काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले पदभार ग्रहण गरेको ६३ दिनपछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरणअनुसार मुख्यमन्त्री शाहीको परिवारका नाममा मुगुमा घरजग्गा, सुनचाँदी, बैंक मौज्दात, सवारीसाधन तथा अन्य सम्पत्ति रहेको देखिएको छ । विवरणमा अधिकांश जग्गाजमिन र केही घरलाई पैतृक सम्पत्तिका रूपमा उल्लेख गरिएको छ ।
आमाको नाममा २२ भन्दा बढी कित्ता जग्गा
मुख्यमन्त्री शाहीकी आमा ऐशा शाहीको नाममा मुगुको सोरु गाउँपालिका–६ मा २ हजार ९४३.५० वर्गमिटर क्षेत्रफलमा फैलिएको घर रहेको छ ।
उक्त घरको स्रोत पैतृक सम्पत्ति उल्लेख गरिएको छ । त्यस्तै, उनकी छोरी उस्मिता शाहीको नाममा साविक श्रीनगर गाविस-४ मा ५६.२५ वर्गमिटर क्षेत्रफलको घर रहेको छ । उक्त घर बकसपत्रबाट प्राप्त भएको विवरणमा उल्लेख छ ।
मुख्यमन्त्री शाहीको नाममा साविक जिमा गाविस-९ मा ४०२ वर्गमिटर जग्गा रहेको छ भने उनकी श्रीमती नारायणदेवी शाहीको नाममा साविक श्रीनगर गाविस-४ मा ४२४ वर्गमिटर जग्गा छ । उक्त जग्गा २० लाख रुपैयाँमा खरिद गरिएको र त्यसको स्रोत व्यवसायबाट प्राप्त आम्दानी रहेको जनाइएको छ ।
त्यसैगरी, उनकी आमाको नाममा साविक जिमाका विभिन्न वडामा २२ भन्दा बढी कित्ता जग्गा रहेको विवरणमा उल्लेख छ । ती सबै जग्गाको स्रोत पैतृक सम्पत्ति जनाइएको छ ।
१० तोला सुन र १० तोला चाँदी
मुख्यमन्त्री शाहीले आफ्नो नाममा १० तोला सुन र १० तोला चाँदी रहेको विवरण सार्वजनिक गरेका छन् । सुनमध्ये चार तोला पैतृक सम्पत्ति रहेको उनले उल्लेख गरेका छन् । दुई तोला सुन २०५३ सालमा शिक्षकको तलबबाट ५० हजार रुपैयाँमा खरिद गरेको विवरणमा जनाइएको छ ।
त्यस्तै, २०७५ सालमा व्यवसायबाट प्राप्त आम्दानीले ४० हजार रुपैयाँमा एक तोला, २०८० सालमा पारिश्रमिकबाट ९० हजार रुपैयाँमा एक तोला र २०८१ सालमा पारिश्रमिकबाटै दुई लाख ४० हजार रुपैयाँमा थप दुई तोला सुन खरिद गरेको उल्लेख छ ।
उनको बैंक खातामा दुई लाख रुपैयाँ मौज्दात रहेको र त्यसको स्रोत सरकारी सुविधा रहेको विवरणमा उल्लेख छ । मुख्यमन्त्री शाहीको नाममा कुनै पनि कम्पनीको सेयर, ऋणपत्र वा अन्य धितोपत्र भने नरहेको जनाइएको छ ।
१८ लाख ऋण, छोरीको नाममा स्कुटर
मुख्यमन्त्री शाहीले कृषि विकास बैंकको मुगु शाखाबाट २०७९ असार २८ गते १८ लाख रुपैयाँ ऋण लिएको र हालसम्म केही रकम भुक्तानी गरिसकेको विवरणमा उल्लेख गरेका छन् ।
सवारीसाधनतर्फ उनकी छोरी उस्मिता शाहीको नाममा २०७५ सालमा दुई लाख ३५ हजार रुपैयाँमा खरिद गरिएको सुजुकी स्कुटर रहेको छ । उनको परिवारको नाममा चारपाङ्ग्रे निजी सवारीसाधन भने नरहेको विवरणमा जनाइएको छ ।
पशुधनतर्फ मुख्यमन्त्री शाहीसँग सातवटा गाईगोरु रहेका छन् । त्यस्तै, ९० हजार रुपैयाँ मूल्यको सामसुङ र ६० हजार रुपैयाँ मूल्यको भिभो मोबाइल फोन, एक लाख १० हजार रुपैयाँको क्यामरा र ९० हजार रुपैयाँको ल्यापटप रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्