Skip to content
LAXMI SUNRISE BANK

आरम्भ चौतारीमा कर्मचारीको पीडा- ‘बिदाको दिन काममा लदाइयो’, सूचना अधिकारीको प्रष्टिकरण- ‘म त बिदामै छु, बिदा नदिएको थाहा छैन’

अर्थ सरोकार

काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाकी सूचना अधिकारी मनरुपा पौडेलले बिदाको दिन कर्मचारीलाई काममा नबोलाएको प्रष्टिकरण दिएकी छिन् । बिदाको दिन पनि काममा लगाएको भन्ने कर्मचारीको गुनासोका आधारमा अर्थ सरोकारले समाचार लेखेपछि उनले बिदाको दिन कर्मचारीलाई काममा नबोलाएको बताएकी हुन् ।

सुरुमा झण्डै आधा दर्जन पटक फोन गर्दा पनि सम्पर्कमा नआएकी पौडेलले पछि अर्थ सरोकारलाई सम्पर्क गर्दै सार्वजनिक बिदाको दिन संस्थामा पनि बिदा नै हुने गरेको बताइन् ।

तर, उनी आफू बिदामा रहेको र हेड अफिसमेत बन्द रहेको बताइरहँदा शाखाका कर्मचारीले भने बिदाको दिन पनि काममा लदाइयो भन्दै गुनासो गरिरहेका थिए ।

तपाईं बिदामा हुनुहुन्छ तर कर्मचारी काम गरिरहेका छन् नि ? भन्ने हाम्रो प्रश्नमा उनले भनिन्, ‘केही साथीहरुले कामको चाप र आवश्यकतालाई ध्यान दिएर स्वतःस्फूर्त रुपमा कार्यालय खोल्नुभएको होला । नत्र हामीले बिदाको दिन आउनुस्, काम गर्नुस् भनेका छैनौँ ।’ 

हामीले ह्वाट्सएप ग्रुपमार्फत आएको निर्देशनको कुरा गरेपछि उनले सो विषयमा आफूलाई थाहा नभएको बताइन् । ‘स्वास्थ्य समस्याका कारण म पनि बीचमा बिदामा थिएँ । तर सार्वजनिक बिदाको दिन (शनिबार/आइतबार) बिदा नै हो ।’, उनले भनिन्, ‘त्यही बीचमा कर्मचारीलाई बिदामा पनि काममा बोलाइएको रहेछ भने त्यो विषय मलाई जानकारी भएन ।’

अझ उनले अरु लघुवित्तहरुले आइतबार पनि कर्मचारीलाई काममा बोलाउने गरेको भए पनि आफूहरुले भने शनिबार र आइतबार बिदा नै दिएको दाबी गरिन् ।

‘बरु अरु लघुवित्तहरुले कर्मचारीलाई आइतबार पनि काममा बोलाउँदा हामीले बिदा दिएका छौँ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भनिन्, ‘सरकारले नै बिदा दिएपछि हामीले पनि दिनुपर्छ भनेर शनिबार र आइतबार दुई दिन नै बिदा दिएका छौँ ।’

यता आइतबार नै अर्थ सरोकारलाई सम्पर्क गरेका लघुवित्तका कर्मचारीले भने संस्थाले बिदाको दिन पनि काममा बोलाउने तर अतिरिक्त पारिश्रमिक वा भत्ता नदिने भन्दै गुनासो गरे ।

ती कर्मचारीका अनुसार बिदामा पनि कार्यालय खोल्नु भन्दै एचआर डिपार्टमेन्टबाट ह्वाट्सएपमा म्यासेज आउँछ । उक्त म्यासेज आएपछि कार्यालय खोल्यौँ भन्दै सो म्यासेजको रिप्लाई दिनुपर्छ । नदिए कार्यालय किन नखोलेको भन्दै अनावश्यक रुपमा स्पष्टिकरण सोध्ने र सरुवासम्म गरिदिने गरेको ती कर्मचारीले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK