Skip to content
LAXMI SUNRISE BANK

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा लफडा, सञ्चालकमा उम्मेद्वारी दिएका आचार्यको सर्टिफिकेट छानविनको माग !

अर्थ सरोकार

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २० गते हुने संचालकको निर्वाचनमा उम्मेद्वारी दिएका मदन आचार्यको सर्टिफिकेट छानविनको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । आचार्यको सर्टिफिकेट नक्कली हुँदा पनि उनी लामो समय नियामक र बैंकलाई प्रभावमा पारेर लामो समय मेगा बैंकमा संचालक बनेको र पुन: निर्वाचनमा उठ्न लागेको भन्दै उनीविरुद्ध उजुरी परेको हो ।
यसो त मेगा बैंकमा सञ्चालक हुँदा नै आचार्यको शैक्षिक योग्यतामाथि प्रश्न उठेको थियो । संचालक बन्न स्नातक पास गरेको हुनुपर्ने भए पनि योग्यताको कोलम नै खाली राखेर उनी संचालक बनेका थिए । स्नातक उतिर्ण नभएका उनी त्यतिबेला मेगाको संचालक पदमा रहेको भन्दै चौतर्फी प्रश्न उठेपनि त्यति बेला सो केस सामसुम पारिएको थियो । त्यति बेला नै पनि मेगाका विभिन्न संचालकहरुको सर्टिफिकेट नक्कली भएको, र योग्यता नपुगेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमासमेत उजुरीसमेत परेको थियो । त्यसपछि अख्तियारले नियामक नेपाल राष्ट्र बैंकलाई छानविनका लागि पत्र पठाएको थियो भने राष्ट्र बैंकले पनि संचालकलाई सम्बोधन गरी बैंकमा स्पष्टिकरण पत्र पठाएको थियो । सो प्रकरण त्यतिकै सामसुम भएको थियो । उनको केस सामसुम हुनु र केहि बर्षपछि उनले भारतीय विश्वविद्यालयको सर्टिफिकेट पेश गर्नुलाई सेयरधनीले शंकाको दृष्टिले हेर्दै छानविनको माग गरेका हुन् ।
‘पढेरै सर्टिफिकेट पाएको हुँ’ : आचार्य
यता मदन आचार्यले भने आफ्नो सर्टिफिकेट सक्कली भएको र पढेरै पाएको दाबी गरेका छन् । भारतीय विश्वविद्यालयको सर्टिफिकेट पेश गरेका आचार्यले आफ्नो सर्टिफिकेटमा कुनै पनि समस्या नहुँदा पनि आफुलाई दु:ख दिने नियत राखेर आफुविरुद्ध उजुरी गरिएको दाबी गरेका छन् ।
‘सर्टिफिकेट नक्कली भएको सुनिन आएको छ’ भनेर उजुरी गरिएको छ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै आचार्यले भने, ‘सुनिन आएको भनेर पनि उजुरी गर्न मिल्छ र ?’
उनको भारतीय विश्वविद्यालयबाट प्राप्त भएको सर्टिफिकेट पेश भएकोले पनि धेरैले उनको सर्टिफिकेटमाथि शंका गरेका छन् । तर, उनी भने आफुले पढेरै भारतीय विश्वविद्यालयबाट प्रमाणपत्र प्राप्त गरेको दाबी गर्छन् । ‘भारतमा पढ्नै नमिल्ने हो र ? मैले पढेर नै प्रमाणपत्र प्राप्त गरेको हो ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै आचार्यले भने।
यद्यपी उनले प्राप्त गरेको सर्टिफिकेट नक्कली हो वा सक्कली भन्ने विषयको छानविन हुनुपर्ने र सो सर्टिफिकेटलाई नेपालका विश्वविद्यालयले समकक्षता दिएको छ कि छैन भन्ने नै नहेरी उनलाई योग्य देखाइनु षड्यन्त्र भएको बैंकका सेयरधनीहरुको आरोप छ ।
‘केहि समय अगाडी मेगामै संचालक हुँदा उनको सर्टिफिकेटबारे प्रश्न उठ्नु, यसको छानविन हुँदै गर्दाकै बखत उनले भारतीय विश्वविद्यालयको सर्टिफिकेट पेश गर्नु नै छानविनको अर्को विषय हुनुपर्ने हो ।’ मेगा बैंकमा आचार्यको उम्मेद्वारीबारे असन्तुष्ट रहेका समूहका सेयरधनीको दाबी छ -‘हामीले छानविन गर्नुपर्छ भनेका हौँ ।’
यता उनले करचुक्ताको प्रमाणपत्र लगायतका कागजातसमेत पेश नगरेको उजुरीमा उल्लेख छ । यद्यपी आचार्यले भने आफुले सम्पूर्ण कागजात राखेर नै चुनावमा उठेको दाबी गरेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK