काठमाडौं । एनआईसी एशिया बैंकले आगामी चार वर्षका लागि सिईओका रुपमा पुनः रोशन कुमार न्यौपानेलाई दोहोराएको छ । बैंकको संचालक समितिको ५७३औँ बैठकले न्यौपानेलाई सिईओका रुपमा पुनः नियुक्त गरेको हो ।
पछिल्लो चार वर्षे कार्यकालमा न्यौपानेको काम र बैंकप्रतिको लगनलाई सम्मान गर्दै दोस्रो कार्याकालका लागि न्यौपानेलाई नै नियुक्त गर्ने बोर्डको निष्कर्ष रहेको छ । न्यौपानेलाई कार्तिक १५ गतेदेखि लागू हुनेगरी आगामी चार वर्षका लागि सिईओका रुपमा नियुक्त गरिएको हो ।
नेपाली बैंकिङ क्षेत्रमा ‘स्ट्राटिजी मेकर’का रुपमा परिचित न्यौपानेले सन् २००८ बाट एनआईसी एशिया बैंकको सेवामा हात हालेका थिए । त्यसबेला न्यौपाने तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा आन्तरिक लेखा परिक्षण विभागको इन्चार्जका रुपमा जिम्मेवारी सम्हालेका थिए । सिईओको पहिलो कार्यकाल सफल रुपमा सम्पन्न गरेका न्यौपाने पुनः एनआईसी एशियाकै सिईओका रुपमा नियुक्त भएका हुन् ।
न्यौपानेकै नेतृत्वमा रहँदा आर्थिक वर्ष २०७९÷८० को प्रथम त्रैमाससम्ममा खुद नाफा, ग्राहक संख्या, स्व-पुँजीमा प्रतिफल, प्रतिसेयर आम्दानी, शाखा कार्यालयहरु, एटिएम, विस्तारित काउन्टर लगायतका सूचकमा एनआईसी एशिया बैंक नेपाली बैंकिङ क्षेत्रकै अब्बल बैंकका रुपमा स्थापित भएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफामार्फत १ अर्ब ७५ करोड आर्जन गर्दै वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी खुद नाफा आर्जन गर्ने बैंक बनेको छ ।
चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मा बैंकले कर्जा व्यवसायतर्फ कुल कर्जा रकम २७३.१० अर्ब र निक्षेपतर्फ कुल निक्षेप संकलन ३०८.१८ अर्ब पु¥याउन सफल भएको छ ।