काठमाडौँ । रश्मी रिजाल । सानिमा क्यापिटलको जागिर, जागिरे श्रीमान्, घर, गाडी, परिवार । झट्ट हेर्दा उनी धेरै कमले जिउने कर्पोरेट जीवन बिताइरहेकी थिइन् । तर, अक्सर नदेखिने कर्पोरेट पीडा थियो सायद, कसैलाई भन्न नसकिएको तनावले भित्रभित्रै भक्कानो फुटेको थियो सायद । सायद, कसैगरी पार लगाउन नसकिने पीडाका बीच रश्मी मृत्युको विकल्प खोजिरहेकी थिइन् । तर सायद, केही सीप नलागेपछि उनले आफ्नै गाडीभित्र आफैंलाई जलाएर सिध्याइन् ।
जे नहुनु थियो, त्यो भयो । आफैँले आफ्नै प्राण त्याग्नु समस्याको समाधान हुँदै होइन, तर रश्मीले त्यही बाटो रोजिन् । अव प्रश्न उठेको छ, उनको निधनको मूल कारक चीज के हो ? उनले आफूलाई आफैँले मार्ने क्रूर, र निर्मम निर्णय गर्नु अघि के के भएको थियो ? यो तथ्य खोतल्दै जाँदा यस्तो फिल्मी शैलीको कहानी भेटिन्छ, जसले यो प्रकरणमा गहन अनुसन्धान आवश्यक छ भन्ने संकेत गर्छ । घटना हुनु अगाडिका केही केरकार र अफिसियल कामका नाममा गरिएका अनअफिसियल हर्कतले भन्छ- ‘रश्मीको कठोर निर्णय पछाडी पर्दाभित्रका लुकाइएका अर्को निर्मम कारण हुन सक्छ ।’
भएको के थियो ?
रश्मीका परिवारका सदस्यहरुले दिएको जानकारी अनुसार रश्मी गत शुक्रबार बिहान करिब ७ बजे आसपासमा कार्यालय जाने भनेर घरबाट निस्केकी थिइन् । तर, करिव १ बजे तिर सानिमा क्यापिटलका सिइओ विकास खनालले रश्मी अफिस नआएको जानकारी गराए । सिइओले फोन नै गरेर, त्यो पनि घरमा रश्मी नआएको खबर दिनु स्वाभाविक पक्कै थिएन । त्यसपछि घरमा रश्मी कहाँ गइन् ? भनेर हल्लाखल्ला सुरु भयो । रश्मी त अफिस नै जान्छु भनेर गएकी थिइन्, तर अफिसबाट हाकिमले फोन नै गरेर रश्मी अफिस नआएको खबर गरेपछि परिवारमा अस्वाभाविक चिन्ता बढ्नु स्वाभाविक नै थियो । अझ घटनाले अनौठो मोड त त्यो बेला लियो, जव रश्मी अफिस आएकी छैनन् भन्ने खबर आएको केही घण्टाभित्रै कम्पनीका सिइओ विकास खनालसहित तीन जनाको टोली रश्मीको घरमा छापामार शैलीमा पुग्यो, ल्यापटप र केही कागजात कहाँ छन् भनेर आत्तिएको भावमामा सोध्यो र ती कागज र ल्यापटप नभेटिएपछि फर्कियो ।
घर खानतलासी गर्न प्रहरीले बाहेक अरुले पाउँदैन । कारण र पुर्जी विना त प्रहरीले पनि पाउँदैन । तर, सानिमा क्यापिटलका कर्मचारीहरुले प्रहरीकै शैलीमा घर खानतलास गरेर फर्किए । त्यसपछि परिवारले प्रहरीमा फोन गर्यो । आफन्तहरुकहाँ फोन गरेर रश्मी आएकी छिन् कि भनेर सोधीखोजी गर्यो । तर कतै केही खबर आएन । रश्मी हराएपछि परिवारमा उग्र तनाव थियो । तर, यही तनावका बीच शनिबार बिहानै फेरी खनालसहितको टोली रश्मीको घर पुग्यो र प्रहरीकै खानतलासी शैलीमा ल्यापटप र केही कागज खोजी गर्यो । शनिबार त कार्यालय बिदा हुन्छ । तर, सानिमा क्यापिटलका कर्मचारी अस्वाभाविक रुपमा रश्मीको घर गएर खानतलासी गरे । स्थिति यस्तो थियो कि उनीहरुलाई रश्मीको खासै मतलव थिएन । मतलव थियो मात्र उनीहरुकै भाषामा महत्वपूर्ण कागजात र ल्यापटप ।
शनिबार काठमाडौंको तारकेश्वर नगरपालिका-१ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्रमा एमजीको कोमेट गाडी बेवारिसे फेला परेको कुरा प्रहरीसम्म पुग्यो । प्रहरीले खोज्दै जाँदा रश्मी त्यही गाडीको पछाडि सिटमा मृत अवस्थामा फेला परिन । कानुनी प्रक्रिया पूरा गरेर शव पोष्टमार्टमका लागि लगियो, र उनले आत्मदाह गरेको प्रमाणित भएपछि उनको शब बुझी परिवारले अन्त्यष्टी गर्यो । तर, रश्मीको ज्यान भन्दा ठुलो जसरी खोजिएको त्यो ल्याबटपमा के थियो ? गैरकानुनी रुपमा प्रहरीले झैं तलास लिने अधिकार हाकिम र उनको टोलीलाई कसले दियो ? मलामी जानेहरुबीच चर्चा मात्र यहि थियो- ‘घटना रहस्यमयी छ, विकास खनालसहितको टोलीमाथि सुक्ष्म अनुसन्धान हुनुपर्छ ।’
सीसीटीभी फुटेजबाट रिजालले आत्मदाह गरेको पुष्टि भए पनि आत्मदाहको कारण के हो भन्ने बुझ्न जरुरी भएको छ । परिवारले बिकास खनालसहित ३ जनाविरुद्ध किटानी जाहेरी दिएको छ । सोहि जाहेरीका आधारमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यो केसमा बिकास खनालसहित ३ जना कर्मचारी दुरुत्साहनमा दोषी भए जेल जानेछन् ।
हुन त प्रहरीले अनुसन्धान गरिरहेको छ नै । यसको निष्कर्ष अनुसन्धान सकिएपछि नै आउला । तर घटनाका बीच केही गम्भीर तथ्यहरु मननयोग्य देखिएका छन् ।
१. सानिमा क्यापिटलका सिइओ बिकास खनाललाई रश्मीको घर खानतलासी गर्ने अधिकार कसले दियो ? उनी किन यस्तो गैरकानुनी काम गर्न टोलीसहित रश्मीको घर पुगे ? आखिर त्यो ल्याबटपमा त्यस्तो डाटा के थियो, जसले बिकास खनाललाई यतिसम्म अत्यायो ? उनले महत्वपूर्ण कागज भनेर खोजेको कागजमा के थियो ? क्यापिटलभित्र मानिसको ज्यान भन्दा ठुलो कागज आखिर के नै हुन्छ र ? प्रश्न गम्भीर छ ।
२. सानिमा क्यापिटलका सीइओसहितको टोली रश्मीलाई खोज्न भन्दा बढी कागज र ल्यापबटप खोज्न बढी सक्रिय भयो । के मान्छेभन्दा ठुलो कुनै कागज हुन्छ ? जरुर हुँदैन र हुनु पनि हुँदैन । यसले यो घटनाभित्र केही गम्भीर कुरा लुकेको संकेत गर्छ ।
३. सानिमा क्यापिटलका सिइओ विकाश खनाल यसअघि पनि तत्कालीन कुमारी बैंकको किर्ते प्रकरणमा जोडिएका व्यक्ति हुन् । १९ करोड ऋण किर्ते कागजउपर दिएको प्रक्रियामा उनको पनि संलग्न देखिएको थियो । तर त्यो बेला, उनीविरुद्ध हुनुपर्नेजति अनुसन्धान नै भएन । कतै त्यो बेला जोगिएको बिगतको कन्फीडेन्सले यसपटक उनले त्यस्तै गल्ती त गरेनन् ? खोजिनुपर्ने तथ्य र हेरिनुपर्ने एंगल यो पनि हो ।
४. रश्मीको शब भेटिने बित्तिकै उनी सेयरबजारमा डुबेर यस्तो निर्णयमा पुगेको भन्दै मिडिया ट्रायल कसले गर्यो ? जवकि उनको सेयरको दोश्रो बजारमा खासै लगानी नै थिएन । अनि उनको लगानी थिएन भनेर सामाजिक संजालका ग्रुपहरु प्रष्टीकरण दिने कर्मचारी रश्मीकै घर खानतलासी गर्न किन गएका थिए ? सामाजिक संजालमा उनको सेयर बजारमा खासै लगानी थिएन भन्ने जनाकारी दिएका कर्मचारी एकाएक त्यसपछि गायब किन भए ? प्रश्न यो घटनाक्रममा पनि उठेको छ ।
५. सानिमा क्यापिटल यसअघि पनि पटक पटक अनेक विवादमा तानिँदै आएको कम्पनी हो । विवादै विवादका बीच अर्को विवादित मान्छेलाई सिइओ बनाइएको तथ्यसँग रश्मीको निर्मम निर्णय त जोडिएको छैन ? सोधीखोजी यसरी पनि सुरु गर्नुपर्ने देखिन्छ ।
रश्मीले जे गरिन्, त्यो पूर्ण रुपमा गलत गरिन् । तर रश्मीको निर्णय, रश्मीको आवेग भन्दा बढी सो कल्ड कर्पोरेटमा हुने बेइमानी र धोकाधडीसँग जोडिएको हुनसक्छ । कर्पोरेटका नाममा दिइने अनावश्यक मानसिक यातना रश्मीको प्राणत्यागको कारण हुन सक्छ । यसविषयमा सुक्ष्म अनुसन्धान आवश्यक छ । किनकि मान्छेको ज्यान भन्दा ठुलो कुरा कुनै बिजनेश, र कम्पनीको नाफा हुनै सक्दैन । र त विभिन्न संघ संस्थाले पनि रश्मीको केसमा सुक्ष्म अनुसन्धानको माग गरेका छन् । रश्मीको आत्माले शान्ति पाओस् । घटनाको कुनै दबाब र प्रभाव विना अनुसन्धान होस् । हामी यो केसमा फलोअप गरिरहनेछौँ, किनकि कसैको नाफा कमाउने अस्वाभाविक हुटहुटीले कसैको कालै जानु हुँदैन, हुँदै हुँदैन । बाँकी प्रतीक्षा प्रहरी अनुसन्धानको । (भिडियो)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्