- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले देशका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालनदेखि देशभर अरु कहाँ-के भयो भन्नेसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
ललितपुरको जावालाखेलमा शुक्रबार खाद्य संस्थान र साल्ट ट्रेड्रिङ्ग कर्पोरेशन लिमिटेडले चार्डपर्वलाई लक्ष्यित गरी खुलेको सहुलियत पसलमा उपभोग्य खाद्य सामग्री खरिद गरेर ल्याउँदै उपभोक्ता ।
बर्दिया जिल्लाको मालपोत कार्यालय, गुलरियामा सेवा लिनेको भिड ।
जाजरकोट–डोल्पा सडकखण्ड भित्र पर्ने भेरी नगरपालिका–३ ठाँटीमा पहिरो गएर विगत एक हप्तादेखि सडक अवरुद्ध भएपछि सामग्री लिएर डोल्पातिर जाँदै गरेका यात्रुहरु ।
पाल्पा रामपुर नगरपालिका–९ स्थित जब्गादीमा रामपुर आर्यभन्ज्याङ्ग सडकखण्डअन्र्तगत पहिरोको सडक छेउमा रहेका घर पहिरोको जोखिममा ।
दाङको तुलसीपुर उपमहानगरपालिका– ४ स्थित बायखोलाका किसान मकै जोत्दै । मकै भित्र्याएपछि किसान अहिले खेत जोत्न व्यस्त छन् ।
छालाको जुत्ता निर्माण गर्दै जुम्लाको तातोपानी गाउँपालिका– ४ का नन्दे सार्की । सो व्यावसायिकबाट छोराछोरीको उच्च शिक्षादेखि घरखर्च चलेको बताउनुभयो ।
पोखराको पृथ्वीचोकमा रहेको चाइनापुलको किनारास्थित श्री भद्रकाली नर्सरीमा बिरुवाको हेरचाह गर्दै नर्सरीका सञ्चालक प्रेमबहादुर राना । एक दशक अगाडि डम्पिङ साइडका कारण दुर्गन्धित बनेको उक्त स्थानमा नर्सरी बनेसँगै मगमगाउने बनेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा नास्पातीबाट पेरी र जुस उत्पादन गर्दै कामदार । बजार अभावमा खेर गइरहेका नास्पातीलाई सदुपयोग गर्दै आम्दानीको स्रोत बढाउन जनसेवा कृषि सहकारी संस्थाले नास्पातीको जुस तथा पेरी उत्पादन शुरु गरेको हो ।
ललितपुरको एकान्तकुनास्थित यातायत कार्यालयमा शुक्रबार प्रदूषण मापन गर्नका लागि लाइनमा राखिएको सवारी साधन ।
जिल्ला प्रशासन कार्यालय डोटीमा नागरिकताका लागि पालो कुर्दै गरेका नागरिक । पछिल्लो सयम नागरिक लिनेको प्रशासन कार्यालयमा भीड लाग्ने गरेको छ ।