Skip to content
LAXMI SUNRISE BANK

कर्णाली प्रदेशका धनी अर्थमन्त्रीः ३१ ठाउँमा जग्गा, ७० तोला सुनचाँदी, विभिन्न कम्पनीमा करोडौँको सेयर !

अर्थ सरोकार

काठमाडौँ । कर्णाली प्रदेशका अर्थमन्त्री टेकराज पछाईको ३१ ठाउँमा जग्गा रहेको पाइएको छ । पछाईले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनको जुम्लादेखि बर्दियासम्म ३१ ठाउँमा जग्गा रहेको उल्लेख छ ।

सम्पत्ति विवरणमा पछाईले ७० तोला सुनचाँदी (२० तोला सुन ५० तोला चाँदी), २९ वटा विभिन्न लघुवित्त तथा कम्पनीमा करिब ३ करोड बढीको ४३ हजार ५ सय ४२ कित्ता सेयर रहेको खुलाएका छन् । 

उनको सम्पदा लघुवित्तमा १४ हजार २४ कित्ता, कालिका लघुवित्तसहित विभिन्न ९ वित्तीय संस्था र कम्पनीमा ९ हजार कित्ता र  कसमस बचत तथा ऋण सहकारीमा २५ हजार कित्ता सेयर छ । 

त्यस्तै, पछाईकी श्रीमती तिला आचार्यको नाममा पनि एक्सपर्ट हाइड्रो पावर कम्पनीमा २ हजार कित्ता, आरम्भ चौतारी लघुवित्त, एसियन लाइफ इन्सुरेन्स र बुटवल पावर लगायत १९ वटा कम्पनी र वित्तीय संस्थाहरूमा गरी १६ हजार कित्ता सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । पछाई दम्पतीले त्रिशूली आयोजनामा समेत करोडौँको लगानी गरेको पाइएको छ । 

यता पछाईंसँग बुबाको नाममा ६० र १२९ वर्ग मिटर क्षेत्रफलका २ वटा पुर्ख्यौली घर छन् भने त्यसबाहेक विभिन्न ठाउँमा पुर्ख्यौली जग्गा पनि छन् । उनको बर्दियाको राजापुर नगरपालिका-२ का ३ ठाउँमा पनि जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

पछाईले उनी र उनको श्रीमतीको नाममा बैंकमा १२ लाख १५ हजार रुपैयाँ, नागरिक लगानी कोषमा ९ लाख १३ हजार ६ सय ६४ रुपैयाँ र २ लाख ४० हजारको बजाज बाइक, २ लाख ८५ हजारको स्कुटर रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK