काठमाडौं । एनआइसी एसिया बैंकको वार्षिक साधारणसभा चैत २० गते हुने भएको छ । बैंकको सभा आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ९ बजे सुरु हुने भएको हो । नेपाल राष्ट्र बैंकले लाभांश दिने बैंकको निर्णयलाई अस्वीकृत गरेपछि लाभांश प्रस्ताव बिनानै बैंकले साधारणसभा बोलाएको हो ।
राष्ट्र बैंकले क्यापिटल कन्जर्भेसन बफर पर्याप्त नदेखिएको भन्दै लाभांश प्रस्ताव अस्वीकृत गरेको थियो । यस्तै एनआइसीले सभामा प्रबन्धपत्र तथा नियमावलीमा समसामयिक संशोधन गर्ने प्रस्ताव पेस गर्नेछ भने संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने र स्वतन्त्र सञ्चालकमा विजया स्वारको नियुक्तिलाई अनुमोदन गर्ने विशेष प्रस्ताव लैजाने भएको छ ।
साथै संस्थापक र सर्वसाधारण सेयरधनीको समूहबाट ३/३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ । सभाका लागि बैंकले चैत ८ गतेदेखि बुक क्लोज गर्ने भएकाले चैत ७ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।