काठमाडौं । वि.सं.२०८० सालको आज पहिलो दिन अर्थात बैशाख १ गते नयाँ वर्षको अवसरमा नेपाल तथा विदेशमा रहेको नेपालीहरु एकआसपमा शुभकामना आदाप्रदान गरी नयाँ वर्ष मनाईरहेका छन् ।
यसो त बैशाख १ गते अर्थात नयाँ वर्षको दिन देशभर सार्वजनिक बिदा दिने चलन छ । सोही अवसरमा शुक्रबार पनि देशभर सार्वजनिक बिदा दिइएको छ । योसँगै नेपालीहरु सामाजिक सञ्जाललगायतका विभिन्न माध्यमबाट शुभकामना आदानप्रदान गरी नयाँ वर्ष हर्षोल्लाहसका साथ मनाईरहेका छन् ।
नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे लगायतले शुभकामना सन्देश दिँदै सबै नेपालीको उन्नती प्रगतिको कामना गरेका छन् । नयाँ वर्षको दिन बिहानै स्नान गर्ने, घर, कोठा/आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास रहँदै आएको छ ।