काठमाडौं । सरकारले हालसम्म नौ खर्ब ८४ अर्ब २९ करोड ३२ लाख बराबर मात्र खर्च गर्न सफल भएको छ । जुन कूल खर्च ६०.२८ प्रतिशत बराबर हो । हालसम्म प्रशासनिक खर्चको मात्रा बढी देखिन्छ । यस आर्थिक वर्षमा सरकारले १६ खर्ब ३२ अर्ब खर्च गर्ने लक्ष्य राखेको छ । चालु खर्च सात खर्ब ७२ अर्ब ४२ करोड ६२ लाख बराबर भएको छ भने पूँजीगत खर्च एक खर्ब २९ अर्ब ३८ करोड ४७ लाख बराबर भएको छ । त्यस्तै वित्तीय व्यवसथातर्फ ८२ अर्ब ४८ करोड २३ लाख बराबरको खर्च भएको छ । सरकारले एक खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख बराबरको वित्तीय व्यवस्थातर्फ खर्च हुने गरी बजेट विनियोजन गरेको थियो ।
यस्तै सरकारले कूल लक्ष्यको ७७.०७ प्रतिशत बराबर राजस्व सङ्कलन गरेको छ । कोषका अनुसार जेठ २० गतेसम्म सरकारको ढुकुटीमा नौ खर्ब ६६ अर्ब ८६ करोड ४६ लाख बराबर रकम जम्मा भएको छ । त्यसमा राजस्वमात्रै नौ खर्ब नौ अर्ब ८९ करोड १८ लाख बराबर सङ्कलन भएको छ । कर राजस्वतर्फ आठ खर्ब ४२ अर्ब ५४ करोड ३७ लाख बराबर सङ्कलन भएको छ भने गैरकरतर्फ ६७ अर्ब ३४ करोड ८१ लाख बराबर सङ्कलन भएको छ । चालु आवको अन्त्यसम्म सरकारले राजस्वतर्फ कर, गैरकर, अनुदान र ऋण सहयोग गरी कूल १२ खर्ब ४० अर्ब ५२ करोड तीन लाख बराबरको रकम सङ्कलन गर्ने लक्ष्य राखेको छ । कूल लक्ष्यमध्ये हालसम्म ७७।९४ प्रतिशत बराबरको प्रगति भएको छ ।