Skip to content
LAXMI SUNRISE BANK

दशैँको माहोलमा नक्कली नोट चलाउनेहरू सक्रिय, कसरी चिन्ने नक्कली र सक्कली नोट ? (भिडियोसहित)

मंजिला पाण्डे

काठमाडौँ। बजारमा दशैँको माहोल छ, गाउँघरदेखि शहरसम्म किनमेल गर्नेहरूको भीड छ। तर, दशैँको यही चहलपहल र बढ्दो नगद कारोबारको मौका छोपेर नक्कली नोट चलाउनेहरू पनि सक्रिय हुन थालेका छन्।

दशैँमा बजारमा पैसाको कारोबार निकै बढ्छ, व्यापारीहरू ग्राहकको भीड व्यवस्थापन गर्न व्यस्त हुन्छन्, ग्राहकहरू पनि हतारमा सामान किनेर घर फर्किन खोजिरहेका हुन्छन्। यही भीडभाड र हतारको फाइदा उठाउँदै केही व्यक्तिले नक्कली नोट चलाउने प्रयास गर्न सक्छन्। त्यसैले तपाईं पसले हुनुहुन्छ, किसान हुनुहुन्छ, व्यवसायी हुनुहुन्छ वा सामान्य ग्राहक हुनुहुन्छ भने नगद लिँदा र दिँदा केही सेकेन्ड समय निकालेर नोट जाँच गर्ने बानी बसाल्नुहोला, नत्र तपाईं पनि ठगीको सिकारमा पर्न सक्नुहुनेछ।

अर्थ सरोकार डटकममा पनि नक्कली नोटबाट ठगिएको भन्दै धेरै नै गुनासोहरू आउन थालेका छन्। सामाजिक संजालमा पनि आफु नक्कली नोटबाट ठगिएको भन्ने गुनासोहरू आइरहेको छ। नेपाल प्रहरीले पनि नक्कली नोटबाट सावधान रहनुहोला भन्दै आग्रह गरिरहेको छ। हालै ओखलढुङ्गाको सुनकोशी गाउँपालिका ९, ककनीबाट बोका किनबेचको क्रममा नक्कली नोटको कारोबार गरेपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको थियो।

ललितपुरको लगनखेलस्थित एक पसलमा कपडा किनेर नक्कली नोट दिने १९ वर्षीय युवकलाई पनि प्रहरीले पक्राउ गरेको थियो। ती युवकको साथबाट प्रहरीले ५ सय दरका १६ थान नक्कली नोट बरामद गरेको थियो ।

त्यतिमात्र होइन हालै नेपाल बैंकबाट झिकेको रकममा नक्कली नोट पनि भेटिएको पाइएको छ। बजारमा नक्कली नोट दिन हुँजसो भेटिन थालेका छन् ।

अब नक्कली नोट कसरी चिन्ने त ?

नक्कली नोट चिन्नका लागि सबैभन्दा पहिले नोटलाई ध्यानपूर्वक हेर्नुहोस् र छामेर महसुस गर्नुहोस्, वास्तविक नोटको कागज, छपाइ र बनावट सामान्य कागजभन्दा फरक हुन्छ। नोटमा रहेका केही अक्षर, चित्र तथा विशेष भागहरू छाम्दा फरक किसिमको बनावट महसुस हुन सक्छ। सक्कली नोटको बीच भागमा सुरक्षा धागो हुन्छ । नोटलाई उज्यालोतिर फर्काएर हेरेमा नेपाल राष्ट्र बैंक लेखिएको हुन्छ ।

कसैले खोटा मुद्रा बनाउन वा बनाउने उद्योग गर्नु हुँदैन, उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई मुद्राको परिमाण र मूल्य विचार गरी पाँच वर्षदेखि दश वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना हुन सक्ने मुलुकी अपराध संहिताको दफा २५६ मा व्यवस्था छ । तपाईंले बजारमा दिएको पैसा केही घण्टामै अर्को व्यक्तिको हातमा पुग्न सक्छ, पसलमा ग्राहकको लामो लाइन हुँदा व्यापारीले प्रत्येक नोट राम्रोसँग जाँच गर्न नसक्ने अवस्था आउन सक्छ, ठूलो रकमको कारोबारमा त झन् धेरै सावधानी आवश्यक हुन्छ, हतार छ, पछि हेर्छु भनेर नोट नजाँच्ने बानीले तपाईंलाई ठूलो समस्यामा पार्न सक्छ। नक्कली नोटबाट बच्ने जिम्मेवारी व्यापारीको मात्र होइन, ग्राहकको पनि हो। तपाईंले बैंक, एटीएम वा अन्य माध्यमबाट नगद प्राप्त गर्नुभएको छ भने ठूलो रकमको कारोबार गर्दा नोटहरू सामान्य रूपमा जाँच गर्ने बानी बसाल्नुहोस्।

दशैँको रमाइलोमा एउटा सानो लापरवाहीले ठूलो आर्थिक तथा कानुनी समस्या निम्त्याउन सक्छ। त्यसैले आफू पनि सचेत बनौँ र आफ्ना परिवार, साथीभाइ, छरछिमेकी, व्यापारी तथा आफन्तलाई पनि नक्कली नोटबाट बच्ने उपायबारे जानकारी गराऔँ। दशैँमा किनमेल गरौँ, कारोबार गरौँ, तर सचेत र सजग भएर गरौँ, नक्कली नोटको जोखिमबाट आफू पनि बचौँ र अरूलाई पनि बचाऔँ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK