काठमाडौँ । पावरका भरमा कुनैबेला खानेले देशको अस्मिता नै पनि बेचेर खाएथे हाम्रो देशमा । कसैले देशको सिमा बेचेर खाए, कसैले बालुवाटारको जग्गा बेचेर खाए, कतिले देशका नदीनाला बेचेर खाए, कतिले देशका खानी बेचेर खाए । खाए, खाए, जे भेटिन्छ, जसरी खान मिल्छ, त्यसरी खाए । पद र पैसाले सब थोक किनेर खान्छु भन्ने अहमता बोकेर सभ्याता नै खान पल्केकाहरुले टुकुचा पनि बर्षौंसम्म बेचेरै खाए ।
बगिरहेको टुकुचामा महल ठड्याए, फिल्म हल बनाए, व्यापारिक कम्प्लेक्स बनाए, बैंकलाई भाडामा लगाए, र यसैगरी बर्षौंसम्म टुकुचा खोलालाई पातालझैं बनाएर आफुहरु महलमा रमाईरहे । त्यहि टुकुचा मासेर ठड्याईएका भवनलाई भाडामा लगाएर कमाईरहे । तर हराएको टुकुचा खोज्ने आँट बालेन्द्र शाहले देखाएपछि अन्तत: टुकुचा भेटिएको छ । जय नेपाल हलमा डोजर चलाएर खोजीहेर्दा काठमाडौँको टुकुचा खोलो भेटिएको हो । र टुकुचासँगै देशको खोजिरहेको एउटा खास नेता अर्थात नेतृत्वको बालेन्द्र स्वरुप पनि भेटिएको छ ।
बालेन्द्रलाई सूचना आयो, टुकुचा बेचेर खानेहरुले काठमाडौँमा महल बनाएका छन् । र टुकुचा जय नेपाल हल मुनि अझै पनि बगिरहेको छ । भुस्तिग्रे भवनलाई आफ्नो छातीमा ठड्याएर रोहिरहेछ टुकुचा । र अनाधिकृत संरचना हटाईरहेका बालेन्द्रको डोजर पर्खाईमा टुकुचा । बालेन्द्रले टुकुचा खोलै माथि अनाधिकृत भवन ठड्याईरहेको सूचना पाएपछि त्यहाँ डोजर पठाए । र सूचना अनुसार नै डोजर चल्यो जय नेपाल हलको आँगनमा । नभन्दै भेटियो बर्षौंदेखि हराईरहेको टुकुचा । भेटियो काठमाडौँमा बग्ने गरेको तर बीचैमा हराएको टुकुचा । अनि टुकुचामात्र भेटिएको छैन, बरु भेटिदैछन्, टुकुचा बेचेर खानेहरु पनि ।
बालेन्द्र शाह नेतृत्वको काठमाडौ महानगरपालिकाको टोलीले जय नेपाल हलको कम्पाउन्डभित्रै टुकुचा खोला खोज्न उत्खनन गरेको छ । विशेष खोज र अनुसन्धानपछि महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको हो । नारायणहिटी दरबार क्षेत्रभित्र टुकुचा बर्षौंदेखि देखिने गरी बगिरहदा त्यहाँभन्दा बाहिर टुकुचा खोला हराएको थियो । बर्षौंदेखि स्थानीयहरुले खोला अतिक्रमण गरेर संरचनाहरु निर्माण भएको भन्दै उत्खननको मागसमेत गर्दै आएका थिए । तर पैसाको पावरमा उनीहरुका आवाज बन्द गरिए । तर महानगरको मेयरमा बालेन्द्र शाह आएपछि टुकुचा खोज्ने अभियान सुरु भएको थियो । महानगरले १२ साउनमा सूचना जारी गरेर टुकुचाको अतिक्रमण हटाउन निर्देशन दिएको थियो । ३५ दिने सूचनाको म्याद सकिएपछि महानगरले गायब भएको र अतिक्रमण भएको क्षेत्रमा उत्खनन तथा खोजी कार्य सुरु गरेको थियो । गर्छु भनेर लागेपछि नहुने के छ र ? आखिर टुकुचा भेटिएको छ । र अझै भेटिंदैछन् टुकुचा अस्तित्वका अनेक आयामहरु ।
बालेन्द्र शाहको नेतृत्वमा चलेको डोजरले टुकुचा भेट्टाएपछि अहिले स्थानीयहरु खुसी बनेका छन् । सँगै दुखी छन्, टुकुचामाथि भवन ठड्याएर मनपरी गर्न पल्किएका व्यापारीहरु । आफुले बर्षौंदेखि नियम मिचेर कमाई खाने भाँडो बनाएको संरचनामा डोजर चल्ने भएपछि व्यापारीहरु त्रसित छन् । जनताको मनमनमा बसेका बालेन्द्रको न उनीहरु विरोध गर्न सक्छन्, न समर्थन गर्ने हैसियत राख्छन् । उनीहरु त रोहि कराई गरिरहेका छन् र भनिरहेका छन्, अलिकति समय देउ, सल्लाह गर । तर प्रकृतिको दोहन रति पनि सह्य छैन र हुँदैन । आमाको छातीमाथि महल ठड्याउनेहरुलाई देशले माफी गर्न सक्दैन । र सकेनन् र सक्दैनन् बालेन्द्र शाहले पनि ।
किनकि उनी कसैको झोला बोकेर, करोडौं बुझाई टिकट पाएर नेता भएका होइनन्, बरु राष्ट्रको झण्डा ओढेर स्वतन्त्रबाट निर्वाचित भएका जनप्रतिनिधि हुन् ।
बालेन्द्रको डोजर अभियान जारी छ । उनको सभ्यता खोज्ने क्रम जारी छ । नदी बेचेर महल ठड्याउनेहरुविरुद्धको अभियान जारी छ । बाटो मिचेर व्यापार गर्न पल्किएकाहरुका विरुद्ध अभियान जारी छ । नक्साविपरित भवन ठड्याउनेहरुविरुद्ध बालेन्द्रको अभियान जारी छ । र जारी छ काठमाडौँलाई सुन्दर बनाउने महा अभियान, जहाँ न कसैको डर छ, न कसैको प्रलोभनको अर्थ छ । बालेन्द्रलाई छ त जनताको साथ, जनताको विश्वास, जनताको माया अनि जनताको असीम उत्साहले दिएको शक्ति । र त के बुढीआमा, के अधबैंशे काका, के सानी स्कुले नानी, के देशको माया गर्ने युवा, सबैले एक साथ, छाती फुलाएर, देश सम्झेर भनिरहेका छन्, जय मेयर बालेन्द्र ।
टुकुचा मिचेर थुप्रै महलहरु ठडिएका छन् । टुकुचा मिचेर बनाईएका भवनहरुमा मै हु भन्ने बैंकहरु छन् । अव त यस्तो लागिरहेछ जनतालाई, सभ्यता नै मिचेर बनाईएको भवनमा व्यापार गर्नेकहाँ के पैसा जम्मा गर्नु ? टुकुचा मिचेर बनाईएको भवनमा बसेका बीमा कम्पनीहरु देख्दा जनताले भन्न थालिसके, आफ्नै भवनको टुंगो नभएको कम्पनीले के गतिलो बीमा गर्ला र ? अनि यसरी देशै मारेर व्यापार गरेकाहरुले मरेपछि पैसा दिन्छन भनेर के कारोबार गर्नु उनीहरुसँग । मनै त हो, जनताको मन दुख्नु स्वाभाविक हो, ती गगनचुम्नी भवनहरु देखेर, किनकि खोला, नदी, खानीको अस्तित्वमाथि ठडिएका संरचनाहरुको इज्जत रहन्छ र जनताको मनमा । टुकुचामाथि बनेको फिल्म हलमा बसेर अव के फिल्म हेर्नु भनिरहेका छन्, नागरिक । समग्रमा बालेन्द्रले टुकुचा मात्र भेटेका छैनन्, बरु जनताको स्वाभिमान र भावनासँग खेलेर भईरहेका व्यापारलाई पनि अव तह लगाउने भएका छन् ।
सत्य आखिर सत्य हुन्छ, र जीत सत्यकै हुन्छ । टुकुचा सत्य थियो र त आज सत्यतामा टेकेर उदाएका बालेन्द्रले टुकुचाभित्रको सत्यता र सभ्यता खोज्दैछन् । र पाप आखिर पापै हुन्छ । फरक यति हो, बुढापाकाले पाप धुरीबाट कराउँछ भन्थे, यसपाली जय नेपालको आगनमुनिबाट करायो ।