Skip to content
LAXMI SUNRISE BANK

ऐतिहासिक नाटक ‘वीर गणेशमान’ भदौ १४ देखि सर्वनाम थिएटरमा मञ्चन हुने

अर्थ सरोकार

काठमाडौँ । ऐतिहासिक नाटक ‘वीर गणेशमान’ यही भदौ १४ गतेदेखि असोज १४ गतेसम्म काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन हुने भएको छ । गणेशमान फाउन्डेसनको आयोजना तथा नेपालको अग्रणी र प्रतिष्ठित रङ्गमञ्च समूह सर्वनामको प्रस्तुतिमा नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व गणेशमान सिंहको जीवन, सङ्घर्ष, त्याग, साहस र निष्ठामा आधारित यस नाटकलाई वरिष्ठ रङ्गकर्मी अशेष मल्लले परिकल्पना, नाट्य रूपान्तर तथा निर्देशन गरेका छन् ।

निर्देशक मल्लका अनुसार ‘वीर गणेशमान’ केवल कुनै ऐतिहासिक व्यक्तित्वको जीवनीमा आधारित नाटक मात्र नभई निष्ठा, इमानदारी, त्याग र देशप्रतिको समर्पणको कथा हो। आफ्नो करिब पाँच दशक लामो नाट्य यात्रामा यस प्रकारको यथार्थपरक नाटक पहिलोपटक गर्न लागेको बताउँदै उनले बिम्ब र प्रतीकसँग खेल्ने आफ्नो नियमित अभ्यासभन्दा यो प्रस्तुति फरक रहेको जानकारी दिए । एउटा निष्ठावान्, इमानदार र सच्चरित्र योद्धाको तेस्रो आयाम दर्शकसम्म सञ्चारित गर्ने प्रयास स्वरूप आफूले यस नाटकलाई निर्देशन गरेको मल्लको भनाइ छ ।

नाटकमा निरङ्कुश जहानियाँ राणा शासनविरुद्ध गणेशमान सिंहले गरेको सङ्घर्ष, भद्रगोल जेल जीवन तथा ६ फिट अग्लो जेलको पर्खाल नाघेर गरेको साहसिक पलायनलाई विशेष रूपमा प्रस्तुत गरिएको छ । प्रजातन्त्र स्थापनाका लागि मृत्युदण्डसमेत बेवास्ता गर्दै निरन्तर सङ्घर्ष गरेका गणेशमान सिंहको त्याग, साहस र अडिग निष्ठालाई नाटकले रङ्गमञ्चमार्फत जीवन्त बनाउने प्रयास गरेको छ। त्यसैगरी, २०४६ सालको जनआन्दोलनको सफलतापछि प्रधानमन्त्री पदसमेत अस्वीकार गरेको ऐतिहासिक घटनालाई नाटकको महत्त्वपूर्ण पक्षका रूपमा प्रस्तुत गरिएको छ । व्यक्तिगत स्वार्थ, परिवार, पार्टी, पद र सत्ताभन्दा माथि देश र जनताको अधिकार तथा स्वतन्त्रतालाई सधैँ प्राथमिकता दिने लौहपुरुष गणेशमान सिंहको राजनीतिक दर्शनलाई यस नाटकले उजागर गर्नेछ।

यस नाटकको प्रस्तुतकर्ता सर्वनाम नेपालकै अग्रणी, प्रतिष्ठित र ऐतिहासिक रङ्गमञ्च समूहका रूपमा विगत ४५ वर्षदेखि नेपाली नाट्य क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको संस्था हो । वि.सं. २०३८ सालमा स्थापना भएको सर्वनामले नेपाली रङ्गमञ्चको विकास, प्रवर्द्धन र संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । तत्कालीन पञ्चायती व्यवस्था र निरङ्कुशताविरुद्ध नाट्य कलाका माध्यमबाट आवाज उठाउँदै आएको यस संस्थाले सामाजिक तथा राजनीतिक चेतना अभिवृद्धिमा समेत ऐतिहासिक भूमिका निर्वाह गरेको छ भने नेपालमा संस्थागत रूपमा ‘सडक नाटक’ को सुरुवात गर्ने श्रेय पनि सर्वनामलाई नै जान्छ ।

सरकारी वा बाह्य निकायको अनुदानमा निर्भर नभई आफ्नै श्रम, पसिना र समर्पणबाट आफ्नै नाट्यगृह निर्माण गरेको सर्वनाम नेपाली रङ्गमञ्चमा आत्मनिर्भरता र संस्थागत निरन्तरताको उत्कृष्ट उदाहरणका रूपमा स्थापित छ । सर्वनामले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव आयोजना गर्नुका साथै नयाँ पुस्ताका रङ्गकर्मीलाई प्रवर्द्धन गर्न नियमित नाटक मञ्चन, कार्यशाला तथा नाट्य प्रशिक्षण सञ्चालन गर्दै आएको छ । ‘वीर गणेशमान’ मार्फत सर्वनामले नेपाली इतिहासको महत्त्वपूर्ण अध्यायलाई नयाँ पुस्तासम्म पुर्‍याउँदै देश, जनता, स्वतन्त्रता र निष्ठाको मूल्यलाई पुनः स्मरण गराउने प्रयास गरेको जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK