनमा ‘सिफ्ट’ भएपछि अहिले मटनको भाउ ह्वात्तै बढेको छ । पछिल्लो केही सातामै मटनको भाउ प्रतिकिलो ३ सय रुपैयाँसम्मले बढेको छ । सामान्यतया दशैँअघि सस्तो हुने मटनको भाउ कुखुरामा बर्डफ्लु संक्रमणका कारण खपत बढेपछि भाउ बढेको व्यवसायीहरुको भनाई छ । भाउ अझै बढ्न सक्ने अनुमान गरिएको छ । हाल मटनको भाउ प्रतिकेजी १४ सय रुपैयाँदेखि १६ सय रुपैयाँसम्म पुगेको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK