काठमाडौं । बढ्दो बैंक ब्याजदरको विरुद्ध रुपन्देही व्यापार संघले आन्दोलन गर्ने भएको छ । राष्ट्र बैंकको गलत नीतिका कारण बैंकहरुले आफुखुसी ब्याज बढाएर व्यापार/व्यवसाय नै धरासायी बनाएको भन्दै संघले राष्ट्र बैंकका विरुद्ध आन्दोलनको घोषणा गरेको हो ।
बुधबार एक विज्ञप्ति जारी गर्दै संघले राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ का कारण व्यवसायीक क्षेत्र मर्कामा परेको जनाएको छ । बैंकहरुले आफुखुसी ब्याजदर वृद्धि गर्ने तर नियामक नेपाल राष्ट्र बैंकको भूमिका भने मौन भएको भन्दै संघले आन्दोलनको घोषणा गरेको हो ।
पछिल्लो केही समययता भएको अस्वभाविक ब्याज वृद्धिले व्यवसायीक क्षेत्र पलायन हुने अवस्थामा पुगेको संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले बताए । ‘नेपाल राष्ट्र बैंकको यो व्यापारी मार्ने नीति हो । यही क्रम चल्दै जाने हो भने व्यवसायबाट पलायन हुनुको विकल्प छैन’, उनले भने, ‘अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको व्यापार/व्यवसायलाई राज्यले सौतेलो व्यवहार गर्यो । यो त्यसैको प्रतिकार स्वरुप गरिएको आन्दोलन हो ।’
पहिलो चरणको दबाबका कार्यक्रमअन्तर्गत २०७९ कार्तिक ३ गते राष्ट्र बैंक, सिद्धार्थनगर शाखामार्फत राष्ट्र बैंकका गर्भनरलाई ज्ञापनपत्र बुझाउने र व्यापारिक प्रतिष्ठानहरुमा कालोपट्टी बानेर व्यवसाय गर्ने तय गरिएको छ । त्यसपछि राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरुमा धर्ना दिने छ । त्यतिन्जेलसम्म पनि मागको सुनुवाइ नभएमा थप एकल तथा संयुक्त आन्दोलनका कार्यक्रम तय गरिने भनिएको छ ।
विज्ञप्तिमा बैंक, वित्तीय संस्थाहरुबाट लिएका ऋणको ब्याज अस्वाभाविकरुपमा वृद्धि गरिएको र त्यसमा कसैको निगरानी नहुँदा व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको उल्लेख गरिएको छ ।