Skip to content
LAXMI SUNRISE BANK

धितोपत्र बोर्डद्वारा ‘संस्थागत लगानीकर्ता नीति, २०८३’ सार्वजनिक, संस्थागत लगानीलाई व्यवस्थित बनाउने लक्ष्य !

अर्थ सरोकार

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले ‘संस्थागत लगानीकर्ता नीति, २०८३’ सार्वजनिक गरेको छ । बोर्डले धितोपत्र बजारमा संस्थागत लगानीकर्ताको प्रवेशलाई विस्तार तथा व्यवस्थित गर्न ‘संस्थागत लगानीकर्ता नीति, २०८३’ सार्वजनिक गरेको हो ।

बोर्डले उक्त नीतिमार्फत दीर्घकालीन पूँजी परिचालन, बजारको तरलता र गहिराइ वृद्धि तथा संस्थागत लगानीलाई व्यवस्थित बनाउने लक्ष्य लिएको छ । 

‘पूँजी बजार विकास मार्गचित्र, २०८३’ बोर्डको आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति तथा नेपाल सरकार, अर्थ मन्त्रालयद्धारा मिति २०८३/५/२९ मा घोषणा भएको पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३ (२१ बुँदा) को मार्गदर्शन अनुरूप नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको सक्रिय तथा जिम्मेवारीपूर्ण सहभागिता विस्तार गर्दै समग्र पूँजी बजारलाई सन्तुलित र दिगो वित्तीय प्रणालीका रूपमा विकास गर्न सरोकारवाला पक्षको रचनात्मक राय तथा सुझावका लागि नीति सार्वजनिक गरिएको बोर्डले जनाएको छ ।

उक्त नीतिले धितोपत्रको प्राथमिक तथा दोस्रो बजारमा संस्थागत लगानीकर्ताको प्रवेश र कार्य संचालन व्यवस्थालाई सहजता, एकरूपता, स्पष्टता, जिम्मेवारीपूर्ण बनाउन आवश्यक नीतिगत, संस्थागत तथा प्रक्रियागत व्यवस्था गर्न स्पष्ट मार्गदर्शन गर्ने उद्देश्य लिएको छ । 

प्रस्तावित नीतिमा संस्थागत लगानीकर्ताको वर्गीकरण तथा दर्ता, लगानी विविधिकरण र वित्तीय उपकरणहरु, लगानीको सीमा निर्धारण, सुशासन, जोखिम व्यवस्थापन, बजार आचरण, सूचनाको खुलासा, नियामकीय अनुगमन तथा चरणबद्ध कार्यान्वयनसम्बन्धी व्यवस्था समेटिएका छन् । साथै, संस्थागत लगानीकर्ताको सहभागिता विस्तार गर्न आवश्यक कानुनी तथा नियामकीय सुधार र सम्बन्धित निकायबीच समन्वयको अवधारणासमेत समावेश गरिएको छ । 

यी व्यवस्थासँगै व्यक्तिगत लगानीकर्ताको बाहुल्यता रहेको नेपालको पूँजी बजारमा व्यवसायिक र सक्षम संस्थागत लगानीकर्ताको दीर्घकालीन प्रवेशमा वृद्धि भई समग्र पूँजी बजारको गहिराइ, तरलता, पारदर्शिता तथा स्थायित्व कायम हुने अपेक्षा बोर्डको रहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK