काठमाडौं । बैंकिङ कसूरको मुद्दामा फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । सो मुद्दामा अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ घर भई काठमाडौंको टोखा नगरपालिका–५ बसुन्धरा बस्ने ३५ वर्षीया अप्सरा खातुनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाडौंको चुन्नीखेलबाट बुधबार पक्राउ गरेको हो ।
उनलाई चेक अनादार मुद्दामा उच्च अदालत पाटनले सात दिन कैद र ७३ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । खातुनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी सन् २०१८-१०-१२ मा नबिल बैंक लिमिटेडको चेक काटी सो कसुर गरेकी थिइन् । पक्राउ परेकी खातुनलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेस गरेको ब्युरोले जनाएको छ ।