×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाका कारण बेरोजगार बढे, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तीन हजार बेरोजगार सूचीकृत

PRIME CA
GLOBAL IME BANK

कोरोनाका कारण बेरोजगार बढे, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तीन हजार बेरोजगार सूचीकृत

१४ कार्तिक २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

दमौली । कोभिड-१९ का कारणले गर्दा बेरोजगार हुनेको संख्या बढ्दै गइरहेको छ । जसले गर्दा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तनहुँका विभिन्न पालिकामा करिब तीन हजार बेरोजगार सूचीकृत भएका छन् । व्यास र शुक्लागण्डकी नगरपालिका तथा म्याग्दे, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा दुई हजार ९३५ बेरोजगार प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूचीकृत भएका हुन् ।
सरकारले गत साउन ८ देखि भदौ ७ गतेसम्म आफू स्थायी बसोबास रहेको स्थानीय तहका वडामा गएर १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो । रोजगारीको हकसम्बन्धी ऐन, २०७५ र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ को दफा १८ बमोजिम स्थानीय तहबाट न्यूनतम एक सय दिनको रोजगारी कार्यक्रम सञ्चालन गरिनेछ ।
सोअनुसार शुक्लागण्डकीमा ५८८ बेरोजगार सूचीकृत भएको नगरपालिकाका रोजगार संयोजक प्रतिभा जिसीले बताए । कार्यक्रमका लागि उक्त नगरपालिकालाई सरकारले ५१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि योजना छनोट गरी कार्यपालिकामा पेश गरिने र कार्यपालिकाले पारित गरेपछि तत्कालै काम शुरु गर्ने तयारी गरिएको छ । “तिहारपछि काम शुरु गराउने योजना छ,” उनले भने ।
म्याग्देमा ४४४ बेरोजगार सूचीकृत भएका छन् । रोजगार संयोजक पविन्द्रकुमार शाहीले न्यूनतम एक सय दिनको रोजगारीका लागि माघदेखि काम शुरु गर्ने तयारी गरिएको जानकारी दिए । कार्यक्रम सञ्चालनका लागि गाउँपालिकालाई ५१ लाख ९२ हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।
बन्दीपुरमा ३६० बेरोजगार सूचीकृत भएका छन् । रोजगार संयोजक शरणसिं गुरुङका अनुसार कार्यक्रमका लागि सङ्घीय सरकारका तर्फबाट ५१ लाख ७० हजार रुपैयाँ बजेट विनियोजन भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा नै ‘गाउँ प्रमुखसँग रोजगार कार्यक्रम’ पनि सञ्चालन गर्दैछ । बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यसहित गाउँपालिका आफैंले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
त्यसका लागि गाउँपालिकाले ३० लाख रुपैयाँ बजेट विनियोजन र ५० योजना छनोट गरेको छ । “प्रधानमन्त्री रोजगार र गाउँ प्रमुख रोजगार कार्यक्रम सँगसँगै अगाडि बढाउँदैछौं”, रोजगार संयोजक गुरुङले भने, “त्यसका लागि अहिले स्थलगत अध्ययन, लागत इष्टिमेटका काम भइरहेको छ ।” उक्त कार्यक्रम तिहारलगत्तै शुरु गर्ने योजना बनाइएको छ ।
आँबुखैरेनीमा ५४९ बेरोजगार सूचीकृत भएका छन् । रोजगार संयोजक कमला गैह्रेका अनुसार कार्यक्रम सञ्चालनका लागि योजना छनोट भइसकेको र तिहारलगत्तै काम शुरु गरिने छ । कार्यक्रमका लागि ५१ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । व्यासमा भने ९९४ बेरोजगार सूचीकृत भएका छन् । – रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: