Skip to content
LAXMI SUNRISE BANK

बाइकको ट्यांकीमा लुकाएर पैसाको ‘तस्करी’, स्रोत नखुलेको साढे ४४ लाखसहित २ जना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । रौतहटमा स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित प्रहरीले एक भारतीय नागरिक र एक स्थानीय व्यवसायीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले मोटरसाइकलको ट्याङ्कीभित्र फल्स बटम बनाएर लुकाई ल्याएको अवस्थामा ३० लाख र अनुसन्धानका क्रममा एक पसलबाट थप १४ लाख ६४ हजारभन्दा बढी रुपैयाँ बरामद गरेको हो ।

रौतहट प्रहरी नायब उपरीक्षक बसन्त गौतमका अनुसार कात्तिक १८ गते दिउँसो अन्दाजी ३ः३० बजेको समयमा ईशनाथ नगरपालिका-४ महुलिया कालि मन्दिरस्थित सडक खण्डमा भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र. ०५-००१ प ०५७८ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी मठिया महुलियाको टोलीले रोकेर चेकजाँच गरेको थियो । 

प्रहरी सहायक निरीक्षक बिन्दा महतोको नेतृत्वमा खटिएको टोलीले शङ्कास्पद अवस्थामा रहेको उक्त मोटरसाइकल जाँच गर्दा चालकको झोला र मोटरसाइकलको ट्याङ्कीमुनि लुकाएर राखेको स्रोत नखुलेको ३० लाख नेपाली रुपैयाँ र एक थान स्मार्ट मोबाइल फेला पारेको थियो ।

पक्राउ पर्ने मोटरसाइकल चालक भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला, फुलबरिया ग्राम वडा नं. १३ बस्ने ३० वर्षीय सनि कुमार जैसवाल रहेका छन् । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहट पठाइएको थियो ।

जिल्ला प्रहरी कार्यालयमा बेलुकी ६ः५ बजे निज जैसवालमाथि प्रारम्भिक सोधपुछ गर्दा उक्त रकम गौर नगरपालिका-१ स्थित न्यु तराई ट्रेडर्सका सञ्चालक ५१ वर्षीय शेख कमरुललाई दिनका लागि ल्याएको बयान दिएका थिए । जैसवालको बयानका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक जीवन कुमार मैनालीको टोलीले न्यु तराई ट्रेडर्समा पुगेर खानतलासी गरेको थियो । सो क्रममा पसलबाट थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद भएपछि प्रहरीले पसल सञ्चालक शेख कमरुललाई पनि नियन्त्रणमा लिएको छ ।

प्रहरीले दुवै स्थानबाट गरी जम्मा ४४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद गरेको र पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी थप कानुनी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK