Skip to content
LAXMI SUNRISE BANK

प्रभु बैंकले ल्यायो ‘प्रभु प्रवासी समृद्धि योजना’, ३ करोडसम्मको घर कर्जा दिने

अर्थ सरोकार

काठमाडौँ । प्रभु बैंक लिमिटेडले विदेशमा कार्यरत तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गर्दै ‘प्रभु प्रवासी समृद्धि योजना २०८३/८४’ सार्वजनिक गरेको छ । प्रवासी नेपालीलाई घर तथा जग्गा खरिद, घर निर्माण तथा मर्मतका लागि सहज र प्रतिस्पर्धी कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले उक्त योजना ल्याएको हो ।

बैंकका अनुसार विप्रेषणमार्फत प्राप्त रकमलाई औपचारिक बैंकिङ प्रणालीमा परिचालन गर्दै प्रवासी नेपालीका दीर्घकालीन वित्तीय आवश्यकता पूरा गर्न योजना केन्द्रित छ ।

योजनाअन्तर्गत घर कर्जामा अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ । कर्जाको अवधि अधिकतम २५ वर्ष रहनेछ । बैंकले यस कर्जाका लागि ०.५० प्रतिशत सेवा शुल्क र औसत आधार दरमा थप ०.५० प्रतिशत प्रतिवर्ष ब्याजदर तोकेको जनाएको छ ।

यो सुविधा देशभर रहेका बैंकका ३०० शाखामार्फत उपलब्ध हुने बताइएको छ । योजनाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मतका साथै जग्गा खरिदका लागि समेत कर्जा लिन सकिनेछ ।

त्यस्तै, ग्राहकका बढीमा २ जना सन्तानको नेपाल वा विदेशमा अध्ययनका लागि शैक्षिक कर्जा समेत उपलब्ध हुने बैंकले जनाएको छ । उक्त कर्जामा औसत आधार दरमा थप १ प्रतिशत प्रतिवर्ष ब्याजदर कायम गरिएको छ भने कर्जा प्रशासनिक शुल्कमा ५० प्रतिशत छुट दिइनेछ ।

योजनामा पहिलो वर्ष निःशुल्क डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा समेत उपलब्ध गराइने बैंकले जनाएको छ ।

प्रभु बैंकले यस योजनाले विदेशमा रहेका नेपालीलाई आफ्नो तथा परिवारको भविष्यका लागि आवासीय सम्पत्ति निर्माण वा खरिद गर्न वित्तीय सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । साथै, प्रवासी नेपालीबाट प्राप्त विप्रेषणलाई बैंकिङ प्रणालीमार्फत परिचालन गरी निक्षेप विस्तार, उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह र दीर्घकालीन ग्राहक सम्बन्ध विस्तारमा योगदान पुग्ने बैंकको अपेक्षा छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK