Skip to content
LAXMI SUNRISE BANK

बक्यौता रकम नतिरेपछि सिम्रिक एयरको सबै उडानमा रोक

अर्थ सरोकार

काठमाडौं । सिम्रिक एयरको सम्पूर्ण उडान शुक्रबारदेखि नै बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायुसेवामा सबैभन्दा बढी बक्यौता रहेको सिम्रिक एयरलाइन्सको सम्पूर्ण उडानमा शुक्रबारदेखि नै रोक लगाउने भएको हो ।

सिम्रिक एयरले प्राधिरणलाई ५५ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ । सबैभन्दा बढी बक्यौता र बैंक तथा वित्तीय संस्थामा दायित्व हुनुका साथै उडान सुरक्षामा पनि पटकपटक लापरवाही गरेको पाइएपछि सिम्रिक एयरको उडानमा शुक्रबारदेखि नै रोक लगाउने निर्णय भएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिएका छन् ।

निरौलाका अनुसार सिम्रिक एयरलाई बक्यौता तिर्नका लागि पटक–पटक ताकेता गर्दा पनि बक्यौता तिर्न अटेर गरेको थियो । उडानमा लापरवाही र बक्यौता तिर्न बेवास्ता गरेपछि दीर्घकालीन सुरक्षालाई ध्यानमा राख्दै उडानमा रोक लगाएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, सौर्य एयर, समिट र यतीसहितका वायुसेवा कम्पनीहरुले पनि बक्यौता तिर्न बाँकी रहेको छ । आन्तरिक उडानका हेलिकप्टर तथा फिक्स विङ्ग्सका वायुसेवाले प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता नतिरेका कारण पनि प्राधिकरणले बाध्य भएर कडा निर्णय लिनुपरेको प्राधिकरणको भनाई छ ।

रामेश्वर थापा अध्यक्ष रहेको सिम्रिक एयरसँग हाल ४ वटा हेलिकप्टर छ । सुरक्षा प्रोटोकल नमानेको र तिर्नुपर्ने बक्यौता नतिरेको भन्दै प्राधिकरणले उक्त एयरको सबै उडानमा रोक लगाएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK