Skip to content
LAXMI SUNRISE BANK

इनर्जी ड्रिङ्क्स उपभोगका लागि सुरक्षित रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको दाबी

अर्थ सरोकार

काठमाडौँ । नेपाली बजारमा उपलब्ध इनर्जी ड्रिङ्ग्स स्वस्थकर नै रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग जनाएको छ । एक विज्ञप्ति जारी गर्दै विभागले इनर्जी ड्रिङ्क्समा प्रयोग हुने क्याफिनको मात्रा मानव उपभोगका लागि सुरक्षित सीमाभित्र रहेको जनाएको हो ।

विभागका अनुसार नेपालमा इनर्जी ड्रिङ्क्स उत्पादन तथा बिक्रीवितरण गर्न १७ वटा उद्योगले अनुमति लिएका छन् । ती उद्योगका उत्पादनमा क्याफिनको मात्रा तोकिएको सुरक्षित सीमाभित्र रहेको लेबल विवरण तथा प्रयोगशाला विश्लेषण प्रतिवेदनबाट पाइएको विभागको भनाइ छ ।

‘हाल, नेपालमा इनर्जी ड्रिङ्क्स उत्पादन तथा बिक्रीवितरण गर्ने उद्देश्यले १७ वटा उद्योगहरूले नेपाल सरकारका विभिन्न निकायबाट अनुमति लिई उत्पादन तथा बिक्रीवितरण गरिरहेका छन् र सबै उत्पादनहरूमा क्याफिनको मात्रा मानव उपभोगको लागि तोकिएको सुरक्षित मात्रा अर्थात् ग्राममा २४ प्रतिशत भन्दा कम मात्रा प्रति क्यान (१०० मिलिलिटर) मात्र प्रयोग गरेको लेबल विवरण र प्रयोगशालाको विश्लेषण प्रतिवेदनबाट समेत पाइएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

यद्यपि, विभागले इनर्जी ड्रिङ्क्स सबैका लागि उपयुक्त नहुने स्पष्ट पारेको छ । बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मधुमेहका बिरामी र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई यस्ता पेय पदार्थ सेवन नगर्न आग्रह गरिएको छ ।

त्यस्तै, विभागले लेबलमा उल्लेख गरिएका चेतावनी पालना गर्न, दैनिक दुई क्यानभन्दा बढी सेवन नगर्न तथा इनर्जी ड्रिङ्क्सलाई पानी, जुस, दूध वा मोहीजस्ता पेय पदार्थको विकल्पका रूपमा नलिन अनुरोध गरेको छ ।

विभागले इनर्जी ड्रिङ्क्सबारे समाचार सम्प्रेषण गर्दा वैज्ञानिक तथ्यमा आधारित जानकारी दिन र अनावश्यक भ्रम तथा त्रास सिर्जना नगर्नसमेत सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

यस्तो छ विभागले जारी गरेको विज्ञप्ति:

Energy-Drink-related-Notice-1793187899
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK