काठमाडौं । आसन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै भारतले नेपाललाई २ सय सवारी साधन उपहारस्वरुप प्रदान गरेको छ । एक कार्यक्रमकाबीच मंगलबार नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले सवारी साधान हस्तान्तरण गरेका हुन् ।
नेपालका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले सवारीसाधन ग्रहण गरेका हुन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय राजदुत श्रीवास्तवले निर्वाचनको सफलताको शुभकामना व्यक्त गरे । ‘भारत र नेपालबीचको सम्बन्ध सदियौदेखि प्रगाढ छ, दुवै देश एकअर्काको सुख र दुःखको सारथी समेत हुन्’, उनले भने, ‘चुनाव सफल र प्रभावकारी बनाउन उपहारस्वरुप २०० गाडी प्रदान गरिएको हो ।’ श्रीवास्तवका अनुसार २ सय सवारी साधनमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन् ।
भारत सरकारले नेपालमा हुने हरेक निर्वाचनमा सवारी साधन सहयोग गर्दै आएको भन्दै अहिलेसम्म २४ सय भन्दा बढी सवारी साधन सहयोग गरेको भारतीय राजदुत श्रीवास्तवले बताएका छन् । राजदुत श्रीवास्तवले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झण्डै २ हजार वटा र नेपाली सेना र निर्वाचन आयोगलाई ४ सय वटा गरी हालसम्म भारतले नेपाललाई निर्वाचनको समयमा २४ सय भन्दा बढी सवारीसाधन उपहार दिएको छ ।
त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले उपहारका लागि भारत सरकारलाई धन्यवाद दिएका छन् । ‘निर्वाचनको मुखमा भारत सरकारले दिएको उपहारका लागि धन्यवाद, यो उपहारको सही र प्रभावकारी ढंगबाट प्रयोग हुनेछ’, शर्माले भने, ‘भारत र नेपाल छिमेकी मात्र होइनन्, अफ्ठ्यारोका सारथी पनि हुन् ।’ त्यस्तै शर्माले नेपाल र भारतबीचको सामाजिक, व्यापारिक र सांस्कृतिक सम्बन्धलाई आगामी दिनमा अझै प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् ।