×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लामो समयपछि बैतडीमा वर्षा, बालीनाली सप्रिने भन्दै किसान खुशी भए

PRIME CA
GLOBAL IME BANK

लामो समयपछि बैतडीमा वर्षा, बालीनाली सप्रिने भन्दै किसान खुशी भए

२० पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

बैतडी । लगातारको खडेरीले बालीनाली सुक्दै गएको बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षा भएपछि यहाँका किसान खुशी भएका छन् । लामो समयको अन्तरालपछि पानी पर्दा बालीनाली सप्रिने भन्दै किसान खुशी भएका हुन् । मौसममा आएको परिवर्तनसँगै आइतबार दिउँसोदेखि पानी परिरहेको छ । लगातारको खडेरीले बालीनाली सुक्दै गएको बेला भएको हिउँदे वर्षाले केही राहत भएको दशरथचन्द नगरपालिका–१ का अगुवा किसान कृष्णदत्त भट्टले बताउनुभयो । “यो वर्षा हिउँदेबाली र हिउँदे फलफूलका बिरुवाका लागि निकै लाभदायक भएको छ”, उहाँले भन्नुभयो, “यो वर्ष लामो समयपछि पानी परेको छ । यो पानीले केही राहत भएको छ ।”
वर्षाले गहुँलगायतका हिउँदेबालीका लागि निकै फाइदा पुर्याएको पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले बताउनुभयो । “लामो समयको खडेरीपछि परेको पानीले केही मात्रामा भए पनि बालीनालीका लागि राम्रो भएको छ”, उहाँले भन्नुभयो, “यो वर्षापछि बेँसी र टार क्षेत्रमा गहुँसमेत छर्न सकिनेछ, गहुँबाली छर्न बाँकी रहेका क्षेत्रमा यो वर्षाले गहुँबाली छर्नका लागिसमेत सहयोग पुग्छ ।” बैतडीमा १७ हजार ५०० हेक्टर जमिनमा गहुँखेती गरिँदै आएको छ । आठ हजार हेक्टर क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा छ । सिँचाइ सुविधा नभएका अधिकांश ठाउँका किसानले यो वर्ष गहुँबाली छरेका छैनन् । यो वर्षापछि केही ठाउँमा गहुँ छर्ने तयारीसमेत भएको छ ।
यसैबीच हिउँदे वर्षाले चिसोसमेत बढाएको छ । चिसो बढेसँगै उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । चिसोबाट बच्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । चिसोको समयमा विभिन्न खालका स्वास्थ्य समस्या आउन सक्ने भएकाले चिसोबाट बच्नुपर्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “यो समयमा बालबालिकालाई निमोनिया, वृद्धवृद्धालाई श्वासप्रश्वाससम्बन्धी समस्या आउन सक्ने भएकाले अनावश्यकरूपमा घरबाहिर ननिस्कन, घरमै आगो बालेर बस्न र न्यानो लुगा लगाउन आग्रह गरेका छौँ ।” चिसोको समयमा कोरोना भाइरसको जोखिमसमेत बढी हुने भएकाले चिसोबाट बच्न आग्रह गरिएको छ । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: