Skip to content
LAXMI SUNRISE BANK

इसेवा घोटालाः तोडफोडको डर भएको भन्दै इसेवाले अनुनयविनय गरेपछि पारसले निकाले विज्ञप्ति, अधिकांश दर्शकले पत्याएनन् !

अर्थ सरोकार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेलको टिकट बिक्रीमा घोटाला भएको भन्दै चौतर्फी विरोध प्रदर्शन हुन थालेपछि नेपाल क्रिकेट संघ (क्यान)ले टिकट बिक्री सम्बन्धी सूचना निकालेको छ । संघले शुक्रबार साँझ विज्ञप्ति निकालेको हो । 

क्यानका सचिव पारस खड्काले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा करिब २ लाख प्रयोगकर्ताले एकैसाथ टिकट खरिद गर्न खोजेको तर क्रिकेट मैदानको क्षमता अनुसार टिकटको उपलब्धता सीमित भएकाले टिकट बिक्री खुला भएको केही मिनेटमै सबै टिकट सोल्ड आउट भएको प्रष्टिकरण दिएको छ । 

टिकट बिक्रीमा घोटाला भएको भन्दै हजारौँ दर्शक टियु क्रिकेट मैदान र इसेवाको कार्यालयमा पुगेपछि इसेवाको अनुनयविनयपछि क्यानले उक्त विज्ञप्ति निकालेको खुलेको छ । 

यसो त क्यानले विज्ञप्ति जारी गर्नुभन्दा केही समय अघि मात्र इसेवामा आकस्मिक बोर्ड बैठक बसेको इसेवाकै कर्मचारीले पुष्टि गरेका छन् । बैठकले टिकट बिक्रीको विषयले तोडफोड नै हुनसक्ने भन्दै क्यानसँग अनुनयविनय गरेपछि क्यानले सो विज्ञप्ति निकालेको हो । 

यता तत्काल विज्ञप्ति निकाल्न नहुने सुझाव क्यानका अन्य अधिकारीहरुले दिए पनि फाइनल खेलमा दुर्घटना हुनसक्ने भन्दै पारसले विज्ञप्ति निकालेको क्यानकै अधिकारीले बताएका छन् ।

तर, क्यानले विज्ञप्ति जारी गर्दै दिएको उक्त प्रष्टिकरण अधिकांश दर्शकहरुले पत्याएका छैनन् । उनीहरुले टिकट बिक्री खुल्नुअघि नै सोल्ड आउटको अप्सन देखिएको तथा टिकट खरिद गर्नै नमिलेको भन्दै एनपिएलको फाइनल खेलको टिकट बिक्रीमा इसेवाले गरेको घोटालाबारे छानविन गर्न माग गरेका छन् ।

अर्कोतर्फ इसेवाकै कर्मचारीले इसेवामा रहेको सुरक्षा कमजोरीका कारण एनपिएलको फाइनल खेलमा ‘एआई बट’को प्रयोग गरेर टिकट काटिएको तथ्यको खुलासा गरेपछि क्रिकेटप्रेमीहरु थप आक्रोशित बनेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK