काठमाडौँ । पटक पटक ताकेता गर्दा पनि केही एयरलाइन्सले बक्यौता रकम नतिरेपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कारबाही गर्ने भएको छ । प्राधिकरणले हाल सञ्चालनमा नरहेका तर बाँकी बक्यौता नतिर्ने विभिन्न सात एयरलाइन्सलाई कारबाहीको तयारी गरेको हो । ती एयरलाइन्सलाई सात दिनभित्र बक्यौता रकम बुझाउन प्राधिकरणले आज सार्वजनिक सूचना निकालेर ताकेता गरेको छ ।
बक्यौता रकम नबुझाउने एयरलाइन्सलाई कानूनी दायरामा ल्याइने प्राधिकरणले जनाएको छ । प्राधिकरणका महानिर्देशक इञ्जिनीयर प्रदीप अधिकारीले सात दिनभित्र एयरलाइन्सले बक्यौता रकम नबुझाए कार्बाही गरिने बताउनुभयो । उहाँका अनुसार बक्यौता बुझाउने सात दिने समय सकिएपछि बक्यौता रकम नबुझाउने सम्बन्धित एयरलाइन्सका सञ्चालकलाई विदेश भ्रमण रोक्नेदेखि बैंक खाता रोक्का गरिनेछ । महानिर्देशक अधिकारीले भन्नुभयो, “यो सूचनापछि तुरुतै प्रवेशाज्ञा रोक्का हुन्छ । विदेश भ्रमण र नेपाल भरका बैंक खाता रोक्का गरिनेछ ।”
बक्यौता नतिर्ने एयरलाइन्स कम्पनीमा नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउन्टेन एयर, कस्मिक एयर, स्काइलाइन एयरवेज र एयर काष्ठमण्डप रहेका छन् । यीमध्ये नेकोन एयरको रु चार करोड ७२ लाख २५ हजार ३४३, शिवानी एयरले रु ५५ लाख ५१ हजार ५३, गोरखा एयरको रु २० लाख ३५ हजार २९ रहेको छ । कस्मिक एयरले रु तीन करोड ४७ लाख ५८ हजार ७०, स्काइलाइन एयरवेजले रु सात लाख ८० हजार ४०० एयर काष्ठमण्डपले रु सात लाख ३८ हजार ४४७ र माउण्टेन एयरले रु छ लाख १० हजार ८३४, बक्यौता बुझाउन बाँकी छ ।
प्राधिकरणका अनुसार ताकेतापछि कर्णाली एयरले बक्यौता तिरेको छ । बक्यौता नतिर्ने अन्य एयरलाइन्सलाई कारबाही गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणको बक्यौता नतिरेमा सरकारी बाँकी सरह असुल उपर गर्ने कानुनअनुसार सञ्चालकको जायजेथाबाट असुल उपर हुन सक्ने प्रावधान रहेको छ । विमानस्थल सेवा शुल्क नियमावलीअनुसार ती सञ्चालक तथा कम्पनीले भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बन्धित कुनै पनि प्रकारको सेवा लिन नपाउने जनाइएको छ । -रासस