Skip to content
LAXMI SUNRISE BANK

पूर्व गभर्नरको घरबाट सुन चोर्ने जब फिर्ता गर्न आए… (भिडियो ब्रिफिङ)

अर्थ सरोकार

काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा कतिका घर लुटिए, फोरिए चोरिए । आन्दोलनको मौका छोपेर अपराधीहरु मोटाए ।  घरमात्र होइन बैंक लुटिए, बैंकबाट रकम र सुन चोरिए, घरघरमा पुगेर लुट मच्चाइयो । जसले सक्यो उसैले, जसको सक्यो उसैको, सुन, पैसा सबै चोर्ने काम भयो । आन्दोलनको मौकामा नेताको घरबाट डलर र गहना चोरिए, अरु के के लुटिए के के । पूर्व गभर्नर भएका नाताले र एमालेका खास मान्छे भएको आरोपका बीच पूर्व गभर्नर महाप्रसाद अधिकारीको घरमा पनि आन्दोलनकारीले तोडफोड गरे । यही क्रममा उनको घरबाट केही सुन र पैसा लुटियो ।

तर ११ महिनापछि अचम्म भयो ।गत साउन २० गते मध्यान्ह १२ बजे विजय राम भनिने विजय महरा चमार पूर्व गभर्नर अधिकारीको घरमा आयो र भन्यो- ‘मैले जेनजी आन्दोलनका बेला तपाईंको घरबाट सुन लुटेर लगेको थिएँ, फिर्ता दिन आएको ।’ त्यसपछि त उनी फन्दामा परिहाले । गभर्नर अधिकारीले तुरुन्त प्रहरीलाई फोन गरेर बोलाए । प्रहरीले पनि उनलाई पक्राउ गर्यो, उनको घर खानतलासी गर्यो र घटनाको थप अनुसन्धानमा लाग्यो ।             

भदौ २४ गते दिउँसो ३ः०० बजेतिर महाप्रसाद अधिकारीको घरमा लुटपाट भएको थियो । भैंसेपाटीस्थित अधिकारीको साढे दुई तल्ले पक्की घरमा करिव ५०-६० जनाको हुल पसेर गाडी फोड्न थाल्यो, फर्निचर जलाइयो, अरु सामानहरु पनि जम्मा गरेर आगो लगाइयो

महाप्रसाद अधिकारीको घरमा रहेका महंगा सामान, ३५ तोला सुन, नगद लुटियो, यही क्रममा विजयले पनि सुनका केही गहना लुटेका थिए । 

 रौतहटबाट काठमाडौँ पैसा कमाउन आएका थिए विजयआफूले जानिआएको काम भएकाले जुत्ता सिलाउने काम गरे । भदौ २४ गते चोभारबाट काम सकेर फर्किने क्रममा आन्दोलन देखेपछि उनी पनि आन्दोलनकारीसँगै महाप्रसाद अधिकारीको घर पुगेका थिए । 

घरभित्र आगो बलिरहेको थियो । मान्छेहरु सामान लुटेर हिंडीरहेका थिए । उनको मनमा पनि लोभ पलायो र भित्र पसे । उनी भित्र पस्दा भुईँमा सुनका गहनाहरु छरपष्ट थिए । त्यही छरपष्ट गहनाहरुमध्ये एक जोर झुम्का गोजीमा हाले, र कसैलाई नभनी डेरामा गएर लुकाए ।

लुटपाट भएको झण्डै ११ महिनापछि उनले प्रहरीले ती घटनामा संलग्नहरुलाई खोजिरहेको सुने । त्यसपछि उनको निद हराम हुन थाल्यो । प्रहरीले थाहा पायो भने म आफैँ फस्छु भन्ने लागेर उनले सो सुन फिर्ता गर्ने निर्णय गरे र महाप्रसादको घर पुगे । तर उनी पुग्नेबित्तिकै महाप्रसादको परिवारले प्रहरीलाई बोलायो र उनी समातिए ।
विजय समातिएपछि प्रहरीले उनको डेरामा छापा मार्यो । उनको कोठामा पाउजु, गणेशको मुर्ति, चाँदीका सिक्का, सुनको दुईवटा अरु औंठी, एउटा मुन्द्रा, कानमा लगाउने अरु ७ थान झुम्का पनि भेटियो ।  

विजयले महाप्रसाद अधिकारीको घरमा चोरी गरेको स्वीकार गरे पनि घरमा आगो भने आफूले नलगाएको दाबी गरेका छन् । हाल प्रहरीले उनीविरुद्ध अदालतमा मुद्धा दायर गरेको छ । महाप्रसादको घर लुट्ने अरुहरु अहिले फरार छन् । डरका कारण सुन फिर्ता गर्न पुगेका चमारको हातमा भने हत्कडी लागेको छ । (भिडियो)

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK