काठमाडौं । विगत पाँच बर्षदेखि प्राइभेट कम्पनीको रुपमा इन्टरनेट सेवा प्रदान गर्दै आएको यस लुप नेटवर्क प्रा.लि.पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । कम्पनीले दुई बर्षभित्र सर्वसाधारणका लागि समेत प्राथमिक आईपीओ निष्कासन गर्ने गरी कम्तिमा एक अर्ब रुपियाँ लगानी गर्ने योजना अघि बढाएको छ । कम्पनीले यस्तो लगानी पाँच बर्षभित्र गरिसक्ने छ । कम्पनीले आक्रामक बजार विस्तारको रणनीतिका आउँदो पाँच बर्षभित्र नम्बर वान आईएसपी (इन्टरनेट सेवा प्रदायक) बन्ने लक्ष्य लिएको छ ।
अहिलेको ग्राहक आधारलाई पनि गुणात्मक रुपमा वृद्धि गरी पाँच बर्षभित्र एकदेखि डेढ लाख ग्राहक आधार पुर्याउने लक्ष्य कम्पनी रहेको छ । अहिले लुप नेटवर्कको फाइबरनेट सर्भिस काठमाडौं सहित नवलपरासी, धनुषा लगायतका स्थानमा विस्तार भएको छ । यी जिल्लामा लुप नेटवर्कको ठूलो उपस्थिति छ भने पूर्वमा विस्तार हुने क्रममा छ । प्रदेश ५ को बर्दघाटदेखि भुमई हुँदै परासी र आसपासका क्षेत्र, भैरहवा, प्रदेश २ को ढल्केबर, जनकरपुर, जलेश्वरमा लुप नेटवर्कको राम्रो उपस्थिति रहेको छ । पूर्वमा विराटनगर, दमक, उर्लाबारी लगायतका क्षेत्रमा पनि सेवा विस्तार भइरहेको छ ।
शहरभन्दा ग्रामिण क्षेत्रमा बढि सेवा दिइरहेकोले अब शहर र ग्रामिण क्षेत्र दुवैमा प्रतिस्पर्धी ढंगले सेवा विस्तार गरिनेछ । इन्टरनेट सेवासँगै नेट टिभीसमेत उपलब्ध गराउँदै आएको लुप नेटवर्कले आगामी दिनमा आफ्नै टेलिभिजन सेवाको आधार तयार गर्ने कुरामा पनि गृहकार्य गरिरहेको छ । त्यो नहुँदासम्म नेट टिभीसँगको साझेदारीमा कम्पनीले टेलिभिजन सेवा दिनेछ । अझै पनि फिक्स ब्रोडब्याण्ड इन्टरनेट सेवाको पहुँच झण्डै ८०-८५ प्रतिशत विस्तार हुन बाँकी रहेकाले बजार विस्तार गरी नम्बर १ हुन लुप नेटवर्कलाई समस्या पर्ने देखिन्न ।
शहरी क्षेत्रमा ग्राहक तान्न केही प्रतिस्पर्धा भएपनि राम्रो सेवा प्रतिस्पर्धी मूल्यमा दिने हो भने बजार विस्तारमा समस्या नहुने देखिन्छ । नयाँ ढंगले अघि बढ्ने क्रममा लुप नेटवर्कले नयाँ प्रविधिको प्रयोग गर्ने तयारी पनि गरेको छ । कम्पनीले हुवावे, जेटीई र नोकियामध्ये कुनै एक प्रविधिको डिभाइस प्रयोग गर्नेछ । अहिलेको प्रतिस्पर्धी समयमा उच्च गुणस्तरको प्रविधिमार्फत अघि बढ्न लागेको कम्पनीले जनााएको छ ।