तनहुँ । तनहुँको दक्षिणी भेगमा अवस्थित घिरिङ गाउँपालिकामा दुई ठूला आयोजना निर्माणको काम शुरु भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा एक हप्ताको अवधिमा दुई ठूला आयोजनाको काम शुरु भएको हो । घिरिङ –१ वैडीदेखि देवघाट जोड्ने शालिग्राम कोरिडोर र घिरिङ गाउँपालिका–४ देखि नवलपुरको डेडगाउँ जोड्ने मानपुर–डेडगाउँ–बुलिङटार सडक निर्माणको काम शुरु भएपछि स्थानीय बसिन्दा खुशी भएका छन् । घिरिङ–१ पुट्टारका स्थानीयवासी विष्णुभक्त सिग्देलले प्रदेश सरकारमार्फत महत्वपूर्ण दुई ठूला आयोजना शुरु भएसँगै यस क्षेत्रका बासिन्दालाई खुशी बनाएको जानकारी दिनुभयो । विकट गाउँपालिकाका रुपमा अवस्थित यहाँ प्रदेश सरकारले विशेष प्राथमिकता दिएर योजना सञ्चालन गरेको उहाँले बताउनुभयो । “यी दुवै सडक घिरिङको समृद्धिको संवाहक हो, सडक निर्माण सम्पन्न भएसँगै यस क्षेत्रबाट उत्पादित कृषि सामग्री ढुवानी गर्नका लागि पनि सहयोग पुग्छ”, उहाँले भन्नुभयो ।
घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले दुवै मार्ग घिरिङको समृद्धिको प्रवेशद्वार भएको बताउनुभयो । “पहाड र तराई जोड्ने महत्वपूर्ण मार्गका रुपमा रहेको मानपुर डेडगाउँ सडक कालोपत्र भएपछि विभिन्न जिल्लाका हजाराँै जनता लाभान्वित हुन्छन्”, उहाँले भन्नुभयो, “देवघाट जोड्ने शालिग्राम करिडोरले पनि यहाँका स्थानीय बासिन्दालाई फाइदा पुग्छ ।”
देवघाट र मुक्तिनाथलाई जोड्ने उद्देश्यमार्फत शालिग्राम करिडोरको काम रु २५ करोड आठ लाख ७३ हजार ५१३ को लागतमा शुरु भएको छ । विसं २०७६ फागुन ११ गते सम्झौता भएको उक्त करिडोरको काम विसं २०७९ फागुन ११ गतेसम्म सम्पन्न गर्ने म्याद रहेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिनुभयो ।
ती कामको ठेक्का धुलिखेलस्थित खड्का कृष्ण पिके जेभीले पाएको छ । उक्त कम्पनीले करिडोरमा कटिङ, कल्भर्ट नर्माण, कजवे, ग्याबिङलगायतका काम गर्नेछ । करिडोरको रु ३८ करोड ९६ लाख लागत इष्टमेट गरिएको थियो । यस्तै मानपुर डेडगाउँ सडकमा कालोपत्रका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत रु २२ करोड ८५ लाख ४१ हजार ७९३ को लागतमा ठेक्का लागेको छ । रु ३५ करोड १४ लाख ७४ हजार १०९ लागत अनुमान गरिए पनि हेटौँडास्थित सपना निर्माण सेवाले रु १२ करोड २९ लाख ३२ हजार ३१६ कम रकममा सडक कालापत्रको ठेक्का पाएको छ ।
सडक कालोपत्रको सम्झौता विसं २०७६ फागुन ७ गते भएको थियो । त्यसलगत्तै नेपालमा कोरोनाको महामारी शुरु भएको र बन्दाबन्दीका असरका कारण काम शुरु हुन सकेको थिएन । निर्माण कम्पनीले उक्त मार्गमा सडक चौडाइ बनाउने काम शुरु गरिसकेको निर्माण कम्पनीका सञ्चालक हरि ढकालले जानकारी दिनुभयो ।
घिरिङ –४ मानपुरबाट शुरु भएर डेढगाउँको सीमानासम्मको ११ किलोमिटर खण्डमा सडक कालोपत्र हुनेछ । विसं २०७८ फागुन ७ गतेसम्म सम्पन्न गर्ने म्याद रहेको सडकखण्डमा आधुनिक प्रविधिको अल्फास्ट कालोपत्र गरिनेछ । उक्त सडकको चौडाइ सात मिटर रहनेछ भने साढे पाँच मिटरको कालोपत्र र सडकमा एक मिटरको नाला निर्माण हुनेछ । कालोपत्रका लागि यस वर्ष रु चार करोड ५० लाख बजेट विनियोजन भएको छ ।
विसं २०५१ मा साधारण मार्ग खुलेको उक्त मार्ग कालोपत्र हुने भएपछि स्थानीयवासी खुशी छन् । स्थानीयवासी श्यामकुमार श्रेष्ठले यस मार्गलाई प्रदेश सरकारले गौरवको योजनाका रुपमा सूचीकृत गरेर कालोपत्रको काम शुरु गरेपछि यस भेगका जनता हर्षित भएको जानकारी दिनुभयो । “यो मार्ग हुँदै अहिले नवलपुर पुग्न सकिन्छ, तर धुलोको एकदमै समस्या छ, कालोपत्र भएपछि स्थानीयवासीलाई निकै सहज हुन्छ”, उहाँले भन्नुभयो, “विगतमा नेताहरुले यस बाटोलाई भोट बैंकका रुपमा मात्रै प्रयोग गरे, अहिले आएर बल्ल सपना साकार हुने क्रममा छ ।”
दुई वडा जोड्न पक्की पुल निर्माण हुने
शुक्लागण्डकी नगरपालिका–२ गाछेपानी र शुक्लागण्डकी नगरपालिका–९ को घारीलाई जोड्ने गरी पक्की पुल निर्माण हुने भएको छ । गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाको पहलमा सेती नदीमाथि पक्की पुल निर्माण हुन लागेको हो । शुक्लागण्डकी र स्याङ्जा जिल्लाका सेतीपारीका बासिन्दाको सहज आवतजावत र कृषि उत्पादनको व्यवसायीकरणलाई सहयोग पु¥याउन पुल निर्माण गर्न लागिएको प्रदेशसभा सदस्य कोइरालाले जानकारी दिनुभयो ।
“यस ठाउँमा पक्की पुलको अति आवश्यकता थियो, सोहीबमोजिम नै गण्डकी प्रदेश सरकारले पक्की पुल निर्माणको लागि प्राथमिकता दिएको छ”, उहाँले भन्नुभयो । कोइरालाले प्राविधिकबाट पुल निर्माणका लागि प्रारम्भिक अध्ययन भइसकेको र अब छिट्टै विस्तृत सर्वेक्षण प्रतिवेदन (डिपीआर) तयार हुने जानकारी दिनुभयो ।
यहाँ मोटरेबल पुल नहुँदा दुलेगौँडाको पुल्चोक हुँदै घारी जानुपर्ने बाध्यता छ । पुल निर्माणपछि वारिपारी गर्न दूरीसमेत छोटिनेछ । स्थानीयवासीको भेलाले पुल निर्माणका लागि शरण सापकोटाको अध्यक्षतामा १९ सदस्यीय उपभोक्ता समितिसमेत गठन गरेको छ । समितिको उपाध्यक्षमा सन्तु ढकाल, सचिवमा अस्मिता खनाल, कोषाध्यक्षमा नवराज तिवारी र सहसचिवमा सुमन श्रेष्ठ चयन हुनुभएको छ । समितिको सदस्यमा विशाल केसी, अनिषकुमार ढकाल, हरिलाल रिमाल, उदयराज गुरूङ, मुक्ति सापकोटा, सुरेन्द्र तामाङ, रमेश भुजेल, टेकनारायण कोइराला, राजु श्रेष्ठ, अप्सरा भण्डारी, शर्मिला विश्वकर्मा, विनोद वाग्ले र बुद्धिमाया गुरूङ रहनुभएको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्