काठमाडौं । रिभर फल्स पावरको आइपीओमा आवेदन दिने आइतबार अन्तिम दिन रहेको छ । कम्पनीको ७ लाख कित्ता आईपीओमा ओवेदन दिने वैशाख ११ गते आइतबार अन्तिम दिन रहेको हो । उक्त आईपीओमा लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ । यसले चैत २७ गतेबाट आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि ७ लाख कित्ताआइपीओ बिक्री खुला गरेको हो ।
लगानीकर्ताले यस आइपीओमा प्रभु क्यापिटल कमलादी काठमाडौं, रिभर फल्स पावर कमलादी काठमाडौं र यसको अयोजना कार्यालय संखुवासभा तथा धर्मदेवी नगरपालिकाको कार्यालय संखुवासभाबाट आवेदन दिन सक्नेछन् । त्यस्तै प्राइम कमर्सियल बैंक, प्रभु बैंक र ग्लोबल आइएमई बैंकको खाँदबारी शाखाबाट अवेदन दिन सकिने कम्पनीले जनाएको छ । साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
स्थानीयले प्रतिकित्ता १०० रुपैयाँ दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने भएका छन् । आयोजना प्रभावितहरुलाई निष्कासन गरिएको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी निष्कासन गरिने कम्पनीले जानकारी गराएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले रिभर फल्सको आइपीओलाई ‘कियर एनपी डबल बी माइनस आइएस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।