- अर्थ सरोकार सम्बददाता
काठमाडौं । २८ सय निजी उद्यमी व्यवसायीलाई कालोसूचीमा राखिएकोमा नेपाल उद्योग वाणिज्य महासंघले आपत्ति जनाएको छ । व्यवसायीहरुले अर्थमन्त्री विष्णु पौडेलसँग भेट गर्दै २८ सय निजी उद्यमी व्यवसायीलाई कालोसूचीमा राखिएकोमा आपत्ति जनाएका हुन् ।
सो भेटका क्रममा व्यवसायीहरुले कोरोनाकाबीच पनि बैंकहरुले व्यवसायीहरुलाई धरपकड गर्ने, ब्याज किस्ताको ताकेता गर्ने र म्याद सकिएको भन्दै कालोसूचीमा नाम चढाउने र सम्पती लिलामी गर्नेसम्मको घटना देखिएकाले यस्तो समस्या समाधानका लागि पहल गरिदिन अर्थमन्त्रीसँग माग गरेका छन् ।
व्यवसायीहरुले अर्थमन्त्री पौडेलसँग उद्यमी–व्यवसायीले बुझाउनुपर्ने कर विवरणको म्याद र बैंकको साँवा–ब्याज भुक्तानी गर्ने समय बढाइदिनसमेत आग्रह गरेका छन् । कोभिडका कारण गत आर्थिक वर्षको अन्तिममा साढे तीन महिना लकडाउन र चालू आवमा एक महिना निषेधाज्ञा हुँदा कम्पनीहरूले लेखापरीक्षण समयमै गर्न नसकेको यथार्थ बताउँदै विवरण बुझाउने म्याद तीन महिना थप गरिदिन अर्थमन्त्री पौडेलसँग आग्रह गरेका हुन् ।