काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीहरुले आईपिओमा १० प्रतिशत आरक्षण पाउने भएका छन् । धितोपत्र बोर्डले बिहीबारबाट लागू गरेको धितोपत्र निष्काशन तथा बाँडफाँड (छैटौँ संशोधन) निर्देशिका-२०७९ मा यस्तो व्यवस्था गरिएको हो ।
अवदेखि संगठित संस्थाहरुले प्रराम्भिक सार्वजनिक निष्काशन (आईपिओ) गर्दा निष्काशित सेयरको १० प्रतिशत सेयर सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याउनु पर्नेछ ।
यसरी छुट्याइएको सेयर निष्काशन गर्दा निष्काशन तथा बिक्री प्रबन्धकले सर्वसाधारणको लागि निष्काशन गर्नु अगावै १५ दिनको अवधि तोकि आह्वानपत्र प्रकाशित गर्नुपर्नेछ । सेयरमा आवेदन दिँदा बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमति प्राप्त आस्वा सदस्य बैंक वा वित्तीय संस्थामा रहेको विप्रेषण (रेमिट्यान्स) बचत खाता मार्फत मात्र भुक्तानी गर्नुपर्नेछ ।
निष्काशनमा आवेदन गर्न रेमिट्यान्स बचत खातामा पछिल्लो छ महिनामा कम्तीमा ५० हजार नेपाली रुपैयाँ सम्बन्धित व्यक्तिले आफू रोजगार रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ । बाडँफाँट भए पश्चात मात्रै सर्वसाधारणको लागि आईपिओ जारी गर्नुपर्नेछ ।