काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी बर्षको बजेट प्रस्ट रुपमा आएकाले कार्यान्वयनमा आशंका नगर्न आग्रह गरेका छन् । राष्ट्रियसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले बजेटमा उल्लेख कार्यक्रम स्रोत साधन परिचालनको विधि प्रस्ट भएको बताएका छन् । कृषि उत्पादन, बजारीकरण तथा प्रशोधनमा श्रम गर्नका लागि युवाहरुलाई परिचालन गरेर रोजगारी सिर्जना गर्ने सरकारको योजना रहेको पनि उनले बताएका छन् ।
उनले सरकारसँंग कृषि कार्यक्रम, योगदानमा आधारित किसान पेन्सन जस्ता कार्यक्रमले किसानको सम्मान गर्ने, किसानको मनोबललाई उठाउने उद्देश्यका साथ आएको बताए । संघीयतालाई कार्यान्वयन र बलियो बनाउनका लागि वित्तीय हस्तान्तरणलाई प्रभावकारी बनाइने अर्थमन्त्री शर्माले बताए । उनले मुलुकको विकासका लागि राष्ट्रिय गौरवका आयोजनाहरुलाई बजेट अभाव हुन नदिने जिकिर गरे । राष्ट्रियसभाको अर्को बैठक बिहीबार बोलाइएको छ ।