काठमाडौँ । ७ वर्ष त टिक्छ टिक्छ भनेर विज्ञापन गर्ने, कमसल रङ उपभोक्तालाई भिडाउने, तर ७ महिना पनि नपुग्दै रङ पुरै खुइलिने । गुनासो गर्दा सुनुवाइ नगर्ने, उल्टै जे सुकै गर भन्ने आशय दिने । बर्जर पेन्ट्सले यस्तो व्यवहार गरेपछि उपभोक्ता अदालत गए, र अदालतले बर्जरलाई दोषीसमेत देखाएर क्षतिपूर्तिको फैसलासमेत गर्यो भन्ने तथ्य सार्वजनिक भएपछि अहिले घरघरमा बर्जरको रङ लगाएकाहरु चिन्तामा परेका छन् । कतिपयले त हामीलाई फोन नै गरेर आफ्नो पनि त्यस्तै समस्या परेको छ, अदालत कसरी जाने भनेर प्रक्रियासमेत सोधेका छन् । कतिपयले भर्खर रङ लगाएकोले आफूहरू चिन्तामा परेको र बर्जरको रङ प्रयोग गरेकोमा पछुतो लागेको बताएका छन् । बर्जरको रङमा कैफियत भेटिएको प्रमाणित भएपछि अहिले ग्राहक रङ पसल र डिलरहरुमा पुगेर यसबारे सोधिरहेका छन् । अनि लाज छोप्न बर्जर बेच्नेहरु समाचार नै फेक हो, त्यस्तो कुनै मुद्दा नै परेको छैन, त्यस्तो केही आदेश नै भएको छैन भनेर उल्टै भ्रम बाँडिरहेका छन् । बर्जरकै रङ बेच्ने कतिपयले हामीलाई खै मुद्दाको फैसला देखाउ त, अनि मानौँला भनेर चुनौती पनि दिएका छन् । र आज हामी बर्जरविरुद्ध अदालतले गरेको फैसलाको कपि नै लिएर उपस्थित भएका छौँ। र देखाउँदैछौँ तपाईंलाई अदालतले कसरी बर्जरको रङ कमसल भएको प्रमाणित भएपछि जरिवानाको फैसला गरेको छ भनेर ।
बर्जर पेन्ट्स पीडित किन गए अदालत ?
भक्तपुर जिल्ला, मध्यपुर थिमी नगरपालिका वडा नम्बर ३ बस्ने दीपक राज गिरीले ७ देखि १० वर्ष टिक्छ भनेर किनेको बर्जर पेन्ट्स ६ महिनामै खुइलिन थालेपछी डिलरसँग यस विषयमा गुनासो पोखे । त्यसपछि कम्पनी आई, रङ लगाएको ठाउँ परीक्षण समेत गर्यो र रङ पुनः लगाईदिनेसमेत आश्वासन दियो । तर त्यसको केही दिनपछि कम्पनीले हामी केही पनि गर्न सक्दैनौँ भनेर पन्छियो । दीपक राज गिरीमात्रै होइन, ललितपुर साविक सैँबु गा.वि.स. वडा नं. ४ स्थायी घर भै हाल काठमाडौँ जिल्ला बुढानीलकण्ठ नगरपालिका वडा नं.११ बस्ने सिद्धान्त श्रेष्ठलाई पनि बर्जरले यसरी नै ठगेको महसुस भयो । भक्तपुर जिल्ला, सूर्यविनायक नगरपालिका वडा नम्बर ६ बस्ने दयाराम कार्की पनि बर्जर पेन्ट्सबाट पीडित थिए । सबैको समस्या उही थियो, ७ देखि १० वर्ष टिक्छ भनेको बर्जरको रङ ६ महिनामै खुइलियो । बेच्ने बेलामा वारेन्टी छ भन्ने ७ वर्ष त टिक्छ टिक्छ भन्ने, तर ६ महिनामै रङ खुइलिने, अनि वारेन्टी पनि नदिने गरेपछि उनीहरु अदालत गए । अदालतमा कार्की, श्रेष्ठ र गिरीले बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा.लि. र भक्तपुस्थित स्थित फ्रेन्डस् फरेभर ट्रेडिङ्ग प्रा.लि. का संचालक दिनेश गिरीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरे ।

डिलर संचालकले अदालतलाई भने- ‘क्षतिपूर्ति दिने दायित्व कम्पनीको हो’
बर्जर रङ पिडित तीन जनाले संयुक्त रुपमा हालेको मुद्धामा पिडितहरुले दिनेश गिरीले सञ्चालन गरेको फ्रेन्डस् फरेभर ट्रेडिङ्ग प्रा.लि. डिलरबाट दयाराम कार्कीले मिति २०८१/१/१९, दिपक राज गिरीले मिति २०७६/५/६ र सिद्धान्त श्रेष्ठले मिति २०७८/१२/१५ मा बर्जर कम्पनीको रङहरु ७ वर्ष, १० वर्ष वारेण्टी छ भनी खरिद गरेको, तर, सो रङ घरमा लागाएको ६ देखि ८ महिनामा नै खुइलिएपछि डिलर दिनेश गिरीलाई जानकारी गराएको, दिनेश गिरीले बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा.लिका मेनेजरसँग सो विषयमा बारम्बार कुरा गरी बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा.लि.का प्रतिनिधिहरु आई परीक्षण गरी केही महिनाभित्र मर्मत गरी रङ लगाउने वाचा गरेको उल्लेख छ । तर बर्जर रङ उत्पादकले रङको बट्टा र वाल्टिनमा लेखिए बमोजिमको वारेण्टी नदिएको, उक्त विषयमा पुरै वेवास्ता गरेको, रङ खुइलिएको र घरमा रङ लगाउन खरिद गरेको रकम लगानीमा कम्पनीले दिएको वारेण्टी अनुसारको कार्य नभई हानी नोक्सानी क्षति भएको उल्लेख गरेका छन् ।
गुनासो गर्दा वेवास्ता गरेको, वारेण्टी छ भनी उपभोक्तालाई वारेण्टी पेपर नदिई सूचनाबाट मात्र जानकारी दिने गरेको तर वारेण्टी अनुसारको क्षतिपूर्ति मागदाबी गर्न जाँदा कुनै पनि किसिमको वारेण्टी छैन भन्ने जवाफ दिएकाले आफुसंग भएको बिल अनुसार भुक्तान गरेको रकम अनसार क्षतिपूर्ति पाउँ भनी दयाराम कार्की, सिद्धान्त श्रेष्ठ र दिपकराज गिरीले अदालतमा मुद्दा दायर गरेका थिए ।

त्यसपछि अदालतले प्रतिवादी डिलर, र बर्जरको रङ बेच्ने कम्पनीलाई मुद्दाको प्रतिउत्तर माग्यो । जवाफमा दिनेश गिरीले आफुले संचालन गरेको फ्रेन्ड्स फरइभर ट्रेडिङ्ग प्रा.लि. नामक डिलरबाट प्रतिवादीलेहरुले रङ किनको साँचो भएको, आफुले कम्पनीसँग सोका विषयमा कुराकानी पनि गरेको, कम्पनीका प्रतिनिधिहरु आएर छानविनसमेत गरेको स्वीकार गरेका छन् । तर कम्पनीले छानविन पछि रङमा कुनै डिफेक्ट नरहेको दाबी गरेपछि पीडीतहरुले उक्त रङ कम गुणस्तरको भएको हुँदा खुईलिईएको भनी बारम्बार फोन गरी कलरको बट्टा तथा बाल्टिनमा लेखिए बमोजिम वारेण्टी दिनुपर्छ भनी मागदाबी गरेको बताएका छन् । बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा.लि.को यस्तो कार्यले मेरो डिलर कम्पनीले ग्राहकलाई गुणस्तरिय सामान उपलब्ध गराउन नसकी पसल सञ्चालनमा समेत असर परिरहेको दाबीअमेत डिलर संचालक गिरीले गरेका छन् । तर,डिलर संचालक गिरीले यसमा आफ्नो केही पनि गल्ती नभएको दाबी गरेर अदालतलाई जवाफ फर्काएका थिए ।
डिलर संचालकको दाबी थियो, कम्पनीले डिलरसँग रङमा कुनै किसिमको वारेन्टी नहुने भनेर कनट्र्याक्ट गरेको छ । तर डिलरसँग वारेन्टी छैन भनेर सम्झौता गर्ने अनि आफुचाहिं विभिन्न विज्ञापन र रंगका बट्टामा वारेन्टी भन्दै लेख्ने गरेकोले उपभोक्ताहरुलाई गुणस्तरको रङ उपलब्ध गराउने र क्षतिपूर्ति समेत दिने दायित्त्व कम्पनीकै भएकाले आफुले उपभोक्तालाई क्षतिपूर्ति दिनुपर्ने कानुनी कारण नै नभएको भन्दै अदालतमा प्रतिउत्तर जिकिर गरेका छन् ।अचम्मको कुरा त के रहेछ भने बर्जर बिक्रेता कम्पनीले त अदालतलाई जवाफसमेत नफर्काएको रहेछ ।
अदालतले हेर्यो भिडियोफोटो र विज्ञापन प्रमाण
बर्जर पीडीतले मुद्दा हालेपछि र डिलर संचालकले जवाफ फर्काएपछि अदालतले २०८२/९/१३ गते रङ खुइलिएको स्पष्ट देखिने प्रमाण (रंगिन तस्विर र भिडियो) तथा सो को विद्युतीय प्रति झिकाउन, उपभोग गरेको रङका बाल्टिन तथा बट्टाहरु झिकाउन, कमसल दाबी गरिएका रंगका ब्याचका सिल नखोलिएका बट्टा/वाल्टिनहरु १-१ सेट नमुना विपक्षी बिक्रेताबाट झिकाउन, रङ बिक्री गर्दा दिईएको बिल पेश गर्न, वारेण्टी उल्लेख गरी तयार गरिएका विज्ञापनका तस्विर तथा भिडियोहरु झिकाउन र साक्षी बकपत्र गराउन आदेश दियो । त्यसपछि पीडीतहरुले अदालतले भनेका सबै कागज र प्रमाणहरु जुटाए र अदालतलाई बुझाए ।
दिपकराज गिरी समेतका साक्षी रामकुमार सोनारले बर्जरको रङ लगाएको घर खुईलिएको आफुले देखेकाले गिरीले क्षतिपूर्ति पाउनुपर्छ भनेर अदालतमा साक्षी बकपत्र गरिदिए ।

त्यसपछि पेशी तोकियो, बहस भयो । बहसमा पीडीतहरुका पक्षबाट वकिल हरिबहादुर कार्कीले बहस गरे । डिलर संचालक आफैं उपस्थित भएर आफ्नो कुरा राखे । प्रमाणहरु अदालतमा पेश भए, बिलहरु पेश भए, रंगका बाल्टी र बट्टाहरु हेरिए, सोहि ब्याचका अन्य सिल नतोडीएका रंगका नमुनाहरु हेरिए । कानुनका दफा दफा पल्टाइयो, दह्रो र खरो बहस भयो । त्यसपछि अदालतले यस विषयमा ठहर खण्ड तयार गर्यो । अदालतले ठहर खण्डमा डिलर र कम्पनीबीच भएको सम्झौता प्रचलित कानुन विपरित भएको उल्लेख गर्यो । वारेन्टी दिनका लागि न्युनतम ४० लिटर रङ किनेको हुनुपर्छ भन्ने दाबी पनि अदालतले कानुन संगत नभएको भनी व्याख्या गर्यो ।
उत्पादकले डिलरसिप लिन खोज्ने फ्रेन्डस् फरइभर ट्रेडिङ्ग प्रा.लि. दोस्रो पक्षलाई सामान बुझाएपश्चात उक्त सामान गुणस्तरयुक्त मानिने, दोस्रो पक्षले कमसल गुणस्तरको रहेको भनी दावी लिन नपाउने तथा कुनैपनि किसिमको वारेण्टी नहुने भनी सम्झौता गराएको कुरा मुलुकी देवानी संहिता, २०७४ को दफा ५५१ को व्यवस्था र उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६(२)(छ), दफा ७(१) को (ख),(ग) र (छ) को व्यवस्था विपरित देखिने व्याख्या पनि अदालतले प्रष्ट रुपमा गरिदियो ।

अझ अदालतले डिलरले पनि कम्पनीलाई देखाएकै भरमा उन्मुक्ति नपाउने फैसला गरिदियो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ११ को देहाय (ङ) मा “वस्तुमा कुनै किसिमको ग्यारेण्टी वा वारेण्टीको व्यवस्था भएमा त्यस्तो व्यवस्थाको पालना गर्ने” भन्ने कानूनी व्यवस्था बमोजिम यी बिक्रेता प्रतिवादीले उपभोक्ता वादीहरुलाई आवश्यक समन्वय गरी रंगको वारेण्टी सम्बन्धी व्यवस्थाको पालना गरेको अवस्था नदेखिएको भन्दै अदालतले यस्तो अवस्थामा बिक्रेता प्रतिवादी डिलर फ्रेन्ड्स फरइभरले समेत सिर्जना हुन जाने दायित्वबाट उन्मुक्ति पाउन सक्ने अवस्था नदेखिएको भन्दै डिलरलाई पनि दोषी ठहर गर्यो ।
र अन्ततः अदालतले भनिदियो- ‘क्षतिपूर्ति भराउनू’
प्रतिवादीहरूले आफ्नो दायित्व पूरा नगरी वादीहरुलाई हानि नोक्सानी पुर्याएको देखिंदा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ७(१)(च) तथा दफा ११ बमोजिम प्रतिवादी मध्ये बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा.लि.ले रु बाह्रलाख चौध हजार पाँच सय र अर्का बिक्रेता प्रतिवादी फ्रेण्ड्स फरइभर ट्रेडिङ प्रा.लि. का सञ्चालक दिनेश गिरीले रु त्रिसहठी हजार नौ सय गरी जम्मा रु. बाह्र लाख अठहत्तर हजार चार सय रुपैयाँ क्षतिपूर्ति वापत वादीहरूले प्रतिवादीहरूबाट भराई पाउने देखिएकोले वादीहरुले घरको बाहिरी भागमा लगाइएको रंगको हकमा खरिद गरेको बिलका आधारमा वादीहरू मध्ये दिपकराज गिरीले रु तीन लाख छयालिस हजार एक सय रुपैयाँ, सिद्धान्त श्रेष्ठले रु. छ लाख चौंतिस हजार आठ सय रुपैयाँ र दयाराम कार्कीले रु. दुई लाख सन्तानब्बे हजार पाँच सय रुपैयाँ प्रतिवादीहरुबाट तिर्नुपर्ने दायित्वको आधारमा दामासाहीले क्षतिपूर्ति बापत भराई पाउने ठहर्छ ।
यसरी, अदालतले पीडीतका पक्षमा फैसला गर्दै बर्जरको रङ कमसल भएको, वारेन्टी अनुसार काम नगरेको, डिलरसँग कम्पनी गरेको सम्झौता पनि कानुन अनुसार नभएको फैसला गरिदियो ।

फैसलापछि उपभोक्ताले पनि सिक्नुपर्ने पाठ
बर्जरको रङ कमसल भएको प्रमाणित भएपछि उपभोक्तालाई क्षतिपूर्ति दिनुपर्ने फैसला गरेपछि अव उपभोक्ता पनि सचेत हुनुपर्ने भएको छ । आफ्नो सपनाको घरमा रङ लगाउँदा झुटा र भ्रामक विज्ञापनमा होइन, बजारमा अरुको अनुभवबाट निर्णय गर्नुपर्ने भएको छ । यदी तपाईंहरुले पनि बर्जरको रङ लगाउनुभएको छ भने कम्तीमा पनि ती रंगका बट्टा र बाल्टीहरु फाल्नु भएन । भोलि रङ खुइलियो भने दाबी गर्न काम लाग्छ । अर्को कुरा देशमा न्याय मरेको छैन भन्ने फेरी एक पटक प्रमाणित भएको छ । बर्जरले तपाईंको घर पनि खुईल्याईदिएको छ भने तपाईं पनि अदालत जान सक्नुहुनेछ ।
अरु पनि छन् बर्जर्काका अनेक खालका लफडा
यसो त ७ देखि १० बर्षसम्म टिक्छ भनेर केही महिनामै रङ खुईलिएको यो पहिलो घटना पनि होइन । दमक लगायतका देशका विभिन्न ठाउँमा यस्ता थप घटनाहरु देखिन्छ । कति घटना अदालत पुगिसकेका छन् । ठाउँ ठाउँमा पिडीतहरुले बर्जरविरुद्ध पत्रकारसम्मेलनसमेत गरिसकेको देखिन्छ । यसरी हेर्दा बर्जरको रङप्रयोग गर्नुभन्दा अगाडी एक पटक होइन, दुई पटक होइन १० पटक सोच्नुपर्ने अवस्था देखिएको छ ।
बेच्नेहरु गालीमा उत्रिए कम्पनी सम्पर्कमै आएन
बर्जरको रङ गुणस्तरहीन देखिएको र अदालतले समेत सो प्रमाणित गरी क्षतिपूर्ति भराएको खबर सार्वजनिक भएपछि यतिबेला बर्जरको रङ बेच्नेहरु आत्तिएका छन् । एकातर्फ सत्यको उजागर, अर्कोतर्फ ग्राहकको तारान्तरको गुनासो र क्षतिपूर्ति दिनुपर्ने दिन आउन सक्ने डर । त्यसैले त कतिपय डिलरहरुले हामीलाईसमेत अदालतको फैसला देखाउन चुनौती दिएका थिए । हामीले फैसला देखायौं, अव बाँकी सायद डिलरहरुलाई समयले देखाउनेछ । यस्तो छ फैसलाको पूर्णपाठः
(भिडियो)
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्