काठमाडौँ । नियामक नेपाल धितोपत्र बोर्डले ‘लकइन’मा रहेको सेयर खुल्नुभन्दा ३० दिनअघि नै लगानीकर्ता र सरोकारवालालाई जानकारी गराउन निर्देशन दिएको छ । बोर्डले सूचीकृत संस्था, नेप्से र सिडिएसलाई ‘लकइन’मा रहेको सेयरको ‘लकइन’ खुल्नुभन्दा ३० दिनअघि सूचना जारी गरी सबैलाई जानकारी दिन निर्देशन दिएको हो ।
बोर्डको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्देशन जारी गर्ने निर्णय गरेको थियो । धितोपत्र बजारमा हुने कारोबारलाई थप व्यवस्थित र पारदर्शी बनाउनका लागि यस्तो निर्देशन दिएको बोर्डले जनाएको छ ।
योसँगै अब सूचीकृत कम्पनीले ‘लकइन’ अवधि सकिनुभन्दा ३० दिनअघि नै ‘लकइन’ अवधि सकिनेबारे सूचना आफ्नो वेबसाइटमा राख्नुपर्नेछ ।
त्यस्तै, कम्पनीहरुले आफ्नो वेबसाइटमा सूचना सार्वजनिक गरेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएससीले पनि सो सम्बन्धी सूचना कम्पनीमा सूचना जारी भएको मितिदेखि लकइन अवधि समाप्त भएपछिको एक हप्तासम्म वेबसाइटमा अनिवार्य राख्नुपर्नेछ ।
योसँगै ‘लकइन’मा रहेको कुल सेयर संख्या, ‘लकइन’ अवधि समाप्त हुने मिति समेत स्पष्ट रुपमा खुल्ने गरी सार्वजनिक जानकारीको लागि सार्वजनिक सूचना प्रकाशन गर्नुपर्नेछ ।