काठमाडौं । मूल्यवृद्धिले गर्दा धरैजसो आयोजना प्रभावित भएको छ । निर्माण सामग्रीको मूल्य बढेकै कारण योजना प्रभावित भएको हो । निर्माण व्यवसायीले सरकारसमक्ष मूल्य समायोजनको माग राख्दै आएका छन् । तर अहिलेसम्म पनि सो माग सम्बोधन हुन सकेको छैन । माग सम्बोधन नभएकै कारण महासंघले ‘कन्स्ट्रक्सन होलिडे’ मनाउने घोषणा गरेको थियो ।
महासंघले पेट्रोलियम पदार्थ, छड, पाता, आइरन ब्लेड, बिटुमिन, सिमेन्ट, ग्याविन तार र नदीजन्य एवं खानीजन्य गिट्टी, बालुवा, ढुङ्गा, इट्टालगायतका सामग्रीमा भएको मूल्यवृद्धि नघटेसम्म ‘कन्स्ट्रक्सन होलिडे’ मनाउने भएको छ । हाल देशभर ८ हजार आयोजना सञ्चालनमा रहेका छन् भने २७ सय आयोजना म्याद थप भएका छन् ।
उक्त आयोजना ५ खर्ब रुपैयाँ लगानी रहेको छ । अहिले निर्माण कार्य गर्ने समय भएको तर काम हुन नसकेको महासंघको भनाइ छ । महासंघका अनुसार मूल्यवृद्धिका कारण ५ खर्ब रुपैयाँका आयोजनाको लागत ६० प्रतिशतसम्म वृद्धि हुनेछ ।
नेपाल सरकारले विकास खर्च गर्न नसकेको कारण बजारमा तरलता अभाव भएको महासंघको भनाई छ । त्यस्तै अर्को तर्फ भने मूल्यवृद्धिका कारण अधिकांश आयोजना अलपत्र परेकाले यसतर्फ सरकारले बेवास्ता गर्न नहुने भनाई महासंघको छ ।