काठमाडौँ । नेपाली सेयर बजार यतिबेला बुलको पूर्वार्द्धमा छ । अर्थात बजारमा मिनीबुलको सुरुवात भएको छ । बजारका कतिपय नकारात्मक कुरा पचाउनेगरी बजार अघि बढीरहेको स्थितिमा अव यो बजारको रफ्तार बुलिस हो भन्ने कुरामा कुनै शंका रहेन । तर नेपाली सेयर बजारमा हरेक पटकको बुल फरक खालको हुन्छ र यसपाली पनि फरक बुलको सुरुवात फरक तरिकाले भएको छ भन्ने बुझ्न गाह्रो छैन । कतिपय लगानीकर्ताले बजारको यो यात्रालाई बुल नै हो भनेर कन्फर्मसमेत गर्न सकेका छैनन् । तर बजार यस्तै हो, बियरिस सुरु भएकै छैन भन्दाभन्दै अघिल्लो पटकको बियरिस नै सकियो, बुल हो र ? भन्दा भन्दै मिनी बुल सकिएर रियल बुल आउँछ बजारमा ।
तर, लगानीकर्ताको मन न हो, ७ दिनसम्म बढेको बजार बुल हो कि होइन भनेर शंका गर्ने लगानीकर्ताहरुलाई बेलाबेलाको करेक्सनले झस्काईहाल्छ । साताको कारोबारको अन्तिम दिन बिहीबार पनि लगानीकर्ताहरु यसैगरी झस्किएका छन् । बजारले करेक्सन देखाईदिएपछि ओहो घट्ने बेलामा पनि राम्रै पो घट्यो त, बुलमा यस्तो हुन्छ र भन्ने पनि लाग्छ । बिहिबारको बजारमा पनि यस्तै भयो । तर सत्य यहि हो, बुल बजारमा करेक्सन अकाट्य छ । करेक्सन हुँदै नै बजार माथि जाने हो । अझ, जति करेक्सन भएर बजार माथि जान्छ, बजारमा बुलको समय त्यति नै लामो हुन्छ । अघिल्लो बुलमा थोरै करेक्सन भएर बजारमा जाँदा बुलको समय छोटो रह्यो । यसपालीको बुल अघिल्लोपटकको जस्तो नभई अलि लामो समय जाने प्रक्षेपण भईरहेका बेला बिहिबारको बजार कति स्वाभाविक, कति अस्वाभाविक भन्ने बहस सुरु भएको छ ।
बेलाबेलामा हुने करेक्सनले सेयर बजारका लगानीकर्ताहरु शशंकित हुनेगरे पनि जानकारहरु भने यसलाई सामान्य करेक्सन भन्छन् । प्राविधिक विश्लेषक बिमोद देव पन्त पनि बिहिबारको करेक्सन सामान्य नै रहेको बताउँछन् । त्यस्तै, प्राविधिक विश्लेषक अजय सिंह थापा पनि बिहिबारको करेक्सनलाई सामान्य नै हो भन्छन् । बजार बुलिस लयमा भएका कारण अरु केहि दिन बजारमा करेक्सन देखिए पनि बजारमा लगानीकर्ता आत्तिनु नपर्ने र बजार माथि नै जाने थापाको तर्क छ । र अवको बजारले २२०० तोडेको अवस्थामा बजारको अवको यात्रा ३००० हाराहारीमा रहेको उनको ठम्याई छ ।
बजारमा करेक्सन आउनुको पछाडी ट्रेडरहरुले गर्ने प्रफिट बुक मुख्य हो । सेयर बजारबाट सेयर किनेपछि बेच्नु पनि त पर्यो, नाफा बुक पनि त गर्नुपर्यो । सेयर नबेच्ने हो भने त नाफा खल्तीमा आएन नि, होइन र । ट्रेडरहरुले यसरी नाफा बुक गर्दा बुल बजारमा बेला बेलामा करेक्सन आउने नै भयो । त्यसमाथि बजारमा लामो समय बजार बढेको मात्र देखिएको थियो । बजार बढेको बढ्यै गर्नु, वा करेक्सन नभई बजार माथि जानुलाई पनि राम्रो मानिन्न, वा स्वाभाविक मानिन्न । त्यसैले पनि बजारमा करेक्सन देखिनु स्वाभाविक थियो र हो ।
बुल बजारमा आउने करेक्सन विभिन्न किसिमका हुन्छन् । एउटा स्वाभाविक करेक्सन, जस्तो बिहीबार आयो । अर्को अस्वाभाविक करेक्सन, जुन अस्वाभाविक रुपमा आएका समाचारहरुका कारण हुने गर्दछन् । अझ सहज भाषामा भन्दा अघिल्लोपटकको बुल बजार हेर्ने हो भने जव धितोपत्र बोर्डले ५१ वटा सूची निकाल्यो, वा नेपाल राष्ट्र बैंकले ४–१२ को क्यापको नीति बनाईदियो, त्यो बेला भएको बजार करेक्सन अस्वाभाविक थियो । यसले बजारलाई नै बुलको उत्तरार्द्धमा लगिदियो । र तीनै घटनाबाट गत बुलको अन्त्य भयो र बियरिस बजार सुरु भयो । तर गत बुलमा पनि थुप्रै त्यस्ता करेक्सनहरु देखिए, जसले बजारलाई माथि लैजाँदै थियो, लगानीकर्ताहरुले पैसा कमाई नै रहेका थिए ।
गत साताको बजारमा देखिएको इन्ट्रा डे करेक्सनबाट पनि केहि लगानीकर्ताहरु अव के हुने हो भन्ने स्थितिमा पुगे । तर लगानीकर्ताहरुले के बुझ्नु पर्छ भने सेयर बजारमा इन्ट्रा डे करेक्सन भएर बजार बढेरै बन्द भयो र बजारमा राम्रो भोलुम पनि छ भने भने त्यसले बजार झन् बलियो हुन्छ भन्ने बुझ्नुपर्छ । यो बुलको पूर्वार्द्धमा देखिएका यस्ता इन्ट्रा डे करेक्सनलाई कतिपयले लगानीकर्ताहरुको आत्मविश्वास कम भएको भनेर विश्लेषण गर्छन्, जुन सत्य होइन । बजारमा जवसम्म राम्रो भोलुम आईरहन्छ र बजार हरियो नै भईरहेको देखिन्छ, यस्तो बेलामा इन्ट्राडे करेक्सनलाई सकारात्मक रुपमा नै हेर्नुपर्छ ।
समग्रमा भन्नुपर्दा बिहिबारको बजार करेक्सन अत्यन्तै स्वाभाविक हो । थुप्रै दिन सेयर बढेपछि एक दिन घट्नु अन्यथा होइन र हुन सक्दैन । कतिपयले बिहीबारको बजार घटोत्तरीलाई देखाएर बजार बलियो छैन है भन्ने भ्रम देखाउन पनि खोजेका छन्, जुन सत्य होइन । बजारमा बियर लभरहरुको बजार घटाउने प्रयास चलिरहन्छ र बिहीबारको बजारलाई देखाएर चलाइएको बजार घट्ने हल्ला पनि त्यसैको एउटा रुप हो ।
फेरी यसो भन्दैमा बजारमा देखिने हरेक खालका करेक्सन स्वाभाविक नहुन सक्छन्, यस विषयमा भने ख्याल गर्नुहोला । बाँकी त तपाईंको पैसा, तपाईंको मर्जी । कुरा सबैको सुन्नुहोला, लगानी बुझेर आफैं गर्नुहोला । र हाम्रो यो विश्लेषण पनि कुनै खरिदविक्रीको सुझाव होइन, यसलाई तथ्यको स्वाभाविक विश्लेषणका रुपमा लिईदिनुहोला । (भिडियो)
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्