काठमाडौँ । सिटिजन्स बैंकका डेपुटी सीइओ पारश कुमार काफ्लेको निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको हो । बैंकका एक उच्च अधिकारीले उनको निधनको खबर पुष्टी गरेका छन् ।
एक कार्यक्रमका लागि उनीसहित बैंकको सिनियर मेनेजमेन्ट टिम बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स अफ नेपाल (बिफिन) को कार्यक्रममा श्रीलंका गएको थियो । काफ्लेको जेठ २० गते, आइतबार श्रीलंकामै निधन भएको हो ।
‘बिफिनको कार्यक्रमका लागि सिटिजन्स बैंकको उच्च व्यवस्थापनसहितको टोली पनि श्रीलंका गएको थियो । विदेशबाट फर्किनुपूर्व नै उनको निधन भएको हो ।’ बैंकका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने, ‘बैंकले निकै राम्रो मान्छे गुमाएको छ । सिटिजन्स बैंक परिवार स्तब्ध छ ।’ उनका अनुसार बिफिनको कार्यक्रमका लागि बिफिनका सदस्य संस्थाका प्रतिनिधिहरु श्रीलंका गएका थिए । मुटु दुख्ने भएपछि काफ्लेलाई श्रीलंकाको अस्पताल पुर्याइएको थियो । अस्पताल लगेको केहि समयपछि स्वास्थ्य अवस्था सहज देखिएको भन्दै अस्पतालले उनलाई डिस्चार्ज गरिएको थियो । शनिबार विहानको नास्ता खाँदै गर्दा उनलाई पुन: गाह्रो भएपछि उनलाई पुन कोलोम्बोस्थित नवलोक अस्पताल लगिएको थियो ।
पछि, अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । अस्पतालले काफ्लेलाई आइतबार दिउँसो ४ बजे मृत घोषणा गरेको थियो ।
सुरुमा अस्पताल पुर्याइएका उनको सामान्य उपचार पनि गरिएको थियो । उनी केहि निकोसमेत भएका थिए । थप उपचार गरेर मात्र नेपाल फर्किनु भन्ने निर्देशन दिएर बैंकका केहि कर्मचारीलाई उतै छोडेर बैंकका सीइओ गणेश राज पोखरेल नेपाल फर्किएका थिए । तर श्रीलंकामै अर्को दिन काफ्लेको हृदयघातबाट निधन भयो ।
काफ्ले सिटिजन्स बैंकका राम्रा कर्मचारीमध्येका एक मानिन्थे । बिगत लामो समयदेखि सिटिजन्स बैंकमै कार्यरत उनी ट्रेड फाइनान्स, क्रेडिट अपरेशन, रिलेशनसिप म्यानेजमेन्ट, अपरेशनल रिस्क म्यानेजमेन्ट एन्ड कम्प्लाइन्स लगायतका विषयमा अब्बल थिए । पछिल्लो समय उनी बैंकको काममा औसत समयभन्दा बढी सक्रिय थिए । उनको पार्थिव शरीर नेपाल ल्याउने प्रक्रिया अगाडी बढाइएको छ ।
काठमाडौंको रातोपुल बस्ने काफ्लेका श्रीमती र दुई छोरा छन्।