काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जफत भएका १५१ वटा मोबाइल सेट लिलामी बिक्रीमा राखेको छ । यात्रु जाँचपासका क्रममा अवैध रुपमा ल्याइएका एक सय ५१ वटा फोनहरु विमानस्थल भन्सारले लिलामी बिक्रीमा राखेको हो ।
जफत भएका मोबाइलका धनी समयमा भन्सार शुल्क तिर्न नआएपछि लिलामी बिक्रीमा राखिएको विमानस्थल भन्सारको मुद्धा तथा लिलामी शाखाले जनाएको छ ।
‘भन्सार नियमावली २०६४ को नियम ३५ को उपनियम २ मा भएको व्यवस्थाअनुसार शिलबन्दीको माध्यमद्धारा लिलामी बिक्री गर्नुपर्ने भएकाले इच्छुक संस्थाद्धारा यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र गोप्य शिलबन्दी दरभाउपत्र आह्वान गरिएको छ ।’ –सूचनामा उल्लेख गरिएको छ ।
लिलामी बिक्रीका लागि राखिएका १ सय ५१ मोबाइलको न्यूनतम मूल्य ९३ लाख ५४ हजार रुपैयाँ तोकिएको छ । लिलामी बिक्रीमा राखिएका मोबाइलहरु भन्सार कार्यालयमा गई हेर्न सकिनेछ ।